कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उठेन फोहोर

रुकुम पश्चिम — सदरमुकाम खलंगाको फोहोर एक सातादेखि उठ्न सकेको छैन । फोहोर फाल्ने ठाउँ निर्क्योल नहुँदा नगरपालिकाले बजारको फोहोर उठाउन नसकेको हो । 

हरेक दिन निस्कने फोहोर व्यवस्थापन नहुँदा बजारमा दुर्गन्ध बढ्दै गएको छ । बजारका ठाउँठाउँमा फोहोर बढ्दै जाँदा हिँडडुल गर्नसमेत समस्या छ । हरेक दिन घर, पसल तथा बजारबाट निस्कने फोहोर थुप्रँदै जाँदा समस्या भइरहेको स्थानीय मनकला केसीले बताइन् । ‘धेरै दिनदेखि फोहोर उठेको छैन,’ उनले भनिन्, ‘थुप्रोमाथि थप फोहोर थुप्रिदै जाँदा समस्या भएको हो ।’


नगरपालिकाले फोहोर उठाउन नसकेको यो पहिलोपटक भने होइन । यसअघि पनि पटकपटक यसरी नै केही दिनसम्म फोहोर थुप्रिने गरेको थियो । नगरपालिकाले ल्यान्डफिल साइडको व्यवस्थापन गर्न नसक्दा यसरी बेला–बेला फोहोर व्यवस्थापनमा समस्या आउने गरेको हो ।


यसअघि फोहोर फालिँदै आएको वडा २ को पानढुंगामा स्थानीयले फोहोर फाल्न रोकेपछि समस्या आएको नगरपालिकाले जनाएको छ । स्थानीयसँगको सम्झौताअनुसार काम नगरी फोहोर मात्रै फालेकाले रोक लगाइएको स्थानीय रमेश खड्काले बताए ।


‘फोहोर व्यवस्थापनको स्थायी ठाउँ नभएसम्म मात्रै फोहोर फाल्न दिइएको हो,’ उनले भने, ‘तर नगरपालिकाले अर्को व्यवस्थापन नगरेकाले बन्द गरिएको छ ।’ गत असोज मसान्तसम्म मात्रै फोहोर फाल्ने सम्झौता गरिए पनि नगरपालिकाले वैशाखसम्म पनि फालेको उनको भनाइ छ । यसअघि फोहोर फाल्न जाने सडक स्थानीयले भत्काइदिएका छन् ।


पानढुंगामा फोहोर फाल्न अवरोध भएपछि नगरपालिकाले वडा ७ को चकचारीमा फोहोर फाल्न थालेको थियो । त्यहाँ पनि स्थानीयले अवरोध गरेपछि केही दिनदेखि फोहोर उठेको छैन ।


नगरपालिकाले उत्पन्न समस्या तत्काल समाधान गर्न समितिसमेत गठन गरेको छ । पानढुंगाबासीसँग सहमति जुटाउन समितिले आवश्यक प्रक्रिया सुरु गरेको नगर प्रमुख देवीलाल गौतमले बताए । कार्यपालिका सदस्य धीरण शेर्पालीले यसअघि फोहोर फालिँदै आइएको ठाउँका स्थानीयसँग छलफल गर्ने र त्यसको आधारमा आवश्यक निर्णय गरिने बताए ।

प्रकाशित : असार ९, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?