कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुपिन्डेमा विपत् न्यूनीकरण प्रदर्शनी

तालमा आइपर्ने जोखिमसँगै डढेलो र गाडी दुर्घटनाबारे पनि पर्यटन व्यवसायी र पर्यटकलाई प्रदर्शनीमार्फत जानकारी दिइयो
विप्लव महर्जन

सल्यान — सडकको पहुँच पुगेसँगै कुपिन्डे तालमा पर्यटक आगमन बढेको छ । मनोरञ्जनका लागि तालमा डुंगा सयर गराउन थालिएको छ । तर, डुंगा चलाउनेमा अधिकांश १२–१५ वर्षका किशोर छन् । तिनै डुंगाचालक र पर्यटकलाई सम्भावित जोखिमबाट बच्न कुपिन्डेतालमा जोखिम न्यूनीकरण नमुना प्रदर्शन गरिएको छ ।

कुपिन्डेमा विपत् न्यूनीकरण प्रदर्शनी

नेपाल प्रहरी, सशस्क्र र सेनाले संयुत्त रूपमा विपत तथा जोखिम न्यूनीकरण नमुना प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा डुंगा पल्टिएर अवलोकनकर्ता डुबे के गर्ने, उनीहरूलाई कसरी बचाउने भन्ने सिकाइएको छ ।


कुपिन्डेमा दैनिक करिब २ सयको हाराहारीमा पर्यटक आउने गर्छन् । तर, तालक्षेत्रमा सुरक्षाकर्मी छैनन् । ‘अचानक केही भइहालेमा सूचना दिँदादिँदै धेरैको ज्यान जानसक्ने सम्भावना छ,’ सशस्त्र प्रहरी बल प्रमुख विमल डाँगीले भने, ‘त्यही भएर तालक्षेत्रमै बसेर पर्यटकलाई सघाउने, घुमाउनेलाई यस्तो तालिम दिएका हौं ।’ तालमा आइपर्ने जोखिम मात्र होइन, डढेलो र गाडी दुर्घटनाबारे पनि पर्यटन व्यवसायी र पर्यटकलाई प्रदर्शनीमार्फत जानकारी दिइएको उनले बताए ।


कुपिन्डे तालमा शुक्रबार र शनिबार पर्यटक बढी आउने गर्छन् । उनीहरू डुंगा चढेर रमाउँछन् । ताल संरक्षण समिति अध्यक्ष चेतलाल कवरले सुरक्षाटोलीको प्रदर्शनीले पर्यटकसँगै रहने व्यवसायीलाई शिक्षा दिनुका साथै आफूहरूलाई पनि सचेत बनाएको बताए । ‘यस्तो चेतनामूलक काम निकै अनिवार्य थियो, तर कसैले गरेको थिएन,’ उनले भने, ‘ढिलै भए पनि ज्ञानवर्द्धक सीप सिकाइएको छ, यसले पर्यटक र पर्यटन व्यवसायीलाई पनि जोखिममुक्त गराउने विश्वास लिएका छौं ।’


विपत व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले तालमा अवलोकनकर्ता र डुंगा सयर गर्नेको संख्या बढेसँगै ‘वाटर रेस्क्यु प्रदर्शनी’ गरिएको बताए । ताल आसपासबाट फोन सम्पर्क नहुने भएकाले त्यहाँको सुरक्षाका लागि प्रहरी बिट राख्ने तयारी भएको पनि उनले जानकारी दिए । तालमा मनपरी रुपमा डुंगा सञ्चालन भइरहेकाप्रति पनि विपत् व्यवस्थापन समितिले चासो दिएको छ । जोखिम न्यूनीकरणका लागि डुंगा व्यवसायलाई पनि व्यवस्थित गरिने न्यौपानेको भनाइ छ ।


विपत न्यूनीकरणसम्बन्धी प्रदर्शनी हेरेपछि कुपिन्डेताल पुगेका पर्यटकले पनि आफूहरूलाई सचेत गराएको प्रतिक्रिया दिए । सुर्खेतबाट आएका दिनेश भुजेलले डुंगा चढेर मनोरञ्जन मात्र लिनुभन्दा कसरी सुरक्षित तव्रले आनन्द लिने भन्ने महत्त्वपूर्ण रहने बताए । ‘सुरक्षाकर्मीले गरेको नमुना प्रदर्शनीले हाम्रो आँखा खोलिदिएको छ,’ उनले भने, ‘रमाइलो गर्दैगर्दा आफ्नो सुरक्षाको पनि ख्याल गर्नुपर्ने रहेछ ।’


वनगाड कुपिन्डे नगरपालिका क्षेत्रमा पर्ने तालमा पछिल्लो समय विपत जोखिमसँगै वातावरण पनि फोहोर हुँदै गएको छ । नगर प्रमुख गोविन्दकुमार पुन ताल संरक्षण र पर्यटकको सुरक्षामा विशेष योजना बनाइने बताउँछन् ।


विपत् व्यवस्थापन बैठक

तालमा जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकमा प्रजिअ, सुरक्षा निकायका साथै डिभिजन वन, जिल्ला स्वास्थ्य, जिल्ला शिक्षालगायत सहभागी थिए ।


बैठकले प्रकोपपीडित राहत मापदण्डअनुसार वैशाख २५ सम्म जिल्ला प्रशासन कार्यालयबाट राहत पाएका व्यक्तिबारे विपत व्यवस्थापन समितिमा पेस भएको खर्च अनुमोदन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?