सामुदायिक विकासमा निगरानी

मोहन शाही

डोटी — मादक पदार्थ सेवनले गाउँमा सृजित विकृति, शैक्षिक समस्या, विभिन्न योजनाहरूमा भइरहेका अनियमितता, फोहोर व्यवस्थानदेखि वनजंगलमा हुने विवाद सुल्झाउन सामाजिक कार्यकर्ता अग्रसर भएका छन् ।

दिपायल सिलगढी नगरपालिका र केआईसिंह गाउँपालिकाका नागरिक समाजका प्रतिनिधि यस्ता समस्या समाधानका लागि एकजुट भएका हुन् ।

केआईसिंह गाउँपालिका–५ रानागाउँका समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी युवा तथा महिलाको बैठकले मदिरा नियन्त्रण तथा व्यवस्थापनका लागि वडा कार्यालयमार्फत गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ । ‘महिलामाथि ज्यादती बढेको छ, मदिरा र जुवातासले समाज नै अपांग बनाएको छ,’ शनिबार वडा कार्यालयमा भएको रानागाउँ स्थानीयसभाको बैठकमा स्वयंसेविका यशोदा शर्माले भनिन्, ‘यो सवाल महिलाको मात्रै नभई स्थानीय सरकारको पनि हो । यसमा हामी सरकारलाई सहयोग गर्न संगठित हुन तयार छौं ।’ नागरिक समाजले मदिरा व्यवस्थापनका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

विभिन्न क्षेत्रमा आबद्ध नागरिक समाजका प्रतिनिधिले रानागाउँ स्थानीयसभा गठन गरेका छन् । उनीहरू भेला भएर गाउँघरका समस्याबारे नियमित छलफल गर्दै आएका छन् । छलफलमा चालु आर्थिक वर्षका लागि प्रदेश सरकारबाट विनियोजित बजेट स्थानीय सरकारसँग समन्वय नगरी कार्यान्वयन गर्न लाग्दा आइपरेका अन्योलबारे पनि कुरा उठेको थियो ।

प्रदेश सरकारसँग योजना छनोट तथा कार्यान्वयन गर्नका लागि बनाइएको कार्यविधि सूचनाको हक प्रयोग गरी माग्ने निर्णयसमेत बैठकबाट गरेका छन् । ‘अब जनप्रतिनिधिहरूको टाउकोमा मात्रै काम गरेनौं भनेर आरोप थोपार्ने होइन,’ गाउँका अगुवा गणेश शाहीले भने, ‘हामी आफैं पनि उहाँहरूले के–कस्ता काम गरिरहनुभएको छ, सहयोग के चाहिन्छ भनेर रचनात्मक भूमिका पनि खेल्ने हो ।’ उनीहरूले गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि सामुदायिक विद्यालयहरूमा तथा वडामा सञ्चालित विभिन्न योजनाहरूको स्थलगत अनुगमन गर्न कार्यदलसमेत गठन गरेका छन् । भू–संरक्षण कार्यालयद्वारा सञ्चालित जलवायु अनुकूलन कार्यक्रमअन्तर्गतका योजनाहरू पारदर्शी नभएको, मनपरी योजनाहरू बनाउँदा पानीका मूलहरू सुक्न थालेको लगायत समस्याहरूबारे छलफलमा कुरा उठेकाले सत्यतथ्य बुझ्न नागरिक समाजका प्रतिनिधिहरू सक्रिय भई अनुगमन समिति
गठन गरिएको शिक्षक जितबहादुर रावलले बताए ।

विद्यालयहरूको अनुगमन गर्नका लागि दुर्गासिंह रावलको संयोजकत्वमा वडा सदस्य ममता सार्की, चेतबहादुर रावल, रानागाउँ स्वास्थ्य चौकीका विश्वेश्वर यादव र समाजसेवी गणेश शाही रहनेगरी ५ सदस्यीय समिति गठन गरिएको शिक्षक यज्ञ पार्कीले बताए । उनले नागरिक समाजबाट छलफलका क्रममा गाउँघरमा भएका समस्याहरूबारे कुरा उठेपछि अनुगमन समिति गठन गरेको बताए । त्यस्तै जलवायु अनुकूलन कार्यक्रमको योजनाहरूको अनुगमन गर्न सोपान रावलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका छन् ।

बैठकमा सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने, विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने, निशुल्क शिक्षा दिनुपर्ने र शिक्षकहरूलाई जवाफदेही बनाउनुपर्ने सवालहरू उठेका थिए । वडाध्यक्ष रामचन्द्र राणाले आफ्नो पालिकाले संघीय सरकारले शिक्षा नीति नबनाई स्थानीय तहमा शिक्षा नीति नबनाउन परिपत्र जारी गरेकाले पालिका तहमा शिक्षा नीति बनाउन नसकिएको जानकारी गराए । शिक्षाको गुणस्तरप्रति उठेको चासोलाई सम्बोधन गर्नका लागि वडाध्यक्ष राणाले अुनगमन समिति गठन गर्न प्रस्ताव गरेका थिए ।

दिपायल सिलगढी नगरपालिका–३ मा रहेका नागरिक समाजले गाउँसँगै जोडिएको सुदूरपश्चिम पृतनालयको वनबारे छलफल सुरु गरेका छन् । गाउँको सिरानीमा रहेको वनमा नेपाली सेनाले चादमारी सैन्य अभ्यास गर्दा पहिरो जाने तथा पानीका मूल सुक्न थालेकाले सो सवालमा पैरबी गर्ने निष्कर्षमा पुगेका छन् । त्यस्तै वडा नम्बर ४ स्थित सुजङ्ग अस्पतालले फोहोर व्यवस्थापन गर्न नसक्दा छिमेकी बस्तीहरूमा दुर्गन्ध फैलन लागेको उनीहरूले बताए ।

प्रकाशित : माघ ८, २०७५ ०९:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डोटीको एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन्

मोहन शाही

डोटी — हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि.... गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो ।

यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। गाउँ नजिकैको सिल्लभीरमा पहिरो जाँदा कुनै जनधन क्षति हुँदैन, बरु गाउँलेको आयस्तर बढ्छ। यो भीरमा पहिरो जाँदा घरमा छाना छाउन प्रयोग हुने पत्थर खस्ने भएकाले गाउँले खुसी हुने गरेका हुन्। खसेका पत्थरले छानो छाए पनि भयो अथवा बजार लगेर महँगो मूल्यमा बेचे पनि भयो। जे भए पनि पहिरो आयो कि गाउँमा रौनक छाइहाल्छ। पहिरो खस्नेबित्तिकै तँछाडमछाड सुरु भइहाल्छ— पत्थर बटुल्न।

सौखोलाकी ६८ वर्षीया गौमती बोहरा १३ वर्षको उमेरदेखि पत्थर संकलनको काम गरिरहेको अनुभव सुनाउँछिन्। अहिले शारीरिक कमजोरीका कारण पहिरो छेउछाउ सासू गौतमी जान नसके पनि बुहारी रतना परिवारका सदस्यको हुल लिएर पत्थर संकलनमा जाने गरेकी छन्। ‘कलिलै उमेरमा बिहे गरी सौखोला आएँ,’ गौमतीले भनिन्, ‘पहिरो आएको दिन परिवारका सबै सदस्य पत्थर संकलन गर्छन्।’

गिरीचौकाको यो पत्थर डोटी, बझाङ र बैतडीका विभिन्न क्षेत्रमा निर्यात हुने गरेको छ। तर, पत्थर बटुल्ने होडमा खतरा नभएको पनि होइन। पत्थर संकलन गर्ने क्रममा विगतमा ३ जना गाउँलेको मृत्यु भइसकेको छ।

सिल्लभीर नजिक गाउँ छैनन्। यहाँ बर्सेनि सुक्खा पहिरो जाने गर्छ। यो अग्लो भीर भएकाले सामान्य घाम लाग्दा अथवा पानी पर्दा पनि पहिरो जाने गर्छ। पत्थर संकलनबाटै जीविकोपार्जन गर्ने परिवार पनि गिरीचौकामा छन्। छानो छाउनुपर्दा एउटा घरका लागि बढीमा १ लाख रुपैयाँसम्मको पत्थर आवश्यक पर्ने स्थानीय नरबहादुर ढाँटले बताए। साविकको गाविसमा सचिवको काम गरेका भरतबहादुर नेपालीले पत्थर संकलनबाट एउटा परिवारले एक लाख रुपैयाँसम्म आम्दानी गरेको बताए। तर, अब भने आदर्श गाउँपालिकाले पत्थर संकलन र बिक्रीमा पनि कर लगाउने सोचाइ बनाइरहेको वडाध्यक्ष लालबहादुर कठायतले बताए। उनले खेर गइरहेको प्राकृतिक सम्पदाको सही सदुपयोग गर्न आफूहरू स्थानीयसँग छलफल गरिरहेको बताए।

‘म सानो छँदादेखि नै पहिरो खस्दा पत्थर संलकन गरेर खरिदबिक्री हुन थालेको हो,’ स्थानीय बयोवृद्ध शंकर विकले भने, ‘अहिलेसम्म यहाँबाट करोड रुपैयाँभन्दा माथिको पत्थर बिक्री भइसकेको होला।’ वर्षायाममा बाढी आउँदा नदी किनारमा काठदाउरा संकलन गर्न गाउँले जम्मा भएसरह गिरीचौकामा पत्थर संकलन हुने गरेको विक बताउँछन्।

सिल्लभीरको सिंगो डाँडामा पत्थर खानी छ। अन्य ठाउँका तुलनामा यहाँबाट राम्रो र दिगो पत्थर निस्कने स्थानीय बताउँछन्। ठाडै भिरालो भएकाले पत्थर काटेर/फोरेर निकाल्न मुस्किल छ। पत्थर निकाल्न पहिरो नै पर्खनुपर्ने स्थानीय लोकराज पाठकले बताए। ‘अन्य ठाउँका मानिस गाउँमा पहिरो जाँदा दु:खी हुने गर्छन्, चिन्ता गर्छन् तर हामीले दु:खी हुनुपर्दैन,’ दिपायल बस्दै आएका पाठकले भने, ‘हामीले प्रकृतिबाट राम्रै उपहार पाएका छौं। तर पत्थरको संकलन कार्यलाई व्यवस्थित गर्नु आवश्यक देखिएको छ।’

प्रकाशित : भाद्र ४, २०७५ २०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT