कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरकारी नलगाए पाहुना 'प्रतिबन्ध’

छत्रेश्वरी गाउँपालिका २ ले करेसाबारीमा अर्गानिक तरकारी नलगाएको घरमा पाहुना जान र छोरीबेटी दिन नपाइने नियम लगाएको छ
विप्लव महर्जन

सल्यान — घरमा करेसाबारी छ कि छैन ? छ भने तरकारी लगाइएको छ कि छैन ? छैन भने ख्याल गर्नुहोस् है घरमा न पाहुना आउनेछन्, न त दुलही नै भित्रिने छिन् ।

तरकारी नलगाए पाहुना 'प्रतिबन्ध’

सुन्दा अचम्म लाग्ने यो अवस्था छत्रेश्वरी गाउँपालिका(२ को हो । वडाले करेसाबारीमा तरकारी नलगाएका घरमा पाहुना नजान र छोरीबेटी नदिन उर्दी गरेको छ । वडाले ‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत विषादीयुक्त तरकारीलाई विस्थापित गर्न र वडावासीलाई तरकारीमा आत्मनिर्भर बनाउन यस्तो गरेको हो ।


‘आफ्नै करेसाबारीमा अर्गानिक तरकारी लगाउन दबाब दिने उद्देश्यले हामीले यस्तो निर्णय गरेका हौं,’ वडाध्यक्ष प्रेमबहादुर खडकाले भने, ‘यसले वडावासीको स्वास्थ्यमा राम्रो प्रभाव पार्ने हामीले सोचेका छौं ।’ गत वर्षदेखि सुरु भएको यो कार्यक्रमका कारण वडाका ९० प्रतिशत घरमा करेसाबारी बनाइएको उनले बताए ।


छत्रेश्वरी गाउँपालिका(२ मा दमाचौर, डौरेडारा, डिग्रेखोला, साउनेपानी, अत्तरकाँडा, दहखोला र गुराँसे गाउँ पर्छन् । यी गाउँमा करिब ७ सय घरधुरी छन् । गाउँमा उत्पादन हुने तरकारी स्थानीयले बिक्रीको लागि बजारमा समेत लिने गरेका वडाध्यक्ष खडकाले बताए । ‘करेसाबारीमा तरकारी लगाउन थालेपछि अहिले गाउँ नै तरकारीमय भएको छ,’ उनले भने, ‘स्थानीयवासी बिस्तारै व्यावसायिक तरकारी खेतीमा पनि लागेका छन् ।’


वडाले करेसाबारीमा अनिवार्य रुपमा अर्गानिक तरकारी लगाउनुका साथै प्रत्येक घरमा फलफुलका पाँचवटा बोट लगाउने निर्णय गरेको थियो । त्यो पनि प्रभावकारी भएको वडाको भनाइ छ । स्थानीय रेशमबहादुर भण्डारीले वडाको यस्तो निर्णयले तरकारी खेतीतर्फ आकर्षित गरेको बताए । ‘हामीले ताजा तरकारी खान पाउनुका बेचेर आम्दानी पनि गरिरहेका छौं,’ उनले भने, ‘यसबाट घरखर्चको गर्जो पनि टर्ने गरेको छ ।’


करेसाबारीमा तरकारी नलगाएकै कारण दुई/चारपटक आफ्ना घरमा आएका पाहुना फर्किएका बेलबहादुर घर्तीले बताए । पाहुना नआउँदा खल्लो महसुस भएपछि करेसाबारीमा तरकारी लगाउन थालेको उनको भनाइ छ । ‘अहिले त मैलेमात्र होइन, सबैले तरकारी लगाउन थालेका छन्,’ उनले भने, ‘यसले आम्दानी र सन्तुष्टि दिएको छ ।’ करेसाबारीमा मौसमअनुसार तरकारी लगाउने गरिएको उनले बताए ।


सधैं चाउचाउ र नुनखुर्सानीको धुलोमा बिहानबेलुकी गुजारा गर्दै आएका हातिराम बिकले करेसाबारीमा लगाएको तरकारीबाट राहत भएको बताए । तरकारीको लागि हिजोआज पैसा खर्च गर्न नपरेको उनको भनाइ छ । वडा कार्यालयले गाउँपालिका भित्रका स्थानीयको लागि राम्रो निर्णय गरेको उनले बताए ।


लिउडाँडामा सामूहिक खेती

रुकुम पश्चिम– मुसीकोट नगरपालिका–९, लिउडाँडाका देवीलाल ओली हिजोआज सामूहिक तरकारी खेतीमा संलग्न छन् । उनीसहित पाँचजनाको समूहले मनग्गे आम्दानी गर्नुका साथै सामूहिक कामबाट सफलता पाउन सकिन्छ भन्ने सन्देश पनि दिएका छन् ।


जनचेतना कृषि समूहमा आबद्ध ती किसानले स्थानीय मोहनबहादुर ओलीको ६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती थालेका हुन् । जग्गाभाडा वार्षिक १० हजार रुपैयाँ तिर्छन् । ‘परम्परागत खेती प्रणालीबाट जीवन निर्वाह गर्न गाह्रो भयो, त्यसैले व्यावसायिक तरकारी खेती थालेका हौं,’ देवीलालले भने, ‘यो खेतीलाई हिउँद लागेपछि अझै खेती बढाउने योजना छ ।’


समूहले पहिलो चरणमा १९ वटा टनेलमा टमाटर, काँक्रा, भिन्डी र तितेकरेला लगाएको छ । टनेल निर्माण, बीउ खरिद र जग्गा व्यवस्थापनमा १ लाख ५० हजार लगानी गरिएको समूहका सदस्य पदमबहादुर खडकाले बताए ।


उनका अनुसार सामूहिक तरकारी खेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५ टनेल र आवश्यक विषादी सहयोग गरेको छ । खेती विस्तारका क्रममा ९ नम्बर वडा कार्यालयले बाँस खरिद गरिदिएको पदमबहादुरले जानकारी दिए । मोहन ओलीको अध्यक्षतामा रहेको जनचेतना कृषि समूहमा देवीलाल, मोहनबहादुर, पदमबहादुर र भीमबहादुर चन्द सदस्य छन् ।


लिउडाँडाको ७० रोपनी जग्गा भाडामा लिने र समूहमा अन्य सदस्य पनि थप्ने उनीहरूको योजना छ । सदस्यता बढाउँदै लगेर सम्भव भएसम्म सबै गाउँलेलाई सामूहिक तरकारी खेतीमा जोड्ने योजना समूहका अध्यक्ष मोहनले सुनाए । उनले वडा कार्यालय, नगरपालिका तथा अन्य सरोकारवाला निकायलाई त्यसका लागि सहयोग गर्न अनुरोध गरिएको बताए ।

प्रकाशित : श्रावण २६, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?