कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्दननाथ पूर्ण खोपयुक्त

जुम्ला — चन्दननाथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । बालबालिकालाई कुनै पनि खोपबाट बञ्चित नगराउन र खोप कार्यक्रमलाई निरन्तरता दिन पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । 

नगरभित्रका ४ सय ४३ जना बालबालिकाले सबै खोप पुरा गरेपछि खोप सुनिश्चित नगर घोषणा गरिएको हो । नगर प्रमुख कान्तिका सेजुवालले नगरपालिकाका १० वटै वडाका जन्मेदेखि १५ महिनासम्मका ३ सय ७ जना बालबालिकाले सबै खोप लगाइसकेको जानकारी दिइन् । उनका अनुसार १६ महिनादेखि २३ महिनासम्मका १ सय ३६ जनालाई पनि आवश्यक खोप लगाइसकिएको छ ।


चन्दननाथ नगरपालिकाकी स्वास्थ्यकर्मी तारादेवी सेजुवालले संघीय सरकारको लक्ष्य अनुसार सबै वालवालिकाले खोप पाइसकेको जानकारी दिइन । ‘खोप तालिका अनुसार नगर क्षेत्र भित्रका सम्पूर्ण बालबालिकालाई दिगो रुपमा खोप प्रदान गरीएको छ,’ उनले भनिन्, ‘सबै बालबालिकाले पूर्ण रुपमा खोप लगाइसकेकाले बिरामी दर, आपांग दर र मृत्युदर घट्ने हाम्रो अपेक्षा छ ।’


नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले घोषणा कार्यक्रम गर्नुपूर्व गत आर्थिक वर्षमा जन्मिएका बालबालिकाबारे अध्ययन गरेको थियो । नगरभित्र जन्मेका १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको नगरपालिकाले जनाएको छ ।


खोप लिएका बालबालिकाको विवरण संकलन गरी पूर्ण सुनिश्चितता भएको नगर घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिका भित्रका खोप प्राप्त गर्न योग्य शत प्रतिशत बालबालिकाले खोप तालिका अनुसार गुणस्तरीय खोप पूर्णरुपमा प्राप्त गरेको नगर प्रमुख सेजुवालले बताइन् । उनका अनुसार स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरी सबै बालबालिकालाई खोप सेवा प्रदान गरिएको हो ।

प्रकाशित : असार ३१, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?