कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपहरित युवकको उद्धार

धनगढी — सहकर्मीकै अपहरणमा परेका धनगढीस्थित जलसा होटलमा कार्यरत गोदावरी नगरपालिका–६ का १७ वर्षीय बसन्त भाटलाई प्रहरीले मंगलवार सकुसल उद्धार गरेको छ । अपहरणमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । 

अपहरणमा परेको सूचना लगत्तै प्रहरीले भाटको मोबाइलमा फोन गरेको थियो । जवाफ आयो, ‘मोहना नदी किनारमा यो केटालाई गाड्दै छौं । अहिले फोन नगर ।’ प्रहरीले ‘हामी पुलिस हौं, तिमीहरूलाई देखिसकेका छौं, त्यो केटालाई केही गरेमा गोली ठोक्दिन्छौं’ भन्ने जवाफ दिएपछि अपहरणमा संलग्नहरू भाटलाई घटनास्थलमै छाडेर फरार भएका हुन् ।


धनगढीको मुख्य बजारस्थित जलसा होटलमा वेटरको काम गर्ने भाटलाई सोही होटलमा कार्यरत डोटी घर भई हाल धनगढी सन्तोषी टोल बस्दै आएका चक्र खडकाले अन्य ३ जना सहयोगीसहित अपहरण गरी हत्या गर्ने उद्देश्यले मोहना किनारमा पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ । भाट पनि वेटरकै रुपमा कार्यरत थिए ।


आफुलाई होटलबाटै तानेर दुई जनाले बुलेट बाइकमा राखेर मोहना जंगलमा पुर्‍याएको भाटले बताए । ‘बुलेट बाइकको बीचमा राखेर लगे । बाटोमा बेस्सरी कुटे । मोहना पुर्‍याएर केहीले गाड्छौ भने, अर्कोले झुन्ड्याउनुपर्छ भन्दै थिए । धन्न बाँचे,’ उनले भने ।


खडका र भाटका बीचमा होटलमै सामान्य विवाद भएको थियो । त्यही बहानामा खड्काले ‘देखाइदिन्छु’ भन्दै साथीहरूको समूह बोलाएर कुटपिट गरेको प्रहरीले जनायो । ‘अन्य ३ जना सहयोगी जुटाएर खडकाले भाटलाई बुलेट बाइकमा लछारपछार गर्दै मोहना नदी किनारको जंगलमा पुर्‍याएका थिए,’ वडा प्रहरीका निरीक्षक वकिलबहादुर सिंहले भने, ‘घटनाबारे तत्काल जानकारी पाएपछि ती युवकलाई उद्धार गर्न सफल भयौं ।’


आफ्नै सहकर्मीको अपहरण गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले मुख्य योजनाकार चक्र खड्का, धनगढी –२ का हर्केष बाघ र डोटीको आदर्श गाउँपालिका–७ का कुन्दन जोशीलाई पक्राउ गरेको छ । अपहरणमै संलग्न छत्र कठायत भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ २, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?