कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक पुगे पनि खच्चडकै प्रयोग

मेनुका ढुंगाना

अछाम — सडकले अधिकांश गाउँलाई छोएको भए पनि पूर्वी अछाममा भने दैनिक उपभोग्यका सामग्री ढुवानी गर्न खच्चडकै प्रयोग हुने गरेको छ । अछाममा सडक सञ्जालले नछोएका वडा कमै छन् । जिल्लाको भुलु, रहफ, खप्तड र बस्तीलगायतका केही ठाउँमा सडक पुग्न बाँकी छ । 

कर्णाली प्रदेशसंग निकट सम्बन्ध रहेका अछामको पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकाका अधिकांश गाउँमा सडक पुगेको भए तापनि सामान ढुवानी गर्न खच्चडकै प्रयोग हुने गरेको यहाँका स्थानीय बताउँछन् । चामल, चिनी, तेल, नुन, ग्यास, दाललगायत खाद्यान्न तथा लत्ताकपडा, पुस्तक र सिमेन्ट, छडलगायत विकास निर्माण सामग्री घोडा–खच्चडबाटै ढुवानी गर्ने गरिएको तुर्माखाद ६ का शिवराज बढुाले बताए ।


‘गाउँमा सडकले नछोएको होइन । तर, गाडी कहिल्यै चल्दैनन् । मेरो गाउँमा सानो व्यापार छ । खच्चड मालिकसँग सम्पर्क गर्दा भनेकै समयमा सामान ढुवानी गरिदिन्छन्,’ उनले भने, ‘सडक खन्न डोजर प्रयोग गरिन्छ त्यसपछि कुनै गाडी चलेको देखिदैन् । सडक पनि बाँझो जग्गाजस्तै भएका छन् ।’ खच्चडबाट ढुवानी गर्दा निकै महँगो पनि पर्ने उनले बताए ।


जिल्लाको बलाता, नाडा, तोषी, ऋषिदह, शोडषा, रहफ, ढुंगाचाल्ना, हिच्मालगायतका साविकका गाविसमा सामानको मूल्यभन्दा ढुवानी महँगो हुने गरेको स्थानीयले गुनासोसमेत गर्दै आएका छन् । जिल्ला सदरमुकाम मंगलसैनमा सय रुपैयाँ पर्ने सामान नेपालगन्ज सुर्खेतबाट ढुवानी गरेको कारण देखाउँदै पूर्वी अछामका दुर्गम गाउँहरूमा ३ सय रुपैयाँसम्म पर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।


अछामका दुर्गम गाउँसम्म यातायातको सहज पहुँच नहुँदा सामानभन्दा ढुवानी महँगो भएको खच्चड व्यवसायी दिलबहादुर रोकाले बताए । भौगोलिक विकटताको कारण खच्चडमा ढुवानी गर्दा दैनिक उपभोग्य सामानमा चर्को मूल्यवृद्धि हुने गरेको छ ।


सदरमुकाम मंगलसैनबाट दुर्गमका गाउँसम्म ढुवानी गर्न दाल, नुन चामल र चिनीमा प्रतिकिलो ६० देखि सय रुपैयाँसम्म खर्च लाग्ने गरेको रोकायाले बताए । तर, ढुवानी महँगो भएपछि सामानको मूल्य तेब्बरसम्म बढाउनुपर्ने बाध्यता रहेको स्थानीय व्यापारी पूर्णबहादुर विकले बताउँछन ।


‘सदरमुकाममा ९ रुपैयाँमा पाउने नुनको एक पोकामा हामीले ४० रुपैयाँ हाल्दा पनि सहज रूपमा पाइँदैन,’ ढकारी गाउँपालिका ५ बलाताका रमिला साउँदले भनिन्, ‘थोरै सामान गाउँमा ल्याउन गाडी रिजर्भ नै गर्नुपर्छ । त्यसरी रिजर्भ गर्न पनि सकिँदैन, सुर्खेत हुँदै खच्चडमा सामान ढुवानी गर्ने चलन अझै हटेको छैन ।’


आधुनिक प्रविधिको विकाससँगै सडक र सवारीसाधनको सुविधा विस्तार भइरहेको बेला अछामका ग्रामीण भेगहरूमा भने अझै पनि ढुवानीका लागि घोडा खच्चड नै सामान बोक्ने सवारीसाधनका रूपमा प्रयोग हुँदै आइरहेको ढकारी गाउँपालिका ६ का वडासदस्य माने साउद बताउँछन् ।


‘गाउँमा कहीँकतै ट्रयाक्टरसम्म हिँड्ने सडक पुगे पनि वर्षातका कारण अवरुद्ध भएपछि घोडा खच्चड नै ढुवानीको प्रभावकारी माध्यम बनेको छ,’ उनले भने, ‘लामो दूरीबाट घोडा खच्चडमा दैनिक उपयोगका सामानसँगै उपभोग्य सामग्रीहरूसमेत ढुवानी हुने गरेका कारण सामानको भाउ पनि सदरमुकामको भन्दा दोब्बर बढी हुने गरेको छ ।’


६ गाउँपालिका र ४ नगरपालिका रहेको अछाममा अधिकांश क्षेत्रहरू अति दुर्गम गाउँहरूमा रहेका छन् । गाउँ र नगरपालिकाका केन्द्रबाट प्रशासनिक तथा व्यापारिक केन्द्र र सदरमुकामसम्म मात्र सवारीसाधनहरू चल्ने गरेका छन् ।


सामानमा अत्यधिक मूल्य वृद्धि हुँदा पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । सदरमुकाम मंगलसैनमा अनुगमन, मूल्यसूची टाँस्ने र म्याद नाघेका दैनिक उपभोग्य सामान बिक्रीवितरणमा प्रतिबन्ध लगाउनेजस्ता काम भए पनि दुर्गम गाउँमा भने ५ वर्षअगाडि म्याद गुज्रिएका सामान पनि उपभोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बृकेश बुढाले बताए ।

प्रकाशित : माघ ६, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?