कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यार्सा टिप्न विद्यालय बन्द

राजबहादुर शाही

मुगु — यार्सा सिजन सुरु भएपछि मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालय बन्द गरिएका छन् । अधिकांश विद्यार्थी यार्सा टिप्न पाटन गएपछि विद्यालय बन्द गरिएका हुन् । 

यार्सा टिप्न विद्यालय बन्द

गाउँपालिकाको एक मात्र माध्यमिक विद्यालय बुद्ध माविमा एक महिना बिदा गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका सबै विद्यार्थी यार्सा टिप्न गएपछि विद्यालय बन्द गरिएको हो । निमित्त प्रधानाध्यापक डिलेन्द्रबहादुर शाहीले जेठ १२ देखि असार ९ सम्म विद्यालय बन्द गरिएको जानकारी दिए ।


‘४ कक्षाभन्दा माथिल्लो तहका सबै विद्यार्थी पाटन गए,’ उनले भने, ‘साना कक्षाका विद्यार्थीमात्र आउने गरेपछि विद्यालय बन्द गर्ने निर्णय गरेका हौं ।’ उनका अनुसार बाहिरका शिक्षकसमेत घर गएका छन् । विद्यालयको भवन निर्माण भइरहेकाले आफूमात्र विद्यालय आउने गरेको उनले जानकारी दिए । विद्यालयमा ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय सञ्चालन गरेको तीन साता नपुग्दै विद्यालय बन्द गरिएको उनले सुनाए ।


स्थानीय कार्माछेवाङ लामाका अनुसार विद्यार्थीले पढाइभन्दा यार्सालाई महत्त्व दिएकाले विद्यालय बन्द गरिएका हुन् । उनका अनुसार गाउँपालिकाका अधिकांश विद्यार्थी अभिभावकसँगै पाटन पुगेका छन् । समुद्र सतहदेखि करिब ४५ सय मिटर उचाइका जिल्लाका विभिन्न पाटनमा यार्सा पाइन्छ । एक विद्यार्थीले यार्सा टिप्न गएबापत सिजनमा ४० देखि ५० हजार रुपैयाँ कमाएर ल्याउने गरेको उनले जानकारी दिए । गाउँपालिकाका माथिल्ला बस्ती मह, रिउस, सेरोक, डोल्फू, मुगु, किम्रीलगायत गाउँका ४ निमावि र १२ प्राथमिक विद्यालयको समेत पठनपाठन प्रभावित भएको छ ।


विद्यालयले यार्सा सिजनमा बिदा नै नदिए पनि विद्यार्थी नभएकाले पठनपाठन हुन नसकेको हो । अधिकांश विद्यालयमा १ देखि ३ सम्मका विद्यार्थी मात्र आउने गरेका छन् । साना कक्षाका विद्यार्थी मात्र आएपछि शिक्षकले पठनपाठन गर्न छाडेका छन् । गाउँपालिकामा एक महिना जाडो, करिब एक महिना चाडपर्व र एक महिना यार्सा सिजनको बिदा हुने गरेकाले कोर्ष पूरा नहुने समस्या रहेको लामाले जनाए ।


स्थानीयवासीले वर्षभरिको खर्चको जोहो यार्सा संकलनको रकमबाटै गर्ने भएकाले बालबालिकालाई पनि आफैसँग पाटन लैजाने गरेका हुन् । प्रौढ र वृद्धभन्दा बालबालिकाले धेरै यार्सा संकलन गर्ने भएकाले अभिभावकले उनीहरूको पढाइमा वास्ता गर्दैनन् । अन्न उत्पादन कम हुने भएकाले गाउँपालिकाका अधिकांश घरधुरी यार्साकै रकमले खर्च धान्न बाध्य छन् ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?