७० वर्षमा नागरिकता

कान्तिपुर संवाददाता

मुगु — सोरु गाउँपालिका ६ की जानसरा कार्कीले ७० वर्षको उमेरमा नागरिकता पाएकी छिन् । सोरुकोटमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा उनले ७० वर्षको उमेरमा नागरिकता पाएकी हुन् ।

नागरिकता अभावमा उनी सबै सरकारी सुविधाबाट वञ्चित थिइन् । उनी मात्र होइन, शिविरमा ६० वर्ष पूरा भएका दुई दर्जन बढी ज्येष्ठ नागरिकले बल्ल नागरिकता पाएका छन् ।

नागरिकता प्रमाणपत्र पाएपछि ज्येष्ठ नागरिकमा सामाजिक सुरक्षा भत्तालगायत अन्य सरकारी सुविधा पाउने आशा छ । घरबाट २ दिन हिँडेर जिल्ला प्रशासन कार्यालयमा पुग्न नसक्दा उनी नागरिकताबाट वञ्चित थिइन् । ‘एक त उमेर ढल्किएपछि नागरिकता पाएँ, त्यो पनि घर नजिकै,’ उनले भनिन्, ‘धेरै खुसी छु, अब सरकारबाट केही सुविधा पाउने आश पलाएको छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार ढकालले उनलाई नागरिकता उपलब्ध गराएका हुन् । भौगोलिक विकटताका कारण धेरै स्थानीय नागरिकतालगायत सरकारी सुविधाबाट वञ्चित रहेको भेटिएको उनको भनाइ छ । शिविरमा ३ सय ७१ जनालाई नागरिकता उपलव्ध गराइएको उनले जानकारी दिए ।

जिल्ला प्रशासनका अनुसार १ सय ३४ महिला र २ सय ३७ जना पुरुषले नागरिकता पाएका हुन् । नागरिकता बनाउन सदरमुकाम आउँदा सास्ती हुने र धेरै खर्च लाग्ने भएकाले अधिकांश बासिन्दा नागरिकताबाट वञ्चित थिए । सोरु गाउँपालिकाको ११ वटै वडाका बासिन्दालाई लक्षित गरी शिविरको आयोजना गरिएको थियो । सोरुकोटमा इलाका प्रशासन सेवा केन्द्र स्थापना गरिए पनि कर्मचारी अभावले दुई वर्षदेखि केन्द्रकामविहीन छ ।

तीनदिने शिविरमा अन्य सरकारी कार्यालले समेत सेवा प्रवाह गरेका थिए । करिब ४ सयको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ भने १६ जनाले जग्गा दर्ता गरेका छन् । २२ जनाको जग्गा नामसारी गरिएको र २ सय २७ जनाको मतदाता नामावली संकलन गरिएको कार्यालयले जनाएको छ । शिविरमा ३ हजार २ सय ३७ पशुको उपचारसमेत गरिएको थियो ।

शिविरबाट भिई, धैनकोट, कालै, नार्थपु, फोतु, जिमालगायत गाउँका बासिन्दा लाभान्वित भएको सहायक प्रजिअ ढकालले जनाए । शिविरको व्यवस्थापन सोरु गाउँपालिकाले गरेको हो । शिविरमार्फत विपन्न नागरिकले घरदैलोमै सरकारी सेवा पाएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । पहिलोपटक नागरिकता प्रमाणपत्र पाएका स्थानीयलाई सरकारी सेवा प्रवाहमा जोड्न गाउँपालिकाले पहल गर्ने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

मुहान सुके, १० लिटरका लागि घण्टौं पालो

जनप्रतिनिधि आएपछि समस्या समाधान हुने आश गरे पनि कतैबाट केही पहलै भएन
कान्तिपुर संवाददाता

बैतडी — गर्मीयाम सुरु भएसँगै जिल्लाका अधिकांश गाउँमा खानेपानी हाहाकार भएको छ । कतिपय ठाउँमा पानी भर्न घण्टौ लाइन बस्नुपर्ने बाध्यता छ । केहीले ५/६ किमि टाढाबाट जर्किनमा बोकेर समस्या टार्दै आएका छन् ।

बैतडीको मेलौली नगरपालिका ७ को काँडा बजारनजिकै रहेको धारोमा पानी भर्दै गरेका स्थानीय बासिन्दा । तस्बिर : तृप्ति/कान्तिपुर

दशरथचन्द नगरपालिका १ को मुस्याचौर र गुरुखोलामा पानीको चरम अभाव भएको २ साता भएको छ । ०४२/४३ तिर यहाँका बासिन्दाले डेढ किमि टाढा नरतोली खोलाको मुहानबाट ल्याएर गुरुखोला खानेपानी योजना बनाएका थिए । मुहान संरक्षण नहुँदा समस्या बढेको स्थानीय देवदत्त भट्टले बताए ।

पुरानो योजना, जनसंख्या वृद्धि र स्रोत सुक्दै गएकाले पानीको अभाव भएको उनको भनाइ छ । पानीको स्रोत घटेकाले १० लिटर भर्न घण्टौं कुनुपर्ने द्रोपती बडूले बताइन् । ३ सय बढी धरघुरीका लागि २ मात्र धारा रहेकाले पनि यस्तो समस्या खेप्नुपरेको उनको भनाइ छ । उनले भनिन्, ‘कपडा धुन त दिनभर धारामै बस्नुपर्ने अवस्था छ ।’ गाउँ नजिकै पानीका अन्य मुहान नभएकाले विकल्प नभएको वडाध्यक्ष भुवनराज भट्टले बताए ।

सदरमुकाम गोठलापानी, गढीलगायत बजारमा पनि सधैं खानेपानी अभाव हुन्छ । ग्वालेक घट्टीगाडमा रहेको मुहानबाट आउने पानी पर्याप्त नहुँदा सर्वसाधारणलाई टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता छ । व्यवस्थापन राम्रोसँग हुन नसकेकाले अभाव रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख प्रकाश रावलले बताए । महसुल पनि नउठ्ने भएकाले व्यवस्थापन गर्न नसकिएको उनको भनाइ छ । स्थानीय सरकारको जिम्मा भएकाले उनीहरूले नै ध्यान दिनपर्ने रावलको तर्क छ ।

मेलौली नगरपालिकामा पनि खानेपानीको समस्या उस्तै छ । काँडा बजार र आसपासका गाउँमा व्यापक समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ । अनिँदो बसेर पानीको जोहो गर्नुपर्ने अवस्था आएको स्थानीय सुना दमाईंले बताइन् । धाराबाट दैनिक २० लिटरजति मात्रै पाइने भएकाले गाइवस्तु तथा अन्य प्रयोजनका लागि पानीको खोज्नुपर्ने उनले बताइन् ।

प्रत्येक वर्ष सुक्खायाममा पानीकै अभाव झेल्नुपर्ने अवस्था आएको स्थानीय गंगासिंह नायक बताउँछन् । खानेपानी अभावमा प्रत्यके वर्ष भौंतारिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । काँडाबजारमा खानेपानी अभाव हुँदा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था रहेको होटेल व्यवसायी सीता चन्दले बताइन् ।

मेलौलीमा २०४० सालमा ग्वाल्लेकबाट ल्याएको खानेपानी योजना जीर्ण हुनुका साथै स्रोत घटेकाले हाहाकार भएको हो । स्थानीय सरकारले पनि खानेपानीको समस्या समाधान गर्न चासो नदेखाएको भन्दै सर्वसाधारण निराश छन् ।

जनप्रतिनिधि आएपछि समस्या समाधान हुने आश गरे पनि समाधानका लागि पहल नभएको स्थानीय केशवसिंह भाट बताउँछन् । नगर क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि सुर्नया नदीबाट लिफटिङ प्रणालीबाट खानेपानी ल्याउने तयारी भइरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताए । योजना ठूलो भएकाले केही समय भने लाग्ने उनको भनाइ छ ।

पाटन नगरपालिका ९, खोड्पे बजारमा पनि सधैं पानीको हाहाकार हुने गरेको छ । मुहानै सुकेकाले चाहिनेजति पानी नभएको स्थानीय व्यापारी चक्र कुवँर बताउँछन् । ०७० मा जिल्ला खानेपानी कार्यालय र युनिसेफको सहयोगमा १४ सय मिटर तल खोलाबाट लिफटिङ प्रविधिबाट पानी ल्याइए पनि विद्युत् अनियमित हुँदा अभाव बढेको उनले बताए ।

२ सय बढी घरधुरीले जहिल्यैपानी अभाव झेल्नुपरेकोउनको भनाइ छ । समस्या टार्न ५ किमि टाढाबाट बोक्ने गरेको बताउँदै उनले भने, ‘आफैं बोक्न सकिँदैन, गाडीमा बोकायो भने २ हजार बढी लिन्छन् । होटल व्यवसाय चलाउनै गाह्रो भएको छ ।’ धेरै दिन विद्युत् आपूर्ति नहुँदा नगरपालिकाले दमकलबाट पानी वितरण गर्नेउनले सुनाए ।

दशरथचन्द नगरपालिका २ को देहिमाण्डौ बजारमा पनि खानेपानीका लागि लाइनमा कुर्नुपर्ने अवस्था छ । २० किमि टाढा जंगलबाट ल्याइएको पानी गर्मी मौसममा कम हुने भएकाले दिनको ४० लिटरभन्दा बढी भर्न नपाइने स्थानीय हीरा बोहोराले बताइन् । उनले भनिन्, ‘त्यति पानी भर्न पनि लाइन बस्नुपर्छ ।’

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT