कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलुमा आत्मनिर्भर

एलपी देवकोटा

जुम्ला — उत्पादन र व्यावसायिक खेती बढदै गएपछि जुम्ला आलुमा आत्मनिर्भर बनेको छ । अधिकांश क्षेत्रमा उत्पादन हुन थालेपछि छिमेकी जिल्लाको मागसमेत जुम्ली आलुले धानिरहेको छ । 

जिल्लाको चौधबीस क्षेत्र आलु उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । केही वर्ष अघिसम्म जुम्लामा आलुको माग बढदै जान थालेपछि स्थानीय व्यापारीले भारतको रुपैडिहाबाट ल्याएरसमेत बिक्री गरेका थिए । जिल्लामा गत आवमा २७ हजार टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले वताए ।


उनका अनुसार २ हजार ६ सय ५० हेक्टरमा आलु खेती भइरहेको छ । ‘आलु उत्पादनको ६० प्रतिशत हिस्सा चौधबीस क्षेत्रले ओगटेको छ,’ उनले भने, ‘यहाँको ५० प्रतिशत आलुबाहिर जिल्लामा बिक्री हुने गरेको छ ।’ यस वर्ष १३ हजार ५ सय टन आलु जिल्ला बाहिर गएको कार्यालयको तथ्यांक छ ।


समाजशास्त्री डोरबहादुर विष्टले जिल्लामा आलु खेतीलाई व्यावसायिक वनाउन किसानलाई उत्प्रेरणा दिएका थिए । करिब १० वर्ष चौधविस क्षेत्रमा बसेका विष्टको प्रेरणाले अधिकांश किसान आलु खेतीमा लागेको पातारासी गाउँपालिकास्थित पटमाराका कल बुढाले बताए । ‘हाम्रो क्षेत्रमा धान फल्दैन, अधिकांश घरधुरीले आलु उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘बजारमा आलुको माग बढेपछि आत्मनिर्भर बनेका छौं, आलु खेतीबाटै हाम्रो जीवनस्तर फेरिएको छ ।’ किसानले घरमै प्रतिकिलो २० रुपैयाँमा आलु बिक्री गर्दै आएका छन् ।


स्थानीय बजारमा प्रतिकिलो २५ देखि ३० रुपैयाँमा आलु बिक्री हुने गरेको चन्दननाथ नगरपालिकाको कृषि शाखाले जनाएको छ । स्थानीय सन्तोष खत्रीका अनुसार जिल्लाका विभिन्न स्थानमा सडक सुविधा पुगेसँगै स्थानीय आलुको माग बढिरहेको छ ।


जिल्लामा खुम्वल सेतो, डेजिरे, एनपीआई १०६, कुफिज्योति र स्थानीय जातको आलु उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय किसान रतन बुढाले जुम्ली आलु स्वादिलो र प्रांगारिक भएकाले अधिकांश जिल्लामा माग बढेको बताए ।


जनकपुरका राजकुमार यादवले ३ वर्षदेखि जुम्लाको आलु खरिद गरी विभिन्न जिल्लामा बिक्री गर्दै आइरहेका छन् । ‘मैले यहाँको आलु देशका विभिन्न क्षेत्रमा बिक्री गर्ने गरेको छु,’ उनले भने,‘ स्थानीय जातको आलुको बिउको मागसमेत उच्च छ ।’ त्यस्तै हिमालयन बहुऊद्देश्यीय सहकारी संस्थाले किसानबाट आलु खरिद गरी जिल्ला बाहिर बित्री गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?