कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्ले थेरापी’ प्रदर्शनी

कान्तिपुर संवाददाता

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ महाविद्यालयको आयोजनामा सदरमुकाम खलंगामा ‘प्ले थेरापी’ प्रदर्शनी सुरु भएको छ । अस्पताल परिसरमा नर्सिङ तेस्रो वर्षका विद्यार्थीले बालबालिकाका लागि ‘प्ले थेरापी’ प्रदर्शनीको आयोजना गरेका हुन् । 

शुक्रबारदेखि सुरु प्रदर्शनीको हजार बढी विद्यार्थीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा ५ स्टल राखिएका छन् ।


बालबालिकालाई उमेर समूहअनुसार विभिन्न खेल सामग्री प्रयोग गर्न सिकाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । १९ वर्षसम्मका किशोरी–किशोरी र बालबालिकालाई उनीहरूको सर्वाङगीण विकासका लागि खेल सामग्री आवश्यक पर्ने भएकाले कार्यक्रमको आयोजना गरिएको महाविद्यालयले जनाएको छ । खेल सामग्रीले पठनपाठनमा सहयोग पुग्ने आयोजकको भनाइ छ ।


नर्सिङका विद्यार्थीले आफूले पढेका र सिकेका सीप प्रयोग गरी प्रदर्शनीको आयोजना गरेका हुन् । बालबालिकाको शारीरिक र मानसिक विकासका लागि खेलौना महत्त्वपूर्ण हुने प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले बताए ।


‘धेरैजसो अभिभावकले आफ्नो बालबालिकाका लागि खेलौना खरिद गर्ने गरे पनि प्रयोगमा समस्या देखियो,’ उनले भने, ‘प्रदर्शनीमा बालबालिकाको सर्वाङगीण विकासमा सहयोग पुग्ने सीपबारे पनि जानकारी गराइएको छ ।’ बालबालिकालाई अतिरिक्त क्रियाकलापमा संलग्न र सक्रिय बनाउन पनि कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।


कार्यक्रममा स्थानीय सामग्रीबाट खेलौना र शैक्षिक सामग्री बनाउने विधिबारे पनि सिकाएको डाँगीले जानकारी दिए । सबै खेलौना विद्यार्थीले स्थानीय स्रोत र साधनबाट निर्माण गरेको महाविद्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?