कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९ महिनापछि सुरक्षा भत्ता

चौमासिक रूपमा वितरण गरिँदै आइएको सुरक्षा भत्ता नगरको ढिलाइका कारण लामो समयपछि वितरण भयो
राजबहादुर शाही

मुगु — छायानाथ–रारा नगरपालिका ५, ढुम गाउँकी ७६ वर्षीया चाखुल्ली विकले ९ महिनापछि वृद्धभत्ता पाएकी छिन् । गत वर्ष कात्तिकदेखि भत्ता नपाएकी उनी पटकपटक रकम माग्दै नगरपालिका र वडा कार्यालय पुगिन् । तर, ९ महिनापछि उनले घरमै एकमुष्ट १९ हजार रुपैयाँ सुरक्षा भत्ता बुझेकी छिन् । उनका पति मेग्याले पनि ९ महिनाको सुरक्षा भत्ता एकैपल्ट पाए ।

९ महिनापछि सुरक्षा भत्ता

यी दुई मात्र होइन, नगरपालिकाभित्र बसोबास गर्ने लक्षित वर्गले ९ महिनापछि सुरक्षा भत्ता पाएका हुन् । नयाँ आव सुरु भएपछि नगरपालिकाले गत वर्षको ज्येष्ठ नागरिक, अपांग, एकल महिला तथा बालबालिकाको सुरक्षा भत्ता वितरण गरेको हो ।


चौमासक रूपमा वितरण गरिँदै आइएको सुरक्षा भत्ता नगरको ढिलाइका कारण लामो समयपछि वितरण भएको हो । सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासीमा ढिलाइ भएपछि ढिलोगरी वितरण गरिएको नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार १४ वटै वडाका लक्षित वर्गका लागि ९० प्रतिशत रकम वितरण गरिसकिएको छ ।


नगरपालिकाले सामाजिक सुरक्षावापतको रकम वडास्तरमै निकासी दिइएको जनाएको छ । सम्बन्धित वडाध्यक्ष र कर्मचारीले घरघरमै पुगेर रकम वितरण गरेका हुन् । कम्प्युटरमा तथ्यांक राख्न ढिलाइ भएपछि भत्तावापतको रकम निकासी हुन सकेको थिएन । नगरपालिकाका अनुसार वडा ३ मा भने लक्षित वर्गको संख्या बढी भएपछि वितरणमा समस्या आएको छ ।


उक्त वडामा ३० लाख रुपैयाँ आवश्यक रहेकामा नगरबाट १५ लाख मात्र निकासा भएपछि लक्षित वर्गलाई सुरक्षा भत्ता वितरण गर्न समस्या भएको हो ।


नगरपालिकाका अनुसार ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई मासिक १ हजार, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई २ हजार र बालबालिकालाई ४ सय रुपैयाँका दरले भत्ता उपलव्ध गराइएको हो । त्यस्तै पूर्ण अपांगलाई २ हजार र एकल महिलालाई १ हजार रुपैयाँ दिइँदै आइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा १ हजार ५ सय ४२ ज्येष्ठ नागरिक, ३ सय ४६ एकल महिला, ६४ पूर्ण अपांग, ७७ आंशिक अपांग र ५ वर्षमुनिका ४ हजार ३ सय ९८ बालबालिकाले सुरक्षा भत्ता लिइरहेका छन् ।

प्रकाशित : श्रावण ७, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?