कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बत्ती नहुँदा एफएम ठप्प

मुगु — सदरमुकाम गमगढीमा सञ्चालित विद्युत् सेवा अवरुद्ध भएपछि सर्वसाधारण अँध्यारोमा रात बिताउन बाध्य छन् । गमगाढ साना जलविद्युत् आयोजनाको क्यानल पाइपबाट बिहीबारदेखि पानी चुहिएपछि सेवा अवरुद्ध भएको हो ।

आयोजनाका अनुसार पाइपबाट पानी चुहिन थालेपछि आसपासको जमिन भासिन थालेको छ । पाइप मर्मत नहुँदासम्म विद्युत सेवा बन्द हुने आयोजनाले जनाएको छ । मर्मतका लागि करिब एक साता लाग्ने कर्मचारीहरूको भनाइ छ ।


सेवा अवरुद्ध भएपछि बैंक, व्यावसायिक प्रतिष्ठानलगायत सरकारी तथा अन्य कार्यालयका काम प्रभावित भएका छन् । गमगढी बजार क्षेत्र, कार्कीबाडा, भामबाडा, श्रीनगर, पिना, ताल्चालगायत बस्ती अन्धकार बनेका छन् । विद्युत् नहुँदा एक्सरे सेवा प्रभावित भएको जिल्ला अस्पतालले जनाएको छ ।


महँगो इन्धन खरिद गरी जेनेरेटर सञ्चालन गरी विभिन्न योजना सम्झौता, रकम भुक्तानी तथा प्रशासनिक काम गरिरहेको छायाँनाथरारा नगरपालिका प्रमुख हरिजंग शाही बताउँछन् । जेनेरेटरमार्फत नियमित सरकारी सेवा प्रवाह गर्न समस्या भइरहेको उनले बताए । यो आयोजना बेला(बेला बिग्रने गरेकाले सर्वसाधारणले सास्ती खेप्नु परेको हो । विद्युत् नहुँदा जिल्लामा सञ्चालित घरेलु उद्योग पनि बन्द भएका छन् ।


विद्यार्थीको पठनपाठनमा समस्या भएको नगर प्रमुख शाहीको भनाइ छ । ‘गमगाढ जलविद्युतको विकल्प खोज्ने गरी योजना निर्माण गरिरहेका छौं,’ उनले भने, ‘बारम्बार आयोजना बिग्रिरहने गरेकाले स्थानीयले भरपर्दो सेवा पाएका छैनन् ।’


मोबाइल चार्ज गर्न स्थानीय बासिन्दालाई समस्या भएको छ । महिनौंजसो विद्युत् अवरुद्ध हुन थालेपछि पटक(पटक टुकीको भर पर्नुपरेको स्थानीय बताउँछन् । गमगढी बजार क्षेत्रको रेडियो मुगु र रारा एफएमको प्रशारण पनि अवरुद्ध भएको छ ।


स्थानीय व्यवसायी नेताप्रसाद चौलागाईंले विद्युत् नहुँदा मोबाइल र इन्टरनेट सेवासमेत प्रभावित भएको जानकारी दिए । ४ सय किलोवाट क्षमताको यो आयोजनाले सदरमुकाम गमगढी र आसपासका गाउँमा विद्युत् सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?