कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँखा उपचारमा स्वास्थ्य बिमा

रुकुम पश्चिम — आँखाका बिरामीले स्वास्थ्य बिमामार्फत उपचार लिन थालेका छन् । आँखा उपचार केन्द्र सल्लेले स्वास्थ्य बिमा गरेका बिरामीलाई बिमाबाटै भुक्तानी लिने गरी उपचार गर्ने गरेको छ ।

नेपाल स्वास्थ्य बिमा बोर्डले मुसीकोट नगरपालिका १, सल्लेमा रहेको आँखा उपचार केन्द्रलाई सेवा प्रदायक स्वास्थ्य संस्थाका रुपमा अनुमति दिएपछि स्वास्थ्य बिमितले आँखाको जाँच तथा उपचार गराए बापतको शुल्क तिर्नुपरेको छैन ।


आँखासम्बन्धी कुनै पनि समस्या भएको स्वास्थ्य बिमित आँखा उपचार केन्द्र सल्ले आएपछि केन्द्रले स्वास्थ्य बिमाबाट भुक्तानी लिने गरी बिरामीको उपचार हुने गरेको केन्द्रका सहायक इन्चार्ज पहलसिंह ओलीले बताए । उनका अनुसार स्वास्थ्य बिमा बोर्डबीच सम्झौता भएपछि बिरामीले यस्तो सुविधा पाएका हुन् । ‘आँखा उपचार केन्द्रले स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी लिन्छ,’ उनले भने, ‘स्वास्थ्य बिमा गरेका कसैले पनि यहाँको सेवा लिँदा पैसा तिर्नु पर्दैन ।’


केन्द्रबाट हालसम्म ५ सय ८० स्वास्थ्य बिमितले सेवा लिइसकेका छन् । नाम दर्ता, चेकजाँच, उपचार तथा चस्माबापत झन्डै ४ लाख बराबरको उपचार भइसकेको आँखा उपचार केन्द्रको भनाइ छ । केन्द्रले चस्मामा भने सीमा तोकेको छ । स्वास्थ्य बिमा गरेका बिरामीले १ हजार रुपैयाँसम्मको चस्मा लिएपछि शुल्क तिर्नुपर्दैन ।


सोभन्दा महँगो चस्मा लिन खोजेपछि भने थप पैसा आफैंले तिर्नुपर्छ । जिल्लामा उपचार हुन नसक्ने बिरामीलाई रिफर गर्ने व्यवस्थासमेत गरिएको सहायक इन्चार्ज ओलीले बताए । दाङको तुलसीपुर, काठमाडौंको तिलगंगालगायत अस्पतालमा रिफर गर्ने गरिएको छ । त्यहाँको उपचार पनि स्वास्थ्य बिमाको कार्डबाटै गरिने ओलीले बताए ।


२ हजार ५ सय तिरेर स्वास्थ्य बिमा गरेपछि स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरेका अस्पतालमा ५० हजारसम्मको उपचार निःशुल्क हुन्छ । जिल्लामा २०७४ चैत १ देखि स्वास्थ्य बिमा भर्न सुरु गरिएको थियो । हालसम्म १७ हजार २ सय ९६ महिला र १५ हजार ७ सय ५४ पुरुषले स्वास्थ्य बिमा गरेका केन्द्रको भनाइ छ ।


स्वास्थ्य बिमाका लागि जिल्लाका ७३ वडामा १/१ स्वयंसेवक परिचालन गरिएको छ । स्वास्थ्य बिमाले धेरैको उपचारमा सहज बनाइदिएको स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक भरतबहादुर खड्काले बताए ।

प्रकाशित : असार ८, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?