कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोप हुँदै रैथाने माछा

‘विष प्रयोग गरेका माछा सेवनका लागि हानिकारक छ भन्ने जानकारी भए पनि मार्न छाडिएको छैन’

सल्यान / जुम्ला — करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जिल्लाका विभिन्न खोलामा माछाको संख्या घटदै गएको छ । जिल्लाका अधिकांश भाग भएर बग्ने शारदालगायत खोलामा करेन्ट र विषादीको प्रयोग बढेपछि असला, सौल, बुदुना जातका माछा लोप हुने अवस्थामा पुगेका छन् ।

लोप हुँदै रैथाने माछा

करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन थालेपछि स्थानीय जातका माछा लोप हुन थालेका हुन् । स्थानीयका अनुसार विगतमा साना खोलामा पनि जताततै देख्न सकिने विभिन्न जातका माछा पछिल्लो समय देखिन छाडेका छन् । लान्तीका नेबबहादुर थापाले केही वर्षअघिसम्म स्थानीय खोलामा माछा मारेरै गुजारा चलाउने गरेका थिए ।


‘पहिले एक घण्टामा ३/४ किलो माछा सजिलै मार्न सकिन्थ्यो, अहिले दिनभर खोला चहार्दा पनि एक किलो पाउन मुस्किल हुन्छ,’ उनले भने, ‘करेन्ट र विषको असरले अधिकांश खोलामा माछा सकिएका छन्, माछा मारेरै जीविकोपार्जन गर्नेहरू पलायन भएका छौं ।’ उनले खोलामा माछा घटेपछि मजदुरी गरी गुजारा गर्दै आइरहेको जनाए । उनका अनुसार विषादी र करेन्टले अन्य जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेका छन् । उनले माछा पाइन छाडेपछि डेढ वर्षयता जाल खेल्न नगएको सुनाए ।


करेन्टभन्दा विष प्रयोग गर्दा माछामा बढी क्षति हुने गरेको स्थानीयको भनाइ छ । विषले ३/४ दिनसम्म माछा र भुरामा क्षति पुर्‍याउने गरेको स्थानीय पलमान नेपालीले बताए । ‘विष प्रयोग गरेका माछा सेवनका लागि हानिकारक छ भन्ने जानकारी भए पनि मार्न छाडिएको छैन,’ उनले भने, ‘युवाहरूले समूह बनाएर जथाभावी विष हाल्दै माछा मार्ने गरे पनि स्थानीय प्रशासन मौन छ ।’ उनले माछा घटेपछि बादी समुदायको जीविकोपार्जनमा समस्या भएको गुनासो गरे ।


करेन्ट लगाइ माछा मार्दा १ वर्षअघि जिल्लामा दुई जनाको ज्यान गएको थियो । स्थानीय विमल नेपालीले नदी र खोलामा विभिन्न कारणले माछा घटेपछि बादी समुदाय अहिले मजदुरीका काममा लाग्न थालेको बताए । ‘अहिले दिनभरि जाल खेल्दा पनि आधा किलो माछा मार्न गाह्रो हुन्छ,’ उनले भने, ‘मादल बनाउने पेसा संकटमा परेपछि माछा मार्न थालियो, अहिले माछा सकिएपछि मजदुरीमा लागेका छौं ।’ उनका अनुसार पुर्ख्यौली माछा मार्ने पेसा संकटमा परेपछि जिल्लाका अधिकांश बादी परिवार भेरी र बबई नदी किनारा बसाइ सरेर गएका छन् ।


संकटमा असला

पछिल्लो समय तिला नदीमा पाइने असला जातका माछा संकटमा पर्न थालेका छन् । नदीमा मानवीय क्रियाकलाप बढदै गएपछि असला माछा संकटमा परेका हुन् ।

जुम्लाको तिला नदीमा माछा मार्न जाल हान्दै स्थानीय मनोज बुढा । तस्बिर : एलपी/कान्तिपुर


तीन महिनाअघि नदीका विभिन्न स्थानमा ठूलो संख्यामा माछा मरेर छालमा तैरिएको अवस्थामा भेटिएका थिए । तिलामा पाइने असला माछा विश्वमै लोपन्मुख मानिन्छ । यो माछा निकै स्वादिलो हुने भएकाले सबैको रोजाइमा पर्ने गरेको स्थानीय माया पछाईले बताइन् ।


उनका अनुसार नदीमा करेन्ट लगाउने, विष हाल्ने, जथाभावी फोहर फाल्नेलगायत मानवीय गतिविधि बढेपछि माछा संकटमा पर्न थालेका हुन् । ‘पहिले नदीभरि माछा नै माछा देखिन्थे, अहिले दिनभर जाल खेल्दा पनि १ किलो भेटाउन मुस्किल हुन्छ,’ उनले भनिन्, ‘माछा भेटिन छाडेपछि स्थानीय बजारमा असलाको मूल्य बढदै गएको छ ।’


१ वर्षअघि ३ सय रुपैयाँमा किनबेच हुने स्थानीय माछाको मूल्य ६ सय रुपैयाँ पुगेको उनको भनाइ छ । उनले माछासहित अन्य जलचर प्राणी पनि जोखिममा परेको गुनासो गरिन् । तिलाको पहिचानै असला माछा भएकाले संरक्षणका लागि सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।


नदीमा पानीको बहाब घट्नु, करेन्ट लगाइनु, पानी दूषित हुनुलगायत कारण दिन प्रतिदिन माछाको संख्या घटदै गएको भेटेनरी अस्पतालका पशुविज्ञ गोविन्द्र महतले बताए । ‘जिल्ला बाहिरसमेत ठूलो परिणाममा पठाइने माछा अहिले पाउनै मुस्किल भएको छ,’ उनले भने, ‘नदीमा जथाभावी डोजर प्रयोग गरिँदा पनि स्थानीय माछा लोप हुन थालेका छन् ।’


उनले केही महिनाअघि तिला नदीका रारालिही, कुडारी, तातोपानी, हाँकु, छिनासाँघुलगायत स्थानमा ठूलो संख्यामा माछा मरेर तैरिएको बताए । उनले नदी छेउछाउमा भेटिएका माछालाई थप अनुसन्धानका लागि काठमाडौंका प्रयोगशालामा पठाइएको जानकारी दिए । के कारणले माछा मरेका हुन् भन्नेबारेको रिपोर्ट अझै नआएको उनको भनाइ छ ।


माछा मार्न जाल खेल्ने, निया हाल्ने, झरौला हाल्ने, बल्छी खेल्ने र ढँडिया राख्ने चलन पछिल्लो समय हराउँदै गएको छ । केही वर्षयता नदीमा करेन्ट लगाउने र विषादी प्रयोग गर्ने क्रम बढे पनि स्थानीय प्रशासन मौन छ । असला माछाको संरक्षणका लागि सरोकारवाला निकायको समयमै ध्यान जानुपर्ने स्थानीय मनोज बुढा बताउँछन् ।


उनले केही वर्ष अघिसम्म दैनिक ७ किलोसम्म माछा मार्ने गरेकोमा अहिले दिनभरमा मुस्किलले २/३ किलो मात्र पाउने गरेको जानकारी दिए । ‘तिलाको पहिचान नै असला हो, असला हराए तिला नदीको अस्थित्व पनि मेटिन्छ,’ उनले भने, ‘नदीमा अहिले असला माछा मुस्किलले पाइन्छ ।’ उनका अनुसार माछाको संख्या घटेपछि माछा मारेर गुजारा चलाउने समुदाय भारतमा मजदुरीका लागि जान थालेका छन् ।

प्रकाशित : श्रावण १०, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?