कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभा बैठक : हिउँदे अधिवेशन सुरु

सरकार गतिहीन : प्रतिपक्ष

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । तेस्रो अधिवेशनको पहिलो बैठकमा बोल्ने विपक्षी दलका सांसदहरूले सरकार गतिहीन भएको बताएका छन् । सत्तारुढ दलका सांसदहरूले भने सरकारको बचाउ गर्दै आफ्ना भनाइ राखे ।

प्रदेशसभा बैठक : हिउँदे अधिवेशन सुरु

प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सरकारले संसद्लाई बिजनेसविहीन बनाएको आरोप लगाए । उनले बजेट कार्यान्वयनमा पनि सरकारले ख्यालै नगरेको भन्दै चिन्ता जनाए । ‘आर्थिक वर्षको ६ महिना त्यत्तिकै बित्यो, अहिलेसम्म योजना कार्यान्वयनको सुरसार देखिँदैन,’ रावलले भने, ‘सरकारले कामै नगरी बस्दा नागरिकमा निरासा बढदै गएको छ ।’


अर्कोतिर सरकारले प्रदेशसभालाई समेत काम नदिएकोमा उनले गुनासो गरे । ‘सरकारले संसद्को मतलबै गरेन,’ उनले भने, ‘दुई तिहाइको सरकार छ, जे गरे पनि चल्छ भन्ने मनोविज्ञान देखियो ।’ अर्कोतिर डल्लो बजेटको पनि अत्तोपत्तो नभएकोप्रति पनि गुनासो गरे । ‘रातो किताबभन्दा बाहिर गएर सयौं योजना बनाइएको छ,’ उनले भने । उनले गोदावरीमा राजधानी राख्ने कुराले चुरे जोखिममा पर्ने औंल्याए ।


कांग्रेसकै अर्का सांसद भरतबहादुर खडकाले प्रदेश सरकारले पहिलो चौमासिकमा शून्य दशमलव ८ प्रतिशत बजेट खर्च गर्न सक्नु लज्जास्पद भएको बताए । ‘यहाँका जनतालाई सरकार छ/छैन भन्ने जस्तो महसुस हुन थाल्यो ।’ हामी प्रतिपक्षी दलले बारम्बार दिएका सुझावलाई पनि सरकारले निरन्तर लत्याउँदै गएकोमा उनले गुनासो गरे । ‘काममा सरकार गम्भीर हुन नसकेकाले संघीय प्रणालीमै वितृष्णा उत्पन्न हुने अवस्था आउनै थाल्यो,’ प्रदेशसभा बैठकमा उनले भने ।


अर्का प्रतिपक्षी दल राजपाकी सांसद मालमती रानाले गोदावरीमा राजधानी बनाउने निर्णयमा पुनर्विचार गरिनुपर्नेमा जोड दिइन् । ‘रेशम चौधरीलाई सांसदको शपथ गराएर पुन: खोरमा पठाइएको घटना नेपालको इतिहासमै पहिलोपटक भएको घटना हो,’ उनले भनिन् ।


प्रतिपक्षी दलका सांसदहरूले सरकारले कामै गर्न नसकेको दाबी गर्दा सत्तारुढ दलका सांसदहरूले भने प्रतिपक्षी दलका सांसदहरूका भनाइको प्रतिवाद गरेका छन् । बैठकमा बोल्ने सत्तारुढ दल नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, वीरभान चौधरी र मानबहादुर धामीले सरकारको काम सन्तोषजनक रहेको दाबी गर्दै आफ्ना भनाइ राखेका हुन् । ‘प्रदेश सरकारले शून्य संरचनाबाट काम सुरु गर्नुपर्दा केही ढिलाइ भए पनि राम्रो काम गर्ने प्रयास गरिरहेको छ,’ प्रमुख सचेतक तामाङले भने, ‘निराश भइहाल्नुपर्ने अवस्था छैन ।’ बैठकमा ६ सांसदले आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित : माघ ५, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?