कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुनासो हटाउन बैंकबाटै भत्ता 

कालीकोट — रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फर्त भुक्तानी दिन थालेको छ । ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र ५ वर्षमुनिका बाललबालिकाले मासिक पाउने रकम बैंक खातामार्फत भुक्तानी दिन थालेको हो । रास्कोट बैंकमार्फत सुरक्षा भत्ता दिने जिल्लाको पहिलो स्थानीय तह बनेको छ ।

सामाजिक सुरक्षा बापतको रकम लक्षित वर्गले नपाएको बिगतको गुनासो हटाउन बैंकिङ प्रणालीमा गएको नगर प्रमुख काशीचन्द्र बरालले बताए । ‘सामाजिक सुरक्षाको रकम जनताका हातमा पुर्‍याउन बैंक खाता अनिवार्य गरेका हौं,’ उनले भने, ‘यसबाट सबैले भत्ता पाउने र रकम दुरुपयोग पनि रोकिनेछ ।’


रकम खातामा आउने भएपछि स्थानीय पनि खुसी भएका छन् । एकल महिला पद्मा तिरुवाले अब रकम आएको छैन भनेर कसैले बदमासी गर्न नपाउने बताइन् । एकल महिलाको जिल्ला सञ्जालकी अध्यक्षसमेत रहेकी उनले भनिन्, ‘अब सबै स्थानीय तहमा बैंक खातामार्फत सामाजिक सुरक्षा दिइनुपर्छ, यसले भत्ताको नाममा हुने अनियमितता पूरै हट्नेछ ।’


रास्कोट नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३ हजार १ जना रहेको छ । अब ती सबैको ग्लोबल आइएमई बैंकमा बचत खाता हुनेछ । निमित्त प्रमुख प्रशासकीय अधिकृत जमानसिंह बमले ७० वर्षभन्दा माथिका ४ सय ३६, ६० वर्ष माथिका ७ सय १९, अपाङ्गता भएका २९ जना, एकल महिला २ सय १ र ५ वर्षमुनिका १ हजार ६ सय १६ बालबालिकाको रकम पहिलोपटक बैंकमा पठाइएको बताए ।


उनका अनुसार बैंकिङ प्रणालीमा गएपछि ४ महिनाको एकमुष्ट १ करोड ४६ लाख ४ सय रुपैयाँ बैंकमा पठाइसकिएको छ । विविध कारण खाता खोल्न नसकेका ब्यक्तिहरूको भने नगरपालिकाले सम्बन्धित वडा कार्यालयमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएको बमले बताए ।

प्रकाशित : असार १, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?