कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साँखमा घरबास कार्यक्रम

रुकुम पश्चिम — पर्यटकीय क्षेत्र तथा मध्यपहाडी लोकमार्ग नजिकको साँख गाउँमा घरबास कार्यक्रम (होमस्टे) सुरु हुने भएको छ । मुसीकोट नगरपालिका ७, साँख गाउँमा घरबास कार्यक्रम सुरु गर्न लागिएको हो ।

स्थानीय १५ घरमा घरबास कार्यक्रम सञ्चालन हुनेछ । १५ मध्ये सुरुमा ७ घरमा कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ । मुसीकोट नगरपालिकाले पहिलो चरणमा घरबास कार्यक्रम सञ्चालनका लागि १५ घर छनोट गरेको हो । १५ मध्य ७ घरमा केही दिनमै घरबास कार्यक्रम सुरु हुँदै छ ।


त्यसका लागि छनोट भएका घरपरिवारले घरबास दर्ता प्रक्रिया अघि बढाएका छन् । स्थानीय तहमा घरबास अर्थात होमस्टे दर्ता गरेरै सञ्चालनको तयारी गरिएको स्थानीय मीना पाण्डेले बताइन् । घरबास कार्यक्रम सञ्चालनका तालिमदेखि अन्य सबै प्रक्रिया पूरा गरिसकेको पाण्डेको भनाइ छ ।


पहिला चरणमा पाण्डेसहित देवी पुन, सिरिता पुन बुढा, कल्पना विक, मीना विक, चम्फा विक, सरुपा विकले घारबास सञ्चालन गर्नेछन् । मुसीकोट नगरपालिकाले घरबास कार्यक्रम सञ्चालनका लागि आवश्यक घर छनोट गरेको हो । सुरुमा स्वलगानी गर्नसक्ने, घरबास सञ्चालनका लागि कोठाको व्यवस्थापन गर्नसक्ने, घरायसी तथा वातावरणीयसमेत सरसफाइमा ध्यान दिन सक्नेलाई घरबास कार्यक्रम सञ्चालनका लागि छनोट गरिएको नगरपालिकाले जनाएको छ ।


जिल्लामै पहिलोपटक दर्ता गरी घरबास सञ्चालन गर्न लागिएको हो । यसअघि घरबास सञ्चालनका लागि तालिम तथा आवश्यक सामग्रीसमेत प्रदान गरिए पनि कसैले घरबास कार्यक्रम सञ्चालनका लागि दर्ता गरेको थिएन । घरबास सञ्चालनपूर्व तालिम सञ्चालन गरिएको थियो । संस्कृति तथा पर्यटन विकास केन्द्र र मुसीकोट नगरपालिकाले तालिम गराएका थिए । ‘यसको तयारी अन्तिम चरणमा छौं,’ मुसीकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनारले भनिन् ।


घरबास सञ्चालन गर्ने भएपछि व्यवस्थापन, भ्रमणका लागि २ लाख रुपैयाँ नगरपालिकाले खर्च गरेको थियो । घरबास सुरु भएपछि थप सहयोग गर्ने उपप्रमुख सुनारको भनाइ छ । होमस्टे सञ्चालन कार्यविधि २०६७, कर्णाली प्रदेशको होमस्टे सञ्चालन कार्यविधि २०७५ का आधारमा घरबास सञ्चालन गरिनेछ । स्थानीय स्तरमा बन्ने समिति र वडा कार्यालयले घरबास सञ्चालनका लागि दर्ताको सिफारिस गर्नेछन् भने नगरपालिकामा दर्ता हुनेछ ।


घरबासका लागि साँख उपयुक्त भएको संस्कृति तथा पर्यटन विकास केन्द्रका अध्यक्ष पहलसिंह घर्ती मगरले बताए । मध्यपहाडी लोकमार्गसँगै रहेको उक्त ठाउँमा अन्य पर्यटकीय क्षेत्रहरू पनि रहेकाले उपयुक्त हुने उनको भनाइ छ । ‘साँख पर्यटकीय गाउँ हो,’ उनले भने । यहीं साँख दह छ भने त्यसको आसपासमा ७ प्राकृतिक दह छन् ।


‘स्थानीय परम्परा, संस्कृति तथा प्राकृतिक रूपमा मनोरम साँखमा घरबास कार्यक्रम सञ्चालन गर्नु दीर्घकालीन सोच हो,’ अध्यक्ष घर्तीले भने, ‘घरबास सञ्चालन गर्नेहरू व्यावसायिक बन्न सकेपछि यसबाट व्यक्ति तथा समाजलाई आर्थिक तथा सामाजिक, प्रचारात्मक रुपमा पनि ठूलो फाइदा हुन्छ ।’

प्रकाशित : श्रावण ३, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?