२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

बालबालिकाको पढ्ने रहर बढाउँदै पढाइकुना

डीबी बुढा

जुम्ला — कनकासुन्दरी-७ की जीवना कार्की अहिले घरमै बच्चा पढाउन व्यस्त छिन् । सानै उमेर भएकोले स्कुलसम्म जान नसक्ने उनको ४ वर्षीय छोरा आभास कार्कीलाई घरभित्रै पढाइकुनो बनाइदिएर पढाइरहेकी हुन् । उनको एक कोठा पढाइकुनाको लागि छुटाइएको छ । जहाँ शैक्षिक सामाग्रीहरुको व्यवस्था छ । 

बालबालिकाको पढ्ने रहर बढाउँदै पढाइकुना

शैक्षिक सामग्री टाँसेर सिकाइमैत्री कोठा बनाइएको छ । उनको छोरा आभाष घरभित्र प्रवेश गर्ने बित्तिकै पढाइ सुरु गर्ने माहोल बन्ने गरेको छ । कापी, कलम र पोशाक पढाइकुना भएकै कोठामा राख्ने व्यवस्था छ । स्कुल निकै टाढा भएकोले उनलाई पढाइकुनाको मर्म अनुसार पठनपाठन गरिएको उनको आमा जीवनाले बताइन् ।

विद्यालयमा जान नमान्ने,किताबहरु लेखपढ गर्न नमान्ने आभाषको बानीमा सुधार भएको छ । पढाइ कुनाले बालबालिकामा पढ्ने रहज बढाएको जीवनाको अनुभव छ । पहिले पढाइ कुना भन्ने थाहा नै भएन् । विद्यालयमै पठाउन जोड गरियो । उनले भनिन्, ‘अहिले त पहिलो पाठशालाको रुपमा पढाइकुना बन्यो । ’

सिंजा-६ की ५वर्षीया सितली जैसी हरेक दिन विद्यालयबाट फर्किएपछि पढाइकुनामा बसेर गृहकार्य गर्छिन् । उनका लागि पढाइकुना निकै महत्वपुर्ण छ । कोठाका भित्ताहरुमा बाह्रखरी देखि विभिन्न चित्रहरु टाँसिएका छन् ।

‘पहिले पढाइकुना नहुँदा घरमा नियमित पढ्ने बानी थिएन । हिजोआज नियमित पढ्न मन लाग्छ’, सितलीले सुनाइन्,‘पढाइ कुना बनाइएको कोठामा पढ्न बस्दा अनेत्र जान मन लाग्दैन् । ’ पढाइकुनामा बसेर पढ्ने बालबालिका निकै जिज्ञासु र अध्ययनमा बढी चासो देखाउने गरेको अभिभावहरुले बताएका छन् । बालबिालकाले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी पढ्न मन पराउने गरेको स्थानीयले बताए ।

कनकासुन्दरीका आभाष र सिंजाकी सितली पढाइकुनामा पढ्ने प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता सयौं बालबालिकाले पढाइकुनामै बसेर लेखपढ गरिरहेका छन । हरेक दिन विद्यालयबाट घर फर्केपछि बालबालिकाहरु पढाइकुनामै रमाइरहेका देखिन्छन् । सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका तिन सय घरमा पढाइकुनाको व्यवस्था गरिएको छ ।

पढाइकुनामा बालबालिका पढिरहेका छन् या छैनन भन्ने बारेमा अभिभावकले सहजै निगरानी गर्न सक्ने भएकोले पनि पढाइकुना निकै प्रभावकारी मानिएको छ । नियमित गृहकार्य गर्ने र पढ्ने बानीको विकास हुनुका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा बढि ध्यान केन्द्रीत गरेको सिंजा-२ स्थित चुलेल गाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक जयलाल खत्रीले बताए ।

उनका अनुसार पढाइकुनामा पढिरहेको बालबालिका स्कुलमा पढाउन छिटो बुझ्ने र पढाइमा चासो राख्ने गरेको देखिएको छ । सिंजा क्षेत्रका स्थानीय तहले समन्वय गरेर प्लान इन्टरनेशनल नेपाल र पेस नेपालले पढाइकुनामा चाहिने शैक्षिक सामाग्रीहरु उपलब्ध गराएका छन् । कनकासुन्दरी गाउँपालिकामा त एक घर एक पढाइकुना अभियान नै चलेको छ ।

हिमामा १ सय २०, सिंजामा ६० र कनकासुन्दरीमा ९३ गरी दुई सय ७३ वटा पढाइकुना चलाइरहेको पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले जानकारी दिए । ‘विद्यार्थीको सिकाइस्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै बालबालिकाको सिकाइ सुधारका लागि पढाइ कुनाको सुरुवात गरिएको हो । पढाइ कुनाले बालबालिकामा घरमा पढ्ने बानी बस्नुका साथै दैनिक क्रियाकलाप समेत बदिलएको निर्देशक न्यौपाने बताउने गर्छन् ।

सिंजाका प्रमुख प्रशासकीय अधिकृत शंकर धिताल पढाइकुनाले बालबालिकाको पढाइ क्रियाकलापमा परिवर्तन ल्याएको बताए । बालबालिकाको सिकाइस्तरमा सुधार आएको छ,उनले भने ‘अभिभावक पनि बालबालिकाको पढाइप्रति सचेत हुनुभएको छ ।’ जुम्लाको सिंजा क्षेत्रका अधिकांस घरमा पढाइकुना सञ्चालनमा छन् । पढाइकुना स्कुल जान नसक्ने बालबालिकाको लागि निकै उत्तम मानिएको छ । उनीहरु अक्षर हेरेर,चित्रहरु हेरेर पढिरहेका हुन्छन् । बालबालिकाहरु पढाइकुनामै अक्षर चिन्ने,चित्रहरु बनाउने र वर्णन गर्न सकेर मात्र स्कुलमा जाने गरेका छन ।

प्रकाशित : वैशाख ६, २०८१ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?