कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुम्बा विद्यालयको करोडको भवन

छपाल लामा

हुम्ला — उत्तरी सीमा क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकामा टोपे–टोपेनी (आनी र लामा) को अध्ययनका लागि आधुनिक सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र यालवाङमा नाम्खाछोङ्जुङ महामय विद्यालय भवन निर्माण गरिएको हो ।

गुम्बा विद्यालयको करोडको भवन

नाम्खा गाउँपालिका र यालवाङ गुम्बाले विद्यालय भवन निर्माण गरेका हुन् । नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाका अनुसार स्थानीयलाई लामा भाषा मात्र बोल्न आउँछ । नेपाली भाषाबारे पनि ज्ञान दिन विद्यालय स्थापना गरिएको उनले बताए ।


विद्यालय भवन निर्माणमा १ करोड १६ लाख खर्च भएको छ । त्यसमध्ये १६ लाख गाउँपालिकाले र बाँकी गुम्बाले खर्च गरेको छ । दुईतले भवनमा १२ कोठा छन् । नयाँ भवनमा फर्निचर, शौचालय, खानेपानीलगायत आधारभूत सुविधा रहेका गुम्बाका सदस्य पदम लामाले बताए ।


पहिले ८ कक्षासम्म पढाइ हुने विद्यालयमा अहिले १० सम्म पढाइ सुरु भएको छ । प्रधानाध्यापक दोर्जे लामाले भवन निर्माणपछि पठनपाठनमा सहज हुने बताए । विद्यालयमा ३ सय ८ जना विद्यार्थी छन् । ‘विद्यार्थी धेरै हुँदा कक्षाकोठा अभावले पढाउन निकै समस्या थियो,’ उनले भने, ‘अब त आरामसाथ पढाउन पाइने भयो ।’ २००७ सालमा स्थापना भएको यो विद्यालयले २०१५ मा मात्र

जिल्ला शिक्षा कार्यालबाट स्वीकृत पाएको थियो ।


हाल सरकारले वार्षिक १ लाख ६० हजार रुपैयाँ मात्र सञ्चालन खर्च दिन्छ । यसले विद्यालय चलाउन निकै मुस्किल हुने प्रधानाध्यापक लामाले बताए । विद्यालयमा १५ शिक्षक छन् । नेपाली र लामा दुईटै भाषामा पठनपाठन हुन्छ । लामा भाषामा पठनपाठन गर्ने टोपे–टोपेनीलाई अन्य विद्यार्थीसँग बसेर पढदा असहज हुने भएकाले छुट्टै भवन निर्माण गरिएको प्रधानाध्यापक लामाको भनाइ छ । ‘यसबाट लोप हुने जोखिममा रहेको लामा भाषाको जगेर्नामा टेवा पुग्नेछ भने लामाभाषीलाई नेपाली भाषा पनि सिकाइनेछ,’ उनले भने ।

प्रकाशित : श्रावण १४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?