कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

जलविद्युत् आयोजनामा अवरोध

बझाङ — निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको कालंगा जलविद्युत् आयोजनाको निर्माणमा अवरोध गरिएको छ ।

पूर्व सहमतिअनुसार सुविधा नदिएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि ४ दिनदेखि निर्माण कार्य ठप्प छ । कालंगा निजी क्षेत्रबाट निर्माण हुन लागेको देशकै ठूलो जलविद्युत् आयोजना हो ।


हाल बुंगल नगरपालिकामा पर्ने साबिक दहबगर गाविसको गिरौंका स्थानीयले निर्माण कार्यमा अवरोध पुर्‍याएका हुन् । उनीहरूले आयोजनाको सुरुङ निर्माण स्थलको काममा अवरोध गरेपछि बिहीबारदेखि निर्माण कार्य रोकिएको छ । आयोजनाले पूर्वसम्झौताअनुसार सिँचाइको व्यवस्था नगर्दा खेत बाँझै भएकाले तत्काल सिँचाइको व्यवस्था गर्नुपर्ने, प्रभावित जग्गा धनीलाई मागअनुसार मुआब्जा दिनुपर्ने माग राखेर निर्माण कार्यमा अवरोध गरिएको स्थानीयले बताए । यस्तै स्थानीयलाई सेयर सुविधा दिनुपर्ने, वातावरणीय प्रदूषण कम गर्ने उपाय अवलम्बन गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै संघर्षमा उत्रेको गिरौंका कलक धामीले बताए ।


विद्युत् आयोजनाले गिरौमा सुरुङ निर्माण सुरु गरेपछि यहाँका खानेपानी र सिँचाइका मुहान सुकेका थिए । केही महिनाअघि कालंगाले यहाँका १ सय ४० परिवारका लागि खानेपानीको वैकल्पिक व्यवस्था गरे पनि सिँचाइका लागि कुनै पनि पहल नहुँदा करिब २ सय रोपनी खेत बाँझै रहेको संघर्ष समितिका संयोजक गोरख धामीले बताए । उनले भने, ‘सिँचाइ कुलोको मूल सुकेपछि जग्गा बाँझै छ । जग्गा नै काम नलाग्ने भएपछि हामीले भनेको मुआब्जा दिएर किन्नु पऱ्यो, हैन भने सिँचाइको व्यवस्था गरिदिनुपर्‍यो ।’ आफूहरूले प्रतिरोपनी ७ लाख क्षतिपूर्ति माग्दा पनि नदिएपछि बाध्य भएर आयोजनाको काम रोकेको स्थानीय धनबहादुर धामीले बताए । उनले भने, ‘हामीले स्थानीय स्तरमा चलेको मूल्य क्षतिपूर्ति चाहिन्छ भन्दा हाइड्रोले दिन मानेन । केही गर्दा पनि हाम्रो माग सुनुवाइ नभएपछि काम बन्द गराएका हौं ।’


प्रवद्र्धक कम्पनी कालंगा हाइड्रोले सिँचाइ, खानेपानी र सेयर दिने कुरामा आफूहरू सकारात्मक रहेको भए पनि स्थानीयले जग्गाको मुआब्जा प्रतिरोपनी १५ लाख माग गरेपछि कुरो नमिलेको जानकारी दिएको छ । ‘७० लाखभन्दा बढी खर्च गरेर एक वर्षअघि नै खानेपानी बनाई दिइसकेका छौं,’ प्रालिका संस्थापक वीरेन्द्र मल्लले भने, ‘सिँचाइ पनि बनाइदिन्छौं । एक रोपनीको ५० हजार रुपैयाँ बराबरको सेयर पनि दिन्छौं भन्दा मानिरहेका छैनन् । हँुदै नभएको मूल्य माग गरेर काममा अवरोध गरिरहेका छन् ।’


उनले नेपाल सरकारले तोकेको मूल्य अनुसार मुआब्जा दिन आयोजना तयार रहेको भए पनि विभिन्न बहाना बनाएर काम रोकिराखेको बताए । स्थानीयले भने सिँचाइ कुलो निर्माण गर्नका लागि आयोजनाले दिएको म्याद २ पटक गुुज्रेपछि आफूहरू आन्दोलनमा उत्रिएको बताएका छन् । संघर्ष समितिका रामबहादुर धामीले भने, ‘गत वर्षको कात्तिकभित्र बनाउँछौं भने, त्यसपछि पोहोर फागुनमा बनाउँछौं भनेर टारे । केही महिनाअगाडि यही माघ २ गतेभित्र सिँचाइ कुलोमा पानी आउँछ भनेर आश्वासन दिए, तर काम नगरेपछि अवरोध गरेका हौं ।’ उनले आफूहरूलाई सिँचाइको सुविधा भए कुनै पनि मुआब्जा नचाहिने बताए ।


३ ठाउँमा एकै पटक संरचना निर्माण हुदैगरेको कालंगा जलविद्युत् आयोजनाको सबैभन्दा बढी विद्युत् उत्पादन दहबगरको गिरौंबाट हुनेछ । अपर कालंगा नाम दिइएको यस भागको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यहाँबाट ३८ दशमलव ४६ मेघावाट विद्युत् उत्पादन हुनेछ । ८ किलोमिटर लामो सुरुङमार्ग रहेको अपर कालंगाको खिरातडीको बिजगडामा पावर हाउस बन्नेछ ।


यस्तै कालंगागाड तल्लोबाट करिब १५ दशमलव ३३ मेघावाट विद्युत् उत्पादन हुनेछ । ३ दशमलव ८ किलोमिटर सुरुङ मार्ग रहेको यस भागको खिरातडीको पाउटामा इन्टेक निमाीण हुने र सुनकुडाको घोडादाउनमा पावर हाउस निर्माण गरिने छ । यस्तै यसै आयोजनाको अर्काे भागको रूपमा रहेको सानीगाडबाट झन्डै १० दशमलव ७ मेघावाटभन्दा बढी क्षमताको विद्युत् कफलसेरीको जुनैबाट झारेर पीपलकोटको खौलाधारमा पावरहाउस निर्माण गरिने तयारी छ ।


करिब ६५ मेगावाट विद्युत् उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको भए पनि यस आयोजनाबाट १ सय मेगावाटभन्दा बढी नै विद्युत् उत्पादन हुने सम्भावना रहेको प्राविधिकहरूको भनाइ छ ।


निजी लगानीमा बन्न लागेको यो सबैभन्दा बढी क्षमताको देशकै पहिलो ठूलो आयोजना हो । २ वर्षअघि निर्माण थालिएको यस आयोजनाले सन २०२० भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । यो आयोजनाको कुल लागत १३ अर्ब अनुमान गरिएको छ ।

प्रकाशित : माघ ८, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?