कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँगाउँमा पूर्णिमा मेला

मेला भर्न जुम्लासहित जाजरकोट, मुगु, दैलेख, कालीकोटलगायत आसपासका जिल्लाबाट तीर्थालु भेला

जुम्ला/मुगु — कर्णालीको प्रसिद्ध तीर्थस्थल दानसाघु दोभानमा तीर्थालुको घुइँचो लागेको छ । चन्दननाथ नगरपालिकास्थित दानसाँघुमा बिहीबार बिहानैदेखि तीर्थालुको भीड लागेको थियो । 

गाउँगाउँमा पूर्णिमा मेला

प्रत्येक वर्ष दानसाँघुमा श्रावण शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्छ । स्थानीय दयादत्त हमालका अनुसार दोभानमा स्नान गर्न आए मनोकांक्षा पूरा हुने जनविश्वास छ ।


मेला भर्न जुम्लासहित जाजरकोट, मुगु, दैलेख, कालीकोटलगायत आसपासका जिल्लाबाट तीर्थालु आउने गरेको उनको भनाइ छ । दानसाँघुमा पर्याप्त पूर्वाधार अभावमा स्नान गर्न आएका तीर्थालुलाई व्यवस्थापन गर्न नसकिएको उनी बताउँछन् । जनैपूर्णिमाको दिन दानसाँघुमा स्नान गरी आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितबाट नाडीमा रक्षाबन्धन बाँध्ने चलन रहेको उनले सुनाए ।


दानसाँघुमा स्नान गरी सप्त ऋषिसहित ब्रहमा, विष्णु र महेश्वरको पूजा गर्ने चलन रहेको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए । ‘तागाधारीले सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमामा स्नानको ठूलो महत्त्व छ,’ उनले भने, ‘पूर्णिमाकै दिन लिता र जवा नदीको दोभान दानसाँघुस्थित शिवालयमा विशेष पूजाआजा हुने गर्छ ।’


बलिराजाले दोभानमा असीमित दान गरेकाले २ नदीको संगमस्थललाई दानसाँघु भनिएको उनी बताउँछन् । उनका अनुसार केही वर्षअघिसम्म जनै पूर्णिमाका दिन पूजा सकेपछि ब्राहमणलाई बिर्ता दिने र भूमिदान दिने चलन थियो । दानसाँघु मसानेश्वर महादेवको बसोबासस्थल भएको जनविश्वास छ ।


जुम्लाको चन्दननाथ नगरपालिकास्थित दानसाँघु मेला भर्न पुगेका तीर्थालु । तस्बिर : एलपी/कान्तिपुर


किंवदन्तीअनुसार १ वर्षमा दुईपटक मसानेश्वर महादेव र रत्नचुडेश्वर महादेव आएर दानसाँघुमा बास बस्ने गर्थे । फागुनको शिवरात्री र साउन शुक्ल चतुर्दशीमा दानसाँघुमा बास बसेर भोलिपल्ट पूजा गरी रथयात्रा गरिने चलन रहेको स्थानीय नन्दबहादुर गुरुङले बताए ।


उनका अनुसार मष्टो प्रकृतिका देवतालाई २ नदीको संगमस्थलमा नुहाइधुवाइ मसानेश्वर महादेवको दर्शन गराएर फर्काउने चलन छ । उनले जिल्लामा मसानेश्वर महादेवको मन्दिर एउटा मात्रै भएकाले दानसाँघुमा तीर्थालुको भीड लाग्ने गरेको जनाए ।


हरितालिका तीजमा पनि महिलाले दोभानमै नुहाउने चलन रहेको उनी बताउँछन् । तीर्थालुले नुहाएपछि कपडा फेर्ने घर र सार्वजनिक शौचालय नहुँदा समस्या भएको उनको गुनासो छ । नदीमा नुहाउने स्थान व्यवस्थित नहुँदा तीर्थालुले सास्ती भोग्दै आएको उनले सुनाए ।


झाँक्रीनाचको रौनक

जनैपूर्णिमाको अवसरमा जिल्लाका विभिन्न गाउँमा झाँक्रीनाचको रौनक बढेको छ । पूर्णिमाका अवसरमा जिल्लाका ग्रामीण क्षेत्रमा दमाहा, नरसिंहालगायत बाजा बजाउँदै विभिन्न मन्दिरमा झाँक्री नाच्ने चलन छ ।


पशुचौपाया चराउन लेकमा गएका सर्वसाधारण पूर्णिमाको मेला भर्न गाउँमा फर्कने गरेका छन् । लामो समयदेखि पूर्णिमाको अवसरमा मष्टा, गुरा, गौरा, कालिका, मालिकालगायत देवीदेवताका मन्दिरमा झाँक्री नाच्ने चलन रहीआएको कुलमष्ठा देवता प्रतिष्ठानका उपाध्यक्ष ज्ञानप्रसाद भट्टले बताए ।


उनका अनुसार सोरु गाउँपालिकाको फोतु र लिब्रुमा समेत मेला लाग्ने गर्छ । स्थानीयले पूर्णिमाको दिन बिहानै झाँक्रीलाई कर्णाली नदीमा नुहाउन लैजाने गर्छन् । नदीबाट फर्किएका झाँक्रीले मन्दिरमा पूजापाठ गरेपछि नाच देखाउने चलन छ ।


गुरा देवताका झाँक्री भक्तबहादुर शाहीले पूर्णिमाको दिन रातभर मन्दिरमा दियो बाल्ने, बाजा बजाउने र दिउँसो झाँक्री नाच्ने गरिएको जानकारी दिए । उनका अनुसार श्रावण पूर्णिमाको दिनदेखि सुरु भएको गुरा देवताको पूजा असोज पूर्णिमासम्म चल्ने गरेको छ ।


‘पूर्णिमाको अघिल्लो रात देउडा गाएर रमाइलो गर्ने र भोलिपल्ट झाँक्री नाच्ने चलन पुर्खौदेखि चलिआएको छ,’ उनले भने, ‘पूर्णिमा नाचको मुख्य विशेषता नै झाँक्रीनाच हो ।’ उनका अनुसार अन्यायमा परेका व्यक्तिले घाँटीमा दाम्लो बाँधेर मन्दिरमा गइ देवतासँग न्याय माग्ने गरेका छन् ।


छायानाथ नगरपालिकाको भामबाडा, ढुम, कार्कीबाडा, तुम, रोवातल्लेख, झाकोटलगायत दर्जन गाउँमा पूर्णिमाको अवसरमा मेला लागेको ढुम गाउँका झाँक्री कालीबहादुर रोकायाले बताए । उनका अनुसार मेलाकै अवसरमा एकदशीको दिनदेखि झाँक्रीले एक छाक खाना खाने चलन छ ।


छायानाथ र ऋणीमोक्षको पूजापाठ सकेर शिवजीको ‘गाथ’ जनैपूर्णिमाको दिन चैन गाउँको छायानाथ मन्दिरमा ल्याइने पूजारी लक्ष्मीप्रसाद चौलागाई बताउँछन् ।

प्रकाशित : श्रावण ३१, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?