कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लामा पहिलो महिला प्रजिअ

कान्तिपुर संवाददाता

हुम्ला — जिल्लामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पुगेकी छिन् । उपसचिव विनीता भट्टराईले पहिलो महिला प्रजिअका रूपमा जिल्ला प्रशासनबाट कामकाज थालेकी हुन् । 

हुम्लामा पहिलो महिला प्रजिअ

महिला प्रजिअ आएपछि सरकारी सेवामा महिलाको पहुँच बढ्ने अपेक्षा गरिएको छ । २०६३ मा निजामती सेवामा प्रवेश गरेकी भट्टराई यसअघि सुर्खेतको सहायक प्रजिअका रुपमा कार्यरत थिइन् । उनले सुर्खेतमा सहायक प्रजिअ भएर ८ महिना काम गरिन् ।


१२ दिनअघि कार्यभार ग्रहण गरेकी भट्टराईले महिला हिंसा नियन्त्रणका लागि आफूले पहल गर्ने बताइन् । घरेलुसहित अवैध चिनियाँ मदिराका कारण जिल्लाको शान्ति सुरक्षामा समस्या भएको उनको बुझाइ छ । महिलालाई सहज सरकारी सेवा प्रवाहका लागि पहल गरिने उनले प्रतिबद्धता गरिन् ।


उनी हुम्ला आएपछि उनकै पहलमा २ सुत्केरी महिलाको उद्धार गरिएको छ । ‘तर एक जनाको मात्र ज्यान बचाउन सफल भइयो,’ उनले भनिन्, ‘सुत्केरी र जोखिमपूर्ण अवस्थाका महिलाको ज्यान जोगाउन एयर लिप्ट सेवालाई आगामी दिनमा थप प्रभावकारी बनाइनेछ ।’ आफू पनि महिला नै भएकाले महिलाका समस्या समाधान गर्न प्रयत्न गर्ने प्रजिअ भट्टराईले बताइन् ।

सिमकोट गाउँपालिका २, की हाँसु परियारले कामका लागि जिल्ला प्रशासन पुग्दा महिला प्रजिअ देखेर खुसी भएको बताइन् । ‘पहिलोपटक प्रजिअ महिला आउनुभएछ,’ उनले भनिन्, ‘उहाँलाई जिल्लाका महिलाले भोगेका समस्याबारे बताउन पाउँदा खुसी लाग्यो, उहाँले समस्या समाधान गर्ने वचन दिनुभएको छ ।’

प्रकाशित : श्रावण २३, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?