कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरिँदै लालझाडीका ताल

भवानी भट्ट

कञ्चनपुर — लालझाडी मोहना संरक्षित क्षेत्रमा पर्ने वनदेवी ताल बर्सेनि पुरिँदै गएको छ । वन्यजन्तु र चराचुरुंगीको पानी खाने प्रमुख ताल सुख्खायाम सुरु भएपछि घट्दै जान्छ । वैशाख जेठमा त वन्यजन्तुका लागि खानेपानीको हाहाकार नै हुन्छ । 
वनदेवी सामुदायिक वनभित्र यु आकारमा फैलिएको उक्त तालको संरक्षण हुन सकेको छैन ।

पुरिँदै लालझाडीका ताल

‘यहाँ पानी खान वन्यजन्तुसँगै धेरै प्रजातिका चराहरू आउँछन्,’ वनदेवी सामुदायिक वनका अध्यक्ष घनश्याम जोशीले भने, ‘गर्मीयाम सुरु हुँदा तालमा पानी सुक्न थाल्छ, त्यसपछि वन्यजन्तु पानी खोज्दै बस्तीतिर पस्छन् ।’ उनका अनुसार बर्सेनि ताल पुरिँदै जाने र रिचार्ज नहुँदा पानी सुक्ने समस्या आएको हो ।


चरा अवलोकनका लागि समेत उपयुक्त रहेको वनदेवि तालमा यस वर्ष मचान निर्माण गरिएको छ । तर, पानी सुक्दै गएपछि यहाँ आउने चरासमेत अन्तै विस्थापित भएर पर्यटक नआउने हुन् कि भन्ने चिन्ता स्थानीयको छ ।


लालझाडी क्षेत्रकै तरबरिया तालमा पनि सुक्खायाममा पानी बाँकी रहँदैन । माटो र पात भरिएर ताल पुरिँदै गएपछि केही वर्षयता पानीको अभाव चर्किएको हो । उक्त तालमा पनि हिउँदको जाडो छल्न आएका साइबेरियन चरासँगै वन्यजन्तु पानी पिउन आउँछन् । हिउँदमा पानी घट्न थालेपछि गर्मीमा वन्यजन्तुका लागि खानेपानीको हाहाकार हुन्छ ।


‘लालझाडी क्षेत्रका तालहरूमा पानी रिचार्जको व्यवस्था अनिवार्य हुनुपर्ने देखिन्छ,’ सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले भने, ‘तालहरूमा पानी नहँुदा वन्यजन्तु बस्तीतिर पसेर मानव र वन्यजन्तुबीच द्वन्द्वको अवस्था सृजना भएको छ ।’


उनले तत्काल पानी एकदम कम भएका तालहरूमा सोलारद्वारा पानी भर्ने व्यवस्था गर्नुपर्ने बताए । पश्चिम तराई भूपरिधि कार्यक्रम (ताल) को आर्थिक सहयोगमा यस वर्ष माकुर ताल सफा गर्नुका साथै विस्तार गरिएको छ । यहाँ पनि पर्याप्त मात्रामा पानी भने छैन । यो ताल हात्तीको पानी खाने प्रमुख ठाउँ हो । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट समेत हात्तीको बथान यहाँ पानी खान आउने गरेको स्थानीय बताउँछन् । तर पछिल्ला वर्षमा उक्त तालमा पनि पानी घट्दै गएको छ ।


संरक्षित क्षेत्रभित्रका तालहरूमा पानी घट्दै गएपछि वन्यजन्तुहरू पानी खोज्न वस्तीतिर पस्न थालेको तालका सह प्रबन्धक गौतम पौडेलले बताए । ‘यसैले मानव र वन्यजन्तुबीच द्वन्द्वको अवस्था आउने गरेको छ,’ उनले भने, ‘लालझाडी संरक्षित क्षेत्रभित्रका तालहरूमा पानी भर्नका लागि वैकल्पिक उपायहरू अपनाउन आवश्यक छ ।’


लालझाडी क्षेत्रमा चित्तल, नीलगाई, बँदेल, हात्ती लगायतका वन्यजन्तुसँगै विभिन्न प्रजातिका चरा चुरुंगीहरू छन् । सामुदायिक वन समन्वय समितिका अध्यक्ष पन्तकाअनुसार यहाँ ठुला साना गरी डेढ दर्जन जति ताल छन् । सबै तालहरूमा माटो तथा पातहरू भरिएर पानी घट्दै गएको छ । सोलारद्वारा पानी भर्न सके तालमा बाह्रै महिना पानी भरिने उनले औंल्याए ।

प्रकाशित : माघ २, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?