कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मापदण्ड विपरीतका मेडिकल र ल्याबमा सिल

चाँदनी कठायत

वीरेन्द्रनगर — जिल्लामा मापदण्ड पूरा नगरी सञ्चालित ५ मेडिकल र ल्याबमा सिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा मेडिकल हल, पोलिक्लिनिक र फार्मेसी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएपछि सिल गरिएको हो । 

मापदण्ड विपरीतका मेडिकल र ल्याबमा सिल

टोलीले राना पोलिक्लिनिक एन्ड डायगोनोष्टिक सेन्टर, कर्णाली मेडिकल हल र बोहोरा पोलिक्लिनिकको ल्याबमा सिल गरेको छ । अनुगमन टोलीका अनुसार रम्भादेवी फार्मेसी र शिवविहार मेडिकल हल दर्तै नगरी सञ्चालन गरेको पाइएपछि मेडिकल नै सिल गरिएको छ । शिवविहार मेडिकल हलले प्रयोग गरिरहेको भवन पनि औषधिअनुकूल नरहेको अनुगमनका क्रममा भेटिएको छ । जस्ता पाताले छाएको भवनमा औषधि राख्न नमिल्ने प्रदेश प्रयोगशालाले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले अनुगमनका क्रममा अन्य ३ पोलिक्लिनिक र ३ नर्सिङ होमलाई मापदण्ड पूरा गर्न सुझाव दिइएको जानकारी दिए । उनका अनुसार सिल गरिएका पोलिक्लिनिकमध्ये राना पोलिक्लिनिक, रम्भादेवी फार्मेसी र कर्णाली मेडिकल हलले ‘ई’ वर्गको प्रयोगशाला सञ्चालनका लागि न्यूनतम मापदण्ड र पूर्वाधार पूरा नगरेको पाइएको छ ।


त्यस्तै, बोहोरा पोलिक्लिनिकले प्रयोगशाला सेवा सञ्चालन नभएको भने पनि मापदण्डविपरीत प्रयोगशाला सेवा दिइरहेकाले बन्द गर्नुपरेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले बताए । ‘केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले यहाँका धेरै स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो,’ उनले भने, ‘उसैको निर्देशनअनुसार केहीलाई सुझाव दिएका छौँ, केही मेडिकलमा सिलबन्दी गरेका छौँ ।’ सुझाव दिँदा पनि बारम्बार अटेर गरेपछि प्रचलित कानुनबमोजिम कारवाही पनि हुने उनको भनाइ छ ।


दर्तै नगरी सञ्चालन भइरहेका मेडिकल दर्ता नहुन्जेल बन्द गरिने प्रशासकीय अधिकृत शर्माले जनाए । ‘मेडिकलहरू औषधि व्यवस्था विभागमा मात्रै दर्ता गर्ने गरेको पाइयो,’ उनले भने, ‘त्यसैमाथि मापदण्डविपरीत ल्याब चलाएर बिरामीको स्वास्थ्य जोखिममा पारेका छन् ।’ केही दिनअघि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गरी बन्द गर्नुपर्ने र सुझाव दिनुपर्ने मेडिकलको सूची तयार पारेर दिएको निर्देशनअनुसारै आइतबार मेडिकलमा सिल गरिएको हो ।


वीरेन्द्रनगरका विभिन्न मेडिकलमा अनुगमन गरिएको यो दोस्रोपटक हो । यसअघि पनि ५ मेडिकलमा सिल गरिएको थियो । पहिलो चरणमा मापदण्डविपरीत सञ्चालित मेडिकल सञ्चालकबाट बयान लिइने र आवश्यक मुद्दा पनि चलाउन सकिने प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।


बन्द गरिएका मेडिकल तथा पोलिक्लिनिक सञ्चालकलाई आवश्यक मापदण्ड पूरा गर्न छलफलका लागि सोमबार प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको छ । अनुगमन टोलीका अनुसार कर्णाली भेरी फार्मेसी, किरण मेडिकल हल र आरुसी फार्मेसीमा समेत मापदण्डविपरीत प्रयोगशाला सञ्चालन भएको पाइएको छ ।


प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा स्वास्थ्य कार्यालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, नगर प्रहरीका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?