कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली प्रदेशमै उत्कृष्ट

चाँदनी कठायत

वीरेन्द्रनगर — जिल्लाको पुरानो जन नमुना माध्यमिक विद्यालयले एसईईमा ५ वर्षदेखि लगातार उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । विद्यालयले ०७१ देखि दुई वर्ष साबिकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमै र तीन वर्ष कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भयो ।

एसईईमा सामुदायिक विद्यालयभरिमा मात्रै नभई संस्थागत विद्यालयलाई पनि उछिन्दै उत्कृष्ट नतिजा ल्याउने विद्यालय बनेको हो ।


यस वर्षको एसईईको नतिजामा पनि जनमावि कर्णाली प्रदेशका सामुदायिक विद्यालयभरिमा उत्कृष्ट भयो । यो वर्ष विद्यालयबाट ११ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएको प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए । उनका अनुसार १७ जनाले ‘ए ग्रेड’, ४५ जनाले ‘बी प्लस’ र ६५ जनाले ‘बी’ ग्रेड ल्याएका छन् ।


गतवर्ष विद्यालयबाट २ विद्यार्थीले जिपीए ४ ल्याएर देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा चिनाए । यो वर्ष जीपीए ४ कोही विद्यार्थीले नल्याए पनि समग्रमा यो नतिजा निराशाजनक नभएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । ‘यो वर्ष कर्णालीकै नतिजा गत वर्षभन्दा खस्किएको छ,’ उनले भने, ‘अनिवार्य गणितको प्रश्नपत्रको नमुना विगतका वर्षभन्दा फरक भएकाले नतिजा थोरै आएको पनि हुन सक्छ ।’ विगतका ४ वर्षमा कर्णालीका सामुदायिक र संस्थागत विद्यालयमै उत्कृष्ट भएको पनि उनले जनाए ।


आगामी वर्ष ५० जनाले 'ए प्लस’ ल्याउने दाबी जनमाविले आगामी वर्ष ५० भन्दा बढी विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याउनेगरी तयारी थालिसकेको छ । प्रधानाध्यापक श्रेष्ठले विगतका अनुभव र यो वर्षको सिकाइबाट जिपीए ४ ल्याउने विद्यार्थीको संख्या पाँच जनासम्म पुर्‍याइने दाबी गरे ।


विद्यार्थीका लागि पढ्ने उचित वातावरण विद्यालयमा भएकाले हरेक वर्ष नतिजा उत्कृष्ट आइरहेको उनको भनाइ छ । ‘शैक्षिक लगानीको दरमा वृद्धि गरेका छौँ,’ उनले भने, ‘आवश्यकतामा आधारित अतिरिक्त कक्षा, प्रत्येक शनिबार सुधारात्मक परीक्षा पनि लिने गरेका छौँ ।’


शनिबार हुने सुधारात्मक परीक्षाले विद्यार्थीको क्षमता वृद्धि हुने विश्वास लिएको प्रधानाध्यापक श्रेष्ठले बताए । जनमाविमा हरेक दिन ६ देखि १० बजेसम्म अतिरिक्त कक्षामार्फत पढाइन्छ । देशभरका अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भइरहँदा जनमाविमा भने नियमित कक्षा सञ्चालन भइरहेको छ ।


विद्यार्थीहरूका लागि आवश्यक पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर सामग्री पर्याप्त उपलब्ध छन् । ‘सैद्धान्तिक पढाइ मात्र होइन,’ प्रधानाध्यापक श्रेष्ठ भन्छन्, ‘अधिकतम प्रयोगात्मक अभ्यासबाट विद्यार्थी अब्बल हुन्छन् ।’ २०७४ सालमा सरकारले जनमाविलाई नमूना विद्यालय घोषणा गरेको थियो ।


जनमाविमा यस वर्ष १ देखि १० सम्म १ हजार ३ सय ३५ अध्ययनरत छन् । कक्षा ११ र १२ मा १ हजार ५० जना विद्यार्थी छन् । विद्यालयले अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन गराइरहेको छ । ‘१ देखि १० सम्म रहेका २६ सेक्सनमध्ये १८ वटामा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ,’ प्रधानाध्यापक श्रेष्ठले भने, ‘कक्षाकोठा पर्याप्त नहुँदा धेरै विद्यार्थी लिन सकेका छैनौँ ।’ आवेदन भरेका मध्ये आधा विद्यार्थी पनि भर्ना लिन नसकेको उनी स्विकार्छन् । अहिले नमुना विद्यालय परियोजनाअन्तर्गत ८ वटा कक्षा कोठाको भवन निर्माणाधीन अवस्थामा छ ।


अहिले जनमाविमा कक्षा १ देखि ५ पढाउने एक जना पनि शिक्षक सरकारी स्वीकृत दरबन्दीमा छैनन् । निजी स्रोतबाट ३ जना करारमा पूर्णकालीन र आंशिकतर्फ १० जना शिक्षक राखिएको छ । विद्यालयमा निमावितर्फ ११, मावितर्फ १२ र उमावितर्फ ३ जना सरकारी स्वीकृत दरबन्दीका शिक्षक कार्यरत छन् ।


अभिभावक खुसी

जनमाविमा आफ्ना सन्तान पढाउन पाउँदा अभिभावक पनि खुसी छन् । विद्यालयको पढाइ राम्रो भएकाले बाहिर ट्युसन पढाउन पनि नपरेको अभिभावक डम्मरकुमारी पौडेल बताउँछिन् ।


विद्यालयमा हुने हरेक क्रियाकलापबारे अभिभावकसँग पनि छलफल गर्ने गरिएको अभिभावक चाँदनी शाहीको भनाइ छ । विद्यालयले वर्षमा तीन पटक अभिभावक भेला गर्ने गरेको छ ।


विद्यालयका शिक्षक, कर्मचारी, विव्यसका पदाधिकारीलगायत सबैका सन्तान जनमाविमै पढ्न भएकाले पनि सामुदायिक विद्यालयमा पनि पढाइ राम्रो हुन्छ भन्ने प्रभाव अभिभावकमा परेको प्रअ श्रेष्ठले बताए ।

प्रकाशित : असार १७, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?