कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिवाखाजाको ४८ लाख फिर्ता

रुकुम पश्चिम — विभिन्न विद्यालयमा सञ्चालित दिवाखाजा कार्यक्रमको बजेट पुरै खर्च हुन नसकेर करिब आधा करोड फिर्ता भएको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा विद्यालयबाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यसाथ सञ्चालित कार्यक्रमको बजेट खर्च हुन नसकी फिर्ता भएको हो ।

गत आर्थिक वर्षमा ९३ विद्यालयमा अध्ययनरत १० हजार १ सय ९५ विद्यार्थीका लागि १ करोड ६४ लाख रुपैयाँ आएको थियो । उक्त रकममध्ये ४८ लाख ८८ हजार रुपैयाँ खर्च हुन नसकेको जिल्लास्थित शिक्षाका लागि खाद्य कार्यक्रम इकाइले जनाएको छ ।


साउन, कात्तिक र चैतमा विद्यालय बन्द हुने हुँदा लक्ष्यअनुसार दिवाखाजा खुवाउन नसकिएको इकाइ प्रमुख लीलानाथ सुवेदीले बताए । बजेट बनाउँदा १२ महिनाकै बनाउने भए पनि व्यावहारिक रूपमा तीन महिना पठनपाठन कम हुने हुँदा खाजा पनि कम ख्वाइने उनको भनाइ छ । ‘परीक्षाका बेला पनि कम खाजाको प्रयोग हुने गर्छ,’ उनले भने, ‘यसले गर्दा विद्यार्थीले खाजा खान नपाएर भन्दा पनि पर्याप्त बजेट आएर खर्च हुन नसकेको हो ।’


जिल्लाका पाँचवटा केन्द्रबाट दिवाखाजाका सामग्री वितरण गर्ने गरिन्छ । मुसीकोट नगरपालिकाको चौखाबाङ, आठबीसकोट नगरपालिकाको आठबीसकोट, गोतामकोट, सानीभेरी गाउँपालिकाको गरायला र बाँफिकोट गाउँपालिकाको झुला वितरण केन्द्रबाट दिवाखाजाका लागि चामल, दाल, तेल र नुन वितरण हुँदै आएको छ ।


९३ विद्यालयमा सामग्री वितरण गर्न यी केन्द्र पर्याप्त छैनन् । सबै विद्यालयलाई सजिलै सामग्री ढुवानीका लागि वितरण केन्द्र थप्ने निर्णय भएको इकाइ प्रमुख सुवेदीले बताए । हालका केन्द्रबाट सबै विद्यालयमा वितरण गर्न असजिलो भएको भनेर बाँफिकोट गाउँपालिकाको नदुवा, आठबीसकोट नगरपालिकाको खदी र बाँफिकोट र साँख वितरण केन्द्र बनाउने निर्णय गरिएको छ ।

यद्यपि निर्णयबारे केन्द्रले केही पठाएको छैन ।


एक वर्षअघि २०७५ असार २९ गते बसेको रुकुम पश्चिमको जिल्ला खाद्य समन्वय तथा अनुगमन समितिको बैठकले वितरण केन्द्र थप्ने भनेर निर्णय गरी केन्द्रमा सिफारिस गरेको थियो । दिवाखाजा सञ्चालित विद्यालयमा प्रतिविद्यार्थी दैनिक ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, २ ग्राम नुन राखेर जाउलो बनाएर विद्यार्थीलाई खुवाइन्छ ।


यसबाट विद्यार्थीलाई दैनिक ३ सय ९० किलो क्यालोरी प्राप्त हुन्छ । एउटा विद्यार्थीका लागि आवश्यक पोषणसहितको खाजा बनाइएको हुन्छ । त्यसका अलावा कतिपय विद्यालयमा विद्यार्थी आफैंले सागपात उत्पादन गरेर खाजासँग खाने गरेका छन् । विद्यालयबाहिर रहेका विद्यार्थीलाई भित्र्याउने तथा विद्यार्थीको पोषणमा सुधार ल्याउने भन्दै जिल्लामा २०५२ सालदेखि यो कार्यक्रम सुरु भएको थियो ।

प्रकाशित : भाद्र १, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?