कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोप हुँदै स्थानीय जातका कुखुरा

विभिन्न संघसंस्थाहरूले आयआर्जनका लागि भन्दै २० हजार बढी ब्रोइलर जातका कुखुरा वितरण गरेपछि स्थानीय जातका हराउँदै

बझाङ — आयातित विकासे जातका कारण गाउँघरमा पाइने स्थानीय कुखुरा लोप हुने अवस्थामा पुगेका छन् । विकासे जातभन्दा स्वादिलो र पोषिलो मानिने स्थानीय जातका कुखुरा अहिले देखिनै छाडेका छन् ।

‘लोकल जातका कुखुरा त छँदै छैनन् भन्दा पनि हुन्छ,’ बित्थड चिर गाउँपालिकाकी पशुसेवा प्राविधिक जीवनकुमारी खड्काले भनिन्, ‘जताततै विकासे जातका कुखुरा मात्र भेटिन्छन् । लोकलको त बीउ खोजे पनि नपाउने अवस्था भइसक्यो ।’


केही वर्षपहिला बझाङमा साकिने, दुम्से, लुइचे, घाँटी खुइले र प्वाँख उल्टे लगायत स्थानीय जातका कुखुरा प्रशस्त पालिन्थे । गाउँघरमा उपलब्ध हुने आहाराको भरमा पाल्न सकिने, स्थानीय वातावरणमा अनुकूलन हुन सक्ने कुखुराका जातहरू आजभोलि विरलै भेटिन्छन् ।


विभिन्न संघसंस्थाले जिल्लाभर नि:शुल्क बाँडेका कुखुराका कारण लोकल कुखुराका जातहरू लोप भएको स्थानीयले बताए । ‘गाउँमा विकासे कुखुरा आउन थाले,’ जयपृथ्वी नगरपालिका–१ कैलाशका गौरी दमाईले भने, ‘लोकल कुखुरा त कता हराए कता ?’ उनले ५ वर्षपहिले गाउँमा प्रशस्त पाइने लोकल कुखुरा अहिले देखिन छोडेको बताए ।


५ वर्षअघि स्थानीयको पोषण सुधारका लागि भनेर सुआहारा कार्यक्रमले साबिकका ४७ गाविसमा ५० हजारभन्दा बढी लेयर्स जातका कुखुराका चल्ला नि:शुल्क वितरण गरेको थियो । त्यस लगत्तै साबिकका १० गाविसमा कृषि तथा खाद्य सुरक्षा आयोजनाले अण्डा उत्पादनका लागि भनेर १५ हजार बढी लेयर्स जातकै कुखुरा बाँडेको थियो । यस्तै विभिन्न गाउँपालिका र संघसंस्थाहरूले आयआर्जनका लागि भन्दै २० हजार बढी ब्रोइलर जातका कुखुरा गाउँगाउँमा वितरण गरेको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।


आयातित जातको व्यवसायीकरण हुनु र स्थानीय जातको बजारीकरण गर्न नसक्नु लोकल कुखुरा लोप हुनुको मुख्य कारण भएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र प्रमुख पशुपति नाथले बताए । नि:शुल्क रूपमा गाउँगाउँमा उन्नत जातका कुखुरा बाँडिएका कारण पनि स्थानीय जातहरू लोप भएको बताउँदै उनले भने, ‘लोकल जात त छैन नै भन्दा पनि हुन्छ । लोकल जस्ता देखिने कुखुरा पनि वर्णशंकर हुन् । शुद्ध लोकल कुखुरा लोप भइसकेका छन् ।’


उनले हाल देखिने लोकल कुखुराको जिन परीक्षण गर्ने हो भने सबै वर्णशंकर रहेको बताए । उनले बाहिरबाट ल्याइएका कुखुरासँगै आएका नयाँ रोगका कारण पनि स्थानीय जातहरू लोप भएको जनाए । स्वादका हिसाबले उन्नत जातका कुखुराभन्दा लोकल कुखुरा बढी रुचाइने भए पनि यसको व्यावसायीकरण हुन नसक्दा लोप हुँदै गएको नाथको भनाइ छ ।


स्थानीय जातहरू लोप हुँदै जाँदा राष्ट्रिय सम्पत्तिको रूपमा रहेको जैविक वंशाणुगत स्रोत (एनिमल जेनेटिक रिसोर्स) समेत लोप हुने भएकोले यसको संरक्षण जरुरी रहेको उनको भनाइ छ । नेपालमा पाइने स्थानीय जातका कुखुराहरू अन्य देशमा नपाइने भएकोले पनि यसको संरक्षण र व्यावसायिकीरणमा सरकारले विशेष कार्यक्रमहरू संचालन गर्नुपर्ने उनले बताए ।

प्रकाशित : माघ १, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?