कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसोले भेडीगोठमा समस्या

दार्चुला — उच्च लेकाली भेकमा हिउँ जमेपछि भेडाबाख्राको चरन क्षेत्र घटेको छ । मंसिरबाट हिमाली भेकमा हिउँ जम्न थालेपछि भेडी गोठ बेंसी झरिसकेका छन् ।

प्रशस्त चरन क्षेत्र रहेको हिमाली भेकमा हिउँ जमेपछि बेंसी झरेका भेडीगोठहरूलाई चरन क्षेत्रको अभाव झेल्नुपर्दा अप्ठ्यारोमा परेको ब्याँस गाउँपालिका–२ दुम्लिङमा भेडापालन गर्दै आएका स्थानीय रामसिंह बुढाथोकीले बताए । भेडाबाख्राका लागि उपयुक्त चरन क्षेत्रमा अहिले हिउँ जमिसकेको छ,’ उनले भने, ‘हिउँ नजम्ने बेंसी क्षेत्रमा भेडाबाख्रालाई चराउन उपयुक्त ठाउँ पाइँदैन ।’


यहाँको नजिकका जंगली क्षेत्रमा अहिले स्थानीयले सामुदायिक वन बनाएका छन् । हिउँदमा मेलापाखामा घाँस पाइँदैन । बेंसीको अन्य क्षेत्रमा किसानहरूको खेतीपाती हुने हुँदा भेडापालन गरिरहेका मानिसहरूलाई पछिल्लो समय चरनको समस्या भोग्नुपरेको बुढाथोकीको भनाइ छ ।


पहिले प्रशस्त जंगल भएकाले जिल्लाका सबै ठाउँमा भेडाबाख्रा पालेको भेटिन्थे । तर, पछिल्लो समय ब्याँस, नौगाड, दुहु, अपीहिमाल गाउँपालिकाका विभिन्न ठाउँमा मात्रै भेडापालन हुने गर्छ । यहाँका स्थानीयले पुस्तौंदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले मौसम अनुसार हिमालदेखि पहाडसम्म चरनक्षेत्र खोज्दै भेडाबाख्रा डुलाउनुपर्ने व्यवसायी बताउँछन् । जंगल बढी भएको क्षेत्रमा भेडापालन व्यवसाय चलेकै छ र अन्य ठाउँमा उहिलेको जस्तो भेडीगोठ देख्न छोडेको दुहु गाउँपालिका–१ पिपलचौरीका जसमल महराले बताए ।


यो वर्ष हिमाली क्षेत्रमा जाडो अत्यधिक बढेको छ । चरनका लागि माथिल्लो क्षेत्र खुला हुने भए पनि हिउँदमा हिउँ जम्ने र तल्लो क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिले चरन उपलब्ध नगराउँदा हिउँदमा समस्या भोग्नुपरेको छ । यहाँका हिमाली क्षेत्रका बासिन्दाको पुख्र्यौली पेसा मानिएको भेडापालन पछिल्लो समय घट्दै गएको छ ।


कोही भने आफ्नो पेसालाई निरन्तरता दिइरहेका छन् । ‘जिल्लाको सडक नपुगेका दुर्गम भेकमा नुन, चामल, गुडलगायत वस्तु ढुवानी भेडाबाख्राबाटै गरिन्थ्यो,’ नौगाड १, एयरकोटका रामसिंह बडालले भने, ‘सबैभन्दा बढी ऊन प्रयोगमा आउँथ्यो । अहिले घटेको छ ।’

प्रकाशित : पुस २८, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?