कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट नजुट्दा खानेपानी आयोजना सुस्त

भीमबहादुर सिंह

जाजरकोट — सदरमुकाम खलंगामा खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले २ वर्षअघि निर्माण आरम्भ भएको खलंगा सहलगानी खानेपानी आयोजना अझै बनेको छैन । असार मसान्तसम्म म्याद रहेको आयोजनाको हालसम्म ४० प्रतिशत मात्र काम भएको छ ।

बजेट नजुट्दा खानेपानी आयोजना सुस्त

खलंगाका हजार घरपरिवारलाई दैनिक ८ लाख लिटर खानेपानी वितरण गर्न आयोजना निर्माण सुरु भएको थियो । खलंगामा पानी अभाव बढेपछि १८ किमि टाढाको पोखरा मुहान र ३ किमि टाढाको भेरी नदीबाट पानी ल्याउने गरी आयोजनाको डिजाइन निर्माण स्वीकृत भएको थियो । उपभोक्ताले व्यहोर्नुपर्ने बजेट जुट्न नसक्दा आयोजना लथालिंग भएको छ ।


३३ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि ८ करोड अभाव भएको उपभोक्ता समिति अध्यक्ष वसन्तप्रसाद शर्माले बताए । उनका अनुसार आयोजनाको १७ करोडको भेरी पम्पिङ कार्यक्रम अलपत्र परेको छ । डिजाइन स्वीकृत भएको ४/५ वर्ष बित्दासमेत बजेट अभावमा भेरी पम्पिङको टेन्डरलगायत प्रक्रिया सुरु नभएको शर्माले बताए । आयोजनाको पहिलो चरणअर्न्तगत ६ ट्यांकी, पोखरा–खलंगा पाइपलाइन, प्रशोधन केन्द्रलगायत रहेका उनको भनाइ छ ।


आयोजना निर्माणका लागि लुम्बिनी केशव शाह जेभीले १२ करोडमा टेन्डर सम्झौता गरेको छ । टेन्डर बमोजिमको काम असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ । ‘ठेक्का सम्झौता भएको २ वर्ष बित्न लाग्दा पनि काम सकिएको छैन,’ उनले भने, ‘यस्तै हो भने त आयोजनाबाट पानी कहिले वितरण गर्ने अन्योल थपिएको छ ।’ आयोजनाको पहिलो चरणको काममध्ये पोखरा–खलंगा १८ किमि पाइपलाइन, पानी प्रशोधन केन्द्र, ३ लाख लिटरको ट्यांकी निर्माणबाहेक अन्य काम अलपत्र परेका उनले बताए ।


ठेक्का सम्झौताको ५ ट्यांकी, वितरण लाइन, फिटिङ्स, घेराबार, ट्यांकी सुरक्षा भवनलगायत काम अलपत्र छन् । ५ लाख लिटर पानी जम्मा गर्ने ५ ट्यांकी निर्माणमा समस्या भएको उनले बताए । बजेट अभावका साथै जमिन पनि नपाउँदा काममा ढिला भएको शर्माले बताए । जिल्ला प्रशासन कार्यालय क्षेत्र, माथिथाप्ले र राममन्दिर क्षेत्रमा ट्यांकी निर्माणका लागि जमिन नपाइएको उनको भनाइ छ ।


कुल लागतको २५ प्रतिशत उपभोक्ताले र बाँकी सम्बन्धित निकायले व्यहोर्ने गरी आयोजनाको काम सुरु भएको थियो । उपभोक्ताले व्यहोर्ने २५ प्रतिशतमध्ये ३ प्रतिशत नगद जम्मा गर्नुपर्ने र २२ प्रतिशतको जनश्रमदान गर्नुपर्ने प्रावधान छ । यस हिसाबले आयोजना सम्पन्न गर्न उपभोक्ताको ३ करोड नगद र ५ करोड बराबरको जनश्रमदानको योगदान चाहिन्छ । शर्माका अनुसार उपभोक्ताले हालसम्म २२ लाख रुपैयाँ मात्र संकलन गरेका छन् ।


आयोजनामा उपभोक्ताका तर्फबाट काम नहुँदा समस्या भएको संघीय खानेपानी आयोजना कार्यालय सुर्खेतका प्रमुख पूर्णबहादुर ज्वारचनले बताए । आयोजनाको डिजाइनअनुसार बजेटको तालमेल नहुँदा समस्या भएको उनको भनाइ छ । ‘यसभन्दा पछि सम्झौता भएका आयोजना बनिसके तर खलंगाको लथालिंग छ,’ उनले भने ।


बजेट अभावमा आयोजना अलपत्र परेका बेला भेरी नगरपालिका र कर्णाली प्रदेश सरकारले विनियोजन गरेको सवा १ करोड रुपैयाँ भने फिर्ता गएको छ । चालु आवको अन्तिम २ महिना बाँकी हुँदा आएको रकम टेन्डर प्रक्रियाका लागि समय अभाव भएपछि फिर्ता गएको हो ।


प्रदेश सरकारको टेन्डर प्रक्रियाद्वारा चालु आवभित्र बजेट कार्यान्वयन गर्न निर्देशन आएपछि समय अभावमा काम हुन नसकेको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । ‘आयोजनाका लागि प्रदेशले अख्तियारी दिएको ८० लाखमा भेरी नगरले ३४ लाख म्याचिङ गर्ने योजना थियो,’ उनले भने, ‘तर यसको लागि करिब २ महिना टेन्डर प्रक्रियामै बित्ने भएकोले काम हुन सकेन ।’

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?