१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भीमा मृत्यु प्रकरण : क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

तृप्ति शाही

वीरेन्द्रनगर — गत बिहीबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको शव अझै प्रदेश अस्पतालमा छ । उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले बताएका छन् ।

भीमा मृत्यु प्रकरण : क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

मृतकका परिवारले पत्रकार सम्मेलन गर्दै डाक्टरहरूकै लापर्बाहीले भीमाको मृत्यु भएको र अस्पतालले पीडितको गुनासो सुनुवाइ नगरेको भन्दै शव नबुझ्ने बताएका हुन् । उनीहरूले शव अस्पतालमै छोडेर दैलेख फर्किने बताएका छन् ।

सामान्य पेट दुखाइसम्बन्धी समस्या भई हिँडेर अस्पताल पुगेकी उनलाई डाक्टरले पेटमा ३ महिनाको सालनाल रहेको बताए । त्यसपछि सामान्य सफाइ गर्नुपर्ने भनी अस्पताल भर्ना गरिएको भीमाका बुबा गोविन्दबहादुर गुरुङले बताए ।

उपचारअघि डाक्टरहरूले यो केस सामान्य हो भनेर भनेका पनि उनले बताए । पछि एक्कासि छोरीको मृत्यु भएको खबर अस्पतालले सुनाएको उनले बताए । घटनापछि अस्पतालका निर्देशक डा. डम्बर खड्कासँग छलफल हुँदा यो केस हजारौँमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ दिएका मृतकको परिवारले जनाएको छ ।

पीडित परिवारले ७ महिने दुधे बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्यमध्ये १ जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेन्टी र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राखेको छ । अस्पतालले अहिलेसम्म भीमाको मृत्युबारे आफ्नो धारणा भने सार्वजनिक गरेको छैन ।

प्रकाशित : वैशाख ६, २०८१ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?