कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयुर्वेदिक उपचार सेवा : विश्वास बढ्दो, सेवा घट्दो

मोहन शाही

डोटी — दिपायल डोटीकी ७६ वर्षीया भागिरथी कठायत ७ वर्ष अघिबाट बाथरोगको समस्याले थला परेकी थिइन् । गाउँकै मेडिकलमा सुई लगाएर केही राहत त पाउँथिन् तर समस्या फेरि बल्झिइरहन्थ्यो ।

आयुर्वेदिक उपचार सेवा : विश्वास बढ्दो, सेवा घट्दो

यो वर्ष भने उनी सुई लगाउन मेडिकल गएकी छैनन् । गत बिहीबार दिपायलस्थित आयुर्वेद औषधालयमा त्यही समस्या लिएर आइन् । मंसिरबाट साताको २ दिन आयुर्वेदिक औषधालयबाट पञ्चकर्म विधि (आयुर्वेदिक औषधिहरूको बाफ लगाएर उपचार गर्ने विधि) बाट उपचार सुरु गरिरहेको छ । उनले आयुर्वेदिक विधिबाट उपचार गराउँदा राहत मिलेको महसुस गरिन् ।


जाडोयाम सुरु हुनासाथ गाउँघरमा बुढापाकाहरूको व्यथा बढ्न थाल्छ । घुँडा, हातका जोर्नी, कम्मरलगायत शरीरका विभिन्न भागहरू दुख्न थाल्छन् । खपी नसक्नु दुखाइले ज्येष्ठ नागरिकहरू पिरोलिन थाल्छन् । कतिपय उपचार गर्दागर्दै थाक्छन् । दिनहुँको पिरलोले परिवारका सदस्यहरूले पनि कष्ट बेहोर्नुपर्ने अवस्था आइलाग्छ ।


डाक्टरहरू वृद्धावस्थामा बढी देखापर्ने जोर्नी दुख्ने समस्यालाई बाथ रोग भन्छन् । पछिल्लो समय बाथ रोगीहरूको आयुर्वेदिक उपचार विधितर्फ विश्वास बढ्न थालेको छ । तर उनीहरूको विश्वास बढेझैं सरकारले सेवा भने विस्तार गर्न सकेको छैन । बरु त्यस क्षेत्रतर्फ सरकारको लगानी घटदै गएको महसुस बिरामीहरू गर्न थालेका छन् ।


६० वर्षीया शारदा थापा पनि मेडिकलको सुई लगाएर थाकेको भन्दै उपचारका लागि आयुर्वेदिक औषधालयमा पुगेकी छन् । ‘पैसाको सत्यानास भयो तर रोगले सताउन छाडेन,’ शारदाले सम्झँदै भनिन्, ‘आयुर्वेद उपचारमा लागेपछि कम्मरमा सुन्निएको भाग सन्चो छ, राति निद्रा पनि पर्न लागेको छ ।’


भागिरथी र शारदा मेडिकलको उपचारभन्दा आयुर्वेदको उपचारबाट बाथ रोग लागेका बुढापाकाको विश्वास बढदै गएको बताउँछन् । गत साता आयुर्वेदिक औषधालय पुग्दा बाथरोगी बुढापाकाहरूको घुइँचो थियो । औषधालयमा कार्यरत वैद्य रतन बोहराले दिनमा १ सय जनासम्म रोगी आउने गरेको सुनाए । कार्यरत स्वास्थ्यकर्मीहरूलाई बाथ रोगीको उपचारका लागि भ्याईनभ्याई थियो ।


पहिलोपटक उपचारका लागि आएका शिखर नगरपालिका १ का दलबहादुर बोगटी भने उपचार सेवादेखि नै वाक्क भए । बिरामीको घुइँचो लाग्दा औषधालयमा सीमित कर्मचारीले काम चलाइरहेका थिए । दिउँसो १२ बजेबाट उपचारका लागि पालो कुर्दा ३ बजे मात्र उनले समय पाए । ‘यो विधिबाट उपचार ठिक हुन्छ भनेर गाउँदेखि खर्च गरेर आएँ,’ बोगटीले भने, ‘तर साँघुरो कोठा, न्यून स्वास्थ्यकर्मी देख्दा दिक्क लाग्यो ।’


आदर्श गाउँपालिका १, बाँझककानीकी ६३ वर्षीया गंगा खडकाले पनि सेवाप्रति चित्त बुझाइनन् । उपचारका लागि बुढेसकालमा दु:ख पाउनुपरेको उनको दुखेसो छ । ‘एउटै अँध्यारो कोठा रहेछ, पालो कुर्नुपर्ने,’ उनले भनिन्, ‘महिला/पुरुष सबैको त्यहीँ उपचार हुँदा लुगा फुकाल्न, फेर्न अप्ठ्यारो महसुस भयो ।’ उनले महिला/पुरुषका लागि बेग्लाबेग्लै स्वास्थ्यकर्मी र कोठा हुनुपर्ने माग राखिन् । उपचारका लागि आउने अधिकांशले उपचार विधिमा विश्वास बढे पनि सेवाप्रति असन्तुष्टि पोखे ।


के हो बाथ रोग

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सक शाखामा कार्यरत डा.चेतराज जोशीका अनुसार बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ ।


बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् । तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । १ सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो ।


गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए पनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।


संरचना र जनशक्ति अभाव

दिपायलस्थित जिल्ला आयुर्वेदिक औषधालयमा उपचारका लागि दिनहुँ बिरामीहरूको घुइँचो लाग्ने गरे पनि उपचार सामग्री, भौतिक संरचना र जनशक्तिको व्यवस्थापन हुन सकेको छैन ।


जिल्ला औषधालयमा रहेका ४ कोठामध्ये ३ वटा कार्यालयका अन्य काममा प्रयोग छन् । एउटा साँघुरो कोठामा मात्र बिरामीहरूलाई उपचार गर्नुपर्ने बाध्यता छ । उपचार सेवा प्रभावकारी गर्न जिल्ला औषधालयमा डाक्टरको दरबन्दी भए पनि पद रिक्त छ ।


पद रिक्त रहेको २ वर्ष भए पनि सरकारले डाक्टर खटाउन नसकेको बोगटीको भनाइ छ । यसअघि डा. चेतराज जोशी हुँदा आयुर्वेदिक विधिबाट बाथ रोगीको उपचार सेवा सुरु भएको थियो । डाक्टरको ठाउँमा अहिले कविराजकै भरमा कार्यालय सञ्चालन छ । १ डाक्टर, २ वैद्य, १ कविराज, १ लेखापाल र २ कार्यालय सहयोगी हुनुपर्नेमा अहिले वैद्य र कविराज कार्यरत छन् ।


भएन बजेटको सदुपयोग

संघीय सरकारले सुदूरपश्चिमका ९ वटै जिल्ला आयुर्वेदिक औषधालयलाई बाथ रोगीको उपचार सेवा प्रभावकारी बनाउन करारमा कर्मचारी राख्न २ लाख ११ हजार बजेट दिएको छ । बजेटको अख्तियारी भदौमै आइसके पनि कर्मचारी नियुक्त गरिएका छैनन् ।


८ कक्षा पास गरेको व्यक्तिका कर्मचारी राखेर सेवालाई नियमितता दिनुपर्ने निर्देशिकामा उल्लेख छ । थप प्रदेश सरकारलेसमेत २ लाख रुपैया कर्मचारीकै तलबका लागि दिने निर्णय गरेको छ । जिल्ला आयुर्वेदको बजेट दिपायल सिलगढी नगरपालिकाको खातामा छ ।


कर्मचारी नियुक्तिका लागि आयुर्वेदिक कार्यालयबाट सम्पर्क नै नभएको नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले बताए । उनले आयुर्वेदिक औषधालयमा तत्काल कर्मचारी राख्न पहल गरिने जानकारी दिए ।


मन्त्रालयले कर्मचारी नियुक्ति र उपचार सेवा विधिबारे निर्देशिका नै तयार पारेको छ । ‘अन्य जिल्लामा नियुक्ति गरेर सेवा प्रभावकारी हुँदै गएको छ,’ सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सक शाखामा कार्यरत डा.चेतराज जोशीले भने, ‘डोटीमा पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म भर्ना भएको छैन ।’


कर्मचारी नहुँदा बाथरोगीले दिनहुँ पाउनुपर्ने सेवा हप्तामा २ दिनमात्र पाइरहेका छन् । तर जिल्ला आयुर्वेदिक औषधालयकी कार्यालय प्रमुख विद्या देउवाले कर्मचारी छनोटबारे स्पष्ट जानकारी माथिल्लो तहबाट आउन नसक्दा राख्न नसकेको स्विकारिन् । केही दिनभित्र नै कर्मचारी राखेर दैनिक सेवा सुरु गरिने उनले प्रतिबद्धता गरेकी छन् ।


लगानी बढाइएको दाबी

सरकारले पछिल्लो समय आयुर्वेदिक क्षेत्रमा लगानी बढाइरहेको दाबी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको छ ।


मन्त्रालयको आयुर्वेदिक शाखामा कार्यरत डाक्टर जोशीका अनुसार कैलालीको गेटामा नेपालमै पहिलोपटक आयुर्वेदिक प्रतिष्ठान स्थापना गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै ५० लाखको लगानीमा गौरीगंगा नगरपालिकामा हर्बल गार्डेन, टीकापुरमा योग केन्द्र स्थापनाका लागि बजेट विनियोजन भएको छ ।


वन मन्त्रालयले पनि जडिबुटी र आयुर्वेदिक उपचार सेवा प्रभावकारी बनाउन १० करोड बराबरको जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापनाका लागि पहल भइरहेको जानकारी दिइएको छ ।

प्रकाशित : पुस १७, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?