कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउँदै कोल

अछाम — ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि परम्परागत प्रविधिका कुटानी–पिसानीका साधनको प्रयोग घटेको छ । अन्न पिस्न र तेलहन पेल्न विद्युतीय मिल भित्रिएपछि पानीघट्ट, ढिकी, ओखल, जाँतो र कोलको प्रयोग घटेको हो ।

हराउँदै कोल

समय र श्रम कम लाग्ने भएपछि आधुनिक मेसिनको प्रयोग बढेको छ । नयाँ पुस्ताले कोल र पानीघट्ट लगायतका परम्परागत साधन देख्नै मुस्किल छ । यिनको संरक्षण पनि हुन सकेको छैन । केही वर्षअघिसम्म गाउँगाउँमा देखिने पानीघट्ट, ढिकी, ओखल र जाँतो विद्युत् विस्तार भएसँगै विस्थापित हुँदै गएको ढकारी ४ का बलराम साउदले बताए ।


‘पहिला गाउँमा बिजुली नहुँदा पानीघट्टमा घुइँचो हुन्थ्यो,’ उनले भने, ‘नयाँ प्रविधिका मिल सञ्चालनमा आएपछि पानीघट्ट जीर्ण र सुनसान बनेका छन् ।’ कोलहरू आधुनिक मिलले विस्थापित भएका छन् । परम्परागत कोलमा तोरी, तिल र चिउरीलगायतका तेलहन बाली पेलिन्थे । कोलमा ठूलो चेप्टो ढुंगाको बीचमा प्वाल पारेर काठको १० फिट लामो बियोलाई पाटको सहायतामा गोलो घेरामा घुमाएर तेल पेल्ने गरिन्छ ।


‘पहिले तेल पेल्ने एउटै साधन कोल थियो,’ ढकारी गाउँपालिकास्थित बलाताकी ७० वर्षीया गोमा बुढाले भनिन्, ‘कोलमा पेलिएको शुद्ध तेल प्रयोग गर्न पाइन्थ्यो । अचेल सबै ठाउँमा मिल स्थापना भएसँगै कोल हराउन थाले ।’


कोलमा पेलिएको तेल सुत्केरी महिला र बच्चाका लागि समेत लाभदायक हुने स्थानीय बताउँछन् । अहिले अपवादका रूपमा मात्र कोलमा तेल पेल्ने गरेको ढकारी २ हिच्माकी गोमादेवी जोशीले बताइन् । कोलमा तेल पेल्न झन्झटिलो र धेरै समय लाग्ने भएकाले त्यसको प्रयोग घटेको उनले बताइन् । ‘अहिलेको पुस्ताले कोलमा भन्दा मिलमा तेल पेल्ने गरेका छन्,’ उनले भनिन् ।


एकताका तेल र घिउमा आत्मर्निभर मानिने अछाममा पछिल्लो समय तेलहन बालीको खेतीमा कमी आएको छ । ‘जिल्लामा प्रशस्त मात्रामा तोरी, तिल, तिरखुलोको खेती गरिन्थ्यो,’ हिच्माकै शिव शाहीले भने, ‘अहिले त मान्छेहरूले तेलहन बाली पनि लगाउन छोडे, कोल त हराइसके ।’ जलवायु परिवर्तनसँगै उब्जनी कम हुन थालेको र बजारमा तेल सजिलै किन्न पाइने भएकाले पनि कोल हराउँदै गएको स्थानीयको भनाइ छ । कोल प्राय: सामुदायिक हुन्थे ।


गाउँभरिको एउटै कोल हुने भएकाले हरेक परिवारले हिउँद याममा पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नुपरेमा समुदायका सबै मिलेर काम गर्थे । जिल्लाभरि सयौंको संख्यामा कोल थिए । अहिले दुर्गम गाउँका एकाध कोल पनि प्रयोगविहीन छन् ।

प्रकाशित : माघ १०, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?