कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकटमा गणेश गुफा

एथलेटिक्स धावक हरि रोकायाले आफ्ना प्रशिक्षार्थी खटाएर मन्दिरसागै धर्मशाला बनाएका छन्
एलपी देवकोटा

जुम्ला — धार्मिक पर्यटनको धरोहर मानिएको गणेश गुफा संकटमा परेको छ । सदरमुकाम खलंगा नजिकैको गुफा भए पनि संरक्षण अभावमा संकटमा पर्दै गएको हो । गुफामा पूजा गरे मनोकामना पूरा हुने विश्वास छ ।

चन्दननाथ नगरपालिका १० का ७२ वर्षीय देविसिंह खत्रीले गुफाको संरक्षणका लागि खासै पहल हुन नसकेकोमा दुःख व्यक्त गरे । अहिलेसम्म मागेको वर र इच्छाएको मनोकामना पूरा भएको स्थानीय कमलादेवी खत्रीले सुनाइन् । उनले गुफामा रहेको धर्मशाला जीर्ण भएकोले दर्शनार्थीलाई बस्न समस्या भएको गुनासो गरिन् । उनका अनुसार घेरावार नहुँदा गुफा क्षेत्र सुरक्षित छैन ।


१८ वर्षदेखि गुफामै बसेका बाबा योगीराज त्यागीले गणेश भगवानको पूजा गर्नेको भीड बढ्दै गएको बताए । चन्दननाथ नगरपालिका २, भण्डारीवाडाका जयकृष्ण न्यौपानेले गणेश मन्दिर गुफा जिल्लाकै प्रमुख धार्मिक स्थल भएकाले संरक्षण जरुरी रहेको बताए । उनले सरकारी निकायले संरक्षणमा ध्यान नदिएको गुनासो गरे । उनका अनुसार ठाकुरज्यू हुँदै गणेश जीलाई बोहोरागाउँको जंगलमा ल्याइएको किंवदन्ती छ । प्रत्येक हरितालिका तिजको अघिल्लो दिन गुफामा रातभर पूजा गरिने उनको भनाइ छ ।


जिल्लाका सातै स्थानीय तहका साथै सुर्खेत, नेपालगन्ज, कालीकोट, हुम्ला, मुगु, डोल्पाबाट दर्शनका लागि भक्तजन पुग्ने गर्छन् । वर्षमा करिब हजार जनाले गुफाको अवलोकन र पूजा गर्ने गरेको पूजारीको भनाइ छ । मन्दिर वरिपरि घेराबार नहुँदा समस्या भएको स्थानीयले जनाएका छन् । मन्दिर वरिपरि छाडा पशुवस्तु छाड्दा फोहोर बढ्नुका साथै मन्दिरको सुरक्षा गर्न समस्या भएको छ ।


मन्दिरसँगै एथलेटिक्स धावक हरि रोकायाले आफ्ना प्रशिक्षार्थी खटाएर धर्मशाला बनाएका छन् । धावककै अगुवाइमा खानेपानी ट्यांकी र धारा निर्माण गरिएको छ । धर्मशाला निर्माण भएपछि प्रसाद बनाउन र खानेपानी उपभोग गर्न समस्या नभएको रोकायाले जनाए ।


उनका अनुसार गुफाको धार्मिक महत्त्व भएकाले आन्तरिक पर्यटक आउने गरेका छन् भने रमणीय दृश्य कैद गर्ने बाह्य पर्यटकको संख्या पनि बढिरहेको छ । गणेश गुफासम्म जाने पैदल मार्ग निर्माण गर्नसके जिल्लाकै प्रमुख धार्मिक पर्यटनको केन्द्र उनले बताए ।


चन्दननाथ नगरपालिकास्थित बोहोरागाउँको मध्य जंगलमा गणेश गुफा छ । गुफाभित्र ढुंगामा गणेश भगवानको मूर्तिको आकृति छ । गुफाको माथितिर गाईको कल्चौडाजस्ता ढुंगाबाट निरन्तर पानी बगिरहन्छ । गुफाको पत्थरमा हान्दा सुन्दर बाजा बजेजस्तो अनुभव हुन्छ । गुफाभित्र प्रवेश गर्दा कोल्टे भएर पस्नुपर्छ ।


अहिले गणेश भगवानको नयाँ मूर्ति राखेर पूजापाठ गर्ने गरिएको छ । गुराँस फुल्ने र हिमपात हुने क्षेत्र भएकाले पनि गुफा जाने पर्यटकको संख्या बढ्दै गएको स्थानीयको भनाइ छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?