कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोगबाट जोगियो आलु

गणेश चौधरी

टीकापुर — हरेक वर्षझै यतिबेला डढुवा रोगले आलु सखाप हुने भए पनि यो वर्ष भने जोगिएको छ । शीतलहर नचलेपछि आलु जोगिएको हो ।

रोगबाट जोगियो आलु

दिनहुँजसो घाम लाग्ने भएकोले यो वर्ष आलुमा डढुवा रोग देखिएको छैन । घाम नलाग्दा आलु नफल्दै बोट तथा पात कालो भई आलु मर्ने गर्छ । जसलाई कृषि प्राविधिकहरू डढुवा रोग लागेको भन्छन् ।


विगतका वर्षभन्दा यो वर्ष आलुको उत्पादन राम्रो हुने किसानहरू बताउँछन् । टीकापुर नगरपालिका–१ का किसान पदम सापकोटाले यो वर्ष आलु राम्रो फस्टाएको बताए । उनले भने, ‘यो वर्ष शीतलहर चलेको छैन । आलुको उत्पादन राम्रो होला भन्ने आशा छ ।’


कृषि प्राविधिकका अनुसार समयमा सिँचाइ तथा फंगिसाइड नछर्नाले आलुमा पछौटे डढुवा लाग्ने र आलु बाली नोक्सान हुने गर्छ । डढुवा रोगबाट जोगाउन समयमै झारपात सरसफाइ र उकेरा लाउन पनि जरुरी रहेको प्राविधिकहरू बताउँछन् ।


यसपालि चिसो बढे पनि दिउँसो राम्रैसँग घाम लाग्नाले किसानको आलु मरेको छैन । फंगिसाइडका लागि पनि धेरै रकम खर्चिनु नपरेको किसानहरू बताउँछन् । टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख गौरीशंकर गुप्ताका अनुसार पहिले किसानले मकै लगाएको डिहुवा (बारी) मा आलु लगाउने गर्थे । चिसो सुरु नहुँदै आलु फलिसक्थ्यो ।


अहिले धान काटेर आलु लगाउने गर्छन् । यसो गर्दा आलु लगाउने समयमा ढिलाइ हुने र आलु नफल्दै चिसो सुरु हुने हुँदा अधिकांश किसानको आलु मर्ने गर्छ ।


कृषि प्राविधिकका अनुसार करिब २० डिग्रभन्दा कम तापक्रम भएपछि आलुमा डढुवा रोगको संक्रमण हुने गर्छ । नगरपालिकाका कृषि शाखा प्रमुख गुप्ता भन्छन्, ‘आलु कि त चाँडै लगाउनुपर्छ । ढिलो लगाए समय समयमा फंगिसाइड छर्नुपर्छ ।’

प्रकाशित : पुस १९, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?