कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरस्कार कर काटिने भएपछि बहिष्कार

रुकुम पश्चिम — त्रिवेणी गाउँपालिकामा जेठ १० देखि १५ सम्म अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्‍यो । तर प्रतियोगिताको मुख्य खेलका विजेता टिम तथा खेलाडीले अझैसम्म पुरस्कार लिएका छैनन् ।

प्रतियोगिता समापनको दिन आयोजित पुरस्कार वितरण समारोहबाटै खेलाडी पुरस्कार नलिएर हिँडेका थिए । पुरस्कार थाप्नका लागि लहरै बसेका खेलाडी कार्यक्रम उद्घोषकले गरेको एउटा शव्दका कारण पुरस्कार बहिस्कार गरेर हिँडेका हुन् ।


गाउँपालिकाले पुरस्कार वितरण गर्दा २५ प्रतिशत करकट्टी गरिएको र त्यसबाट बचेको रकम मात्रै खेलाडीले पाउने बताएपछि खेलाडीले पुरस्कार बहिष्कार गरेका हुन् । अध्यक्ष कप भलिबलका विजेता, उपविजेता तथा सेमिफाइनल पुगेका ८ टिमले नै पुरस्कार लिएका छैनन् । सरकारले गर्ने व्यवहार राम्रो नभएपछि पुरस्कारै बहिष्कार गरेको खेलाडीको भनाइ छ ।


अध्यक्ष कपको मुख्य खेलका रूपमा रहेको महिला तथा पुरुष भलिबलको विजेतालाई २५, उपविजेतालाई १५, सेमीफाइनलसम्म पुगेका अरू २ टिमलाई १०/१० हजार पुरस्कार तोकिएको थियो । अध्यक्ष कपको भलिबलमा पुरुषतर्फ वडा ८ विजेता, वडा १० उपविजेता बन्दा वडा १ र ७ सेमिफाइलनसम्म पुगेका थिए । महिलातर्फ वडा ६ विजेता बन्दा वडा ७ उपविजेता बनेको थियो । वडा ९ र १० सेमिफाइलन पुगेका थिए । महिला तथा पुरुष भलिबलका यी आठवटै टिमलाई दिने भनेर तयार पारिएको पुरस्कार हालसम्म पनि गाउँपालिकामै थन्किएको छ ।


पुरुषतर्फको विजेता टोलीका क्याप्टेन डायमन्ड खडकाले पुरस्कार वितरणका बेला मात्रै कर काट्ने कुरा आएकाले पुरस्कार बहिष्कार गरेको बताए । सरकारी कार्यक्रम, सानो पुरस्कारमा पनि कर काटेपछि समस्या हुने देखिएकाले पुरस्कार नबुझेको उनको भनाइ छ । करकट्टी नगरेरै तोकेको पुरस्कार दिएपछि पुरस्कार बुझ्ने उनले बताए । खेलाडीले सरकारले गरेको कार्यक्रममा पनि दर्ता शुल्क लिएको भनेर गुनासो गरेका छन् । भलिबल खेलका लागि १५ सय रुपैयाँ दर्ता शुल्क लिइएको थियो ।


गाउँपालिकामा प्रस्ताव पेस गरेरै गाउँ खेलकुद विकास समितिले प्रतियोगिता गराएको थियो । समिति अध्यक्ष जनक विकले करकट्टीको विषयलाई खेलाडीले पुरस्कार नलिएको बताए । समस्या समाधानका लागि छलफल गरौंला भनेर अनुरोध गर्दा पनि खेलाडीले नमानेको विकको दाबी छ ।


पछिल्लो समय गाउँपालिकाले पुरस्कार नदिने भनेपछि त्यसका लागि छलफल नगरेको उनको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले खेलाडी र खेलकुद समितिसँग छलफल गरी समस्याको समाधान गर्ने प्रयास भइरहेको बताए ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?