कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिनापीडित भोकभोकै 

ज्योति कटुवाल

दैलेख — ठाँटीकाँध गाउँपालिका–१ लकान्द्राका टीकाराम रावतको २० रोपनी जग्गा बाँझै छ । ६ महिनाअघि परेको असिनाले बाली मात्र नष्ट गरेन, उर्वराशक्ति पनि ह्रास गरिदियो । ‘हाम्रो पीडा सरकारले पनि हेरिदिएन,’ रावतले भने, ‘जग्गा भएर पनि भोकभोकै बस्नुपर्ने अवस्था आयो ।’

दैलेखका असिनापीडितको गुनासो टीकारामको भन्दा भिन्न छैन । एकातिर सरकारले भनेअनुसार राहत नदिनु र अर्कोतर्फ बाली लगाउन नसकिने गरी उर्वराशक्ति ह्रास हुनुले स्थानीय तनावमा छन् । फागुनमा परेको असिनाबाट दैलेखका १ हजार ४ सय ४७ घरधुरी पीडित भएका छन् । उनीहरूका लागि कर्णाली प्रदेश सरकारले ४० लाख रुपैयाँ राहतस्वरूप विनियोजन गरे पनि पीडितले अहिलेसम्म नपाएको गुनासो गरे ।


लकान्द्राकी सुर्जा विकको पीडा टीकारामको भन्दा अझ दर्दनाक छ । उनको ९ जनाको परिवार मागेर खानुपर्ने अवस्थामा पुगेको छ । ‘असिना परेको जग्गामा बाली उम्रिँदैन, अब के खाएर बाँच्ने होला ?’ उनले भनिन्, ‘सरकारले पनि आँखामा छारो हाल्यो, हाम्रो दुःख देख्ने कोही भएन ।’


प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चैत २६ गते नै दैलेखसहित कर्णालीका सबै जिल्लाका असिनापीडितका लागि राहत दिने निर्णय गरेको थियो । प्रतिपरिवार २ हजार ७ सयको दरले राहत दिने निर्णय भए पनि हालसम्म हातमा नपुगेको सुर्जाले बताइन् ।


असिनाले बाली सखाप गर्दा त किसानले सहेकै थिए । अहिले असिना प्रभावित जग्गामा बाली नलाग्दा अर्को चिन्ता थपिएको छ । असिनापीडित डिलबहादुर रावतले ६ महिनायता बाली लगाउन खोजे पनि नउम्रिएको बताए । बाली उम्रिनु त टाढाको कुरा, खेतबारीमा भएका बोटबिरुवा पनि सुक्दै गएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?