कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालाबन्दीले पढाइ अवरुद्ध

भीमबहादुर सिंह

जाजरकोट — छेडागाड नगरपालिका ११, झाप्रास्थित बाल माविमा करिब १ महिनादेखि गरिएको तालाबन्दीका कारण पठनपाठन अवरुद्ध भएको छ ।

ताला नखुल्दा विद्यार्थी पठनपाठनबाट वञ्चित हुनुका साथै भर्ना अभियान र पाठ्यपुस्तक वितरणको काम प्रभावित भएको छ । अभिभावक र विद्यार्थीले विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिसमक्ष विभिन्न माग राख्दै गत वैशाख १६ देखि तालाबन्दी गरेका हुन् ।


तालाबन्दी खुलाउन सम्बन्धित सरोकारवालाले ध्यान नदिँदा समस्या बढेको छ । छेडागाड नगरपालिका, जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय एकाइलगायत निकाय मौन छन् । ताला खोल्ने विषयमा बिहीबार भएको वार्ता सहमतिमा पुग्नु भन्दा पनि झडपको स्थिति सिर्जना भएको थियो । समस्या समाधानको माग गर्दै विद्यार्थी, अभिभावक र शिक्षक शुक्रबार सदरमुकाम पुगेका छन् ।


तालाबन्दीले ६ सय विद्यार्थीको पढाइमा बाधा पुगेको १० कक्षाका छात्र ललित सिंह बताउँछन् । १ देखि १२ सम्म अध्ययन हुने विद्यालयमा लगाइएको ताला खोल्ने पहल कसैबाट नभएको उनको गुनासो छ ।


आव ०६९/७० देखिको आर्थिक अवस्था छानबिन तथा सामाजिक परीक्षण गर्नुपर्ने, विभिन्न बहानामा कक्षा ११ र १२ मा लिइने चर्को शुल्क खारेज गर्नुपर्ने, शिक्षा ऐन नियमावलीअनुसार योग्यता पुगेका शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गर्नुपर्ने, प्रयोगशाला भवन निर्माण गरेका मजदुरलाई तत्काल ज्याला दिनुपर्नेलगायत माग राख्दै तालाबन्दी गरिएको थियो । अभिभावक कालीबहादुर खत्रीले विद्यालयमा व्यापक आर्थिक अनियमितता भएकाले सत्यतथ्य छानबिनका लागि बारम्बार माग गर्दा पनि सुनुवाइ नभएकाले तालाबन्दी गरिएको बताए ।


अहिले विद्यालयमा ११ र १२ कक्षा शिक्षणका लागि नियुक्त अस्थायी शिक्षक पृथ्वीबहादुर सिंह प्रधानाध्यापक छन् । अभिभावकले योग्यता पुगेका स्थायी शिक्षकलाई प्रधानाध्यापकमा नियुक्त गर्न प्रमुख मुद्दा बनाएको खत्रीको भनाइ छ । विगत ६ वर्षदेखिको यो विवाद अझै समाधान भएको छैन । उनका अनुसार यसअघि पनि ३/४ पटक तालाबन्दी भइसकेको छ ।


शैक्षिक सत्र सुरु भएको १ महिना बित्न लाग्दा पनि विद्यार्थी भर्ना हुन पाएका छैनन् । तालाबन्दीले समस्याको समाधान नहुने प्रधानाध्यापक सिंहले बताए । राजनीतिक पूर्वाग्रहका कारण विद्यालयमा तालाबन्दी भएको प्रधानाध्यापक सिंहको भनाइ छ । शिक्षा विकास तथा समन्वय एकाइले नीतिगत रुपमा प्रधानाध्यापकको नियुक्तिका लागि सिफारिस गर्न विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको छ ।


समस्या समाधान गरी चाँडो पठनपाठन सञ्चालनको पहल गरिने प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । विवाद सिर्जना गरी विद्यालयलाई बन्धक बनाउन नपाइने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?