कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरेलुको कार्यक्रममा झारा

कान्तिपुर संवाददाता

कालीकोट — उद्यमीको क्षमता विकास गरी सफल व्यवसायी बनाउने उद्देश्य बोकेको कार्यक्रम कार्यान्वयनमा झारा टार्ने काम भएको छ । जिल्ला घरेलु विकास कार्यालयमार्फत कार्यान्वयन भएको कार्यक्रमको बजेट आवको अन्त्यमा आउनु र प्रभावकारी अनुगमन नहुनुले दुरुपयोगको आशंकासमेत गरिएको छ ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट गत आवमा युवा तथा दलित लक्षित कार्यक्रमको लागि करिब १ करोड रुपैयाँ आएको थियो । कार्यक्रम कार्यान्वयन गर्ने क्रममा कार्यालयका कर्मचारीले सम्झौताअनुसार सामान नल्याएको भन्दै २ उद्यमीबाट रकम लिनुका साथै ३ उद्यमीको चेक रोकेका थिए ।

खरिदार खेमराज उपाध्यायले चन्द्र फर्निचर उद्योगको अनिपाल कसेराबाट ७८ हजार र लुवारकोट कृषि औजार उद्योगका सञ्चालक मने कामीबाट ५० हजार रुपैयाँ लगेका उद्यमीको भनाइ छ । खरिदार उपाध्यायले रकम लिएको स्वीकार्दै उद्यमीले काम पूरा नगरेकाले रकम राखिएको बताए ।

कसले कति पाए ?

कार्यालयले १७ उद्योग छनोट गरेको थियो । कार्यालयले सबैभन्दा बढी रकम नरहरिनाथ गाउँपालिका ४ मा अवस्थित चन्द्रसूर्य गार्मेन्ट उद्योगका वीरेन्द्र बुढालाई १४ लाख ४० हजार रुपैयाँ दिएको थियो । दोस्रो बढी रकम खाँडाचक्र नगरपालिकास्थित एसबी नुडल्सका प्रेमवहादुर शाहीले ८ लाख ६४ हजार अनुदान लगेका छन् ।

खाँडाचक्रकै चन्द्र फर्निचरका अनिपाल कसेरा, रास्कोटस्थित विपीन ग्रिल उद्योगका मन तिरुवा र पचालझरना गाउँपालिका ५ मा रहेको रघुजन ढाका उद्योगका तपेन्द्रबहादुर शाहीले ७ लाख ६८ हजारका दरले अनुदान लगेका छन् ।

खाँडाचक्रस्थित कर्णाली एग्रोफुड प्रोडक्टका रत्नप्रसाद आचार्य, कर्णाली जडीबुटी प्रशोधन उद्योगका अजबहादुर गिरी र लुवारेकोट कृषि औजार उद्योगका मने कामी, नरहरिनाथ गाउँपालिका ४ स्थित बडिमालिका जडीबुटी चिया उद्योगका दीपेन्द्र विष्ट, सान्नीत्रिवेणी ६ स्थित निशान फर्निचर उद्योगका हेमराज सञ्ज्यालले ४ लाख ८० हजार र का दरले अनुदान पाएका छन् ।

त्यसैगरी, रास्कोटस्थित दिनेश फर्निचर उद्योगका मन्जिते तिरुवा र समिर ढाका उद्योगका हजा सुनार, नरहरिनाथस्थित सुन्दरटोल भैंसीपालन फर्मका केबले कामी (क) र वीरजल कृषि औजार आरन उद्योगका केबल कामी (ख), खाँडाचक्रस्थित पूजा एन्ड जीवन फर्निचर उद्योगका भगवती कामी र रुपादेवी कृषि औजार आरन उद्योगका धनवीर कामीलाई ३ लाख ८० हजारका दरले रकम दिइएको छ ।

गाउँपालिका अध्यक्षकै किर्ते हस्ताक्षर

यसैबीच, घरेलु कार्यालयले सञ्चालन गरेको मेड्पा कार्यक्रममा गाउँपालिका अध्यक्षकै किर्ते हस्ताक्षर गरी रकम लिएको पाइएको छ । सुर्खेतको देउती मध्यपश्चिम सीप विकास प्रालिले कार्यक्रम सञ्चालनको जिम्मा पाएको पलाता गाउँपालिकाको अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण बमको किर्ते हस्ताक्षर गरेको पाइएको हो ।

सहजकर्ता हिक्मत बुढाले अध्यक्ष बमलगायत पदाधिकारीको किर्ते हस्ताक्षर गरेर घरेलु कार्यालयमा पेस गरेका थिए । गाउँपालिकाले आपत्ति जनाउँदै पत्र लेखेपछि घरेलु कार्यालयले छानबिन गर्दा किर्ते काम भेटिएको कार्यालय प्रमुख आइती चौधरीले बताइन् ।

उनका अनुसार कालिकोटमा कार्यक्रम सञ्चालनको लागि देउती र इलाइट इन्फाइस्ट्रक्चर प्रालि गरी २ कम्पनी छनोट भएका थिए । देउतीले सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाता तथा इलाइटले नरहरिनाथ, खाँडाचक्र, शुभकालिका, महाबै र तिलागुफामा काम गर्ने जिम्मा पाएका थिए ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?