कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्द भए विद्यालय

निरन्तर हिमपात

बझाङ — माघ महिनाको सुरुवातदेखिको निरन्तर हिमपातले बन्द विद्यालय अझै खुल्न सकेका छैनन् । सामान्य अवस्थामा पनि अन्यत्रको तुलनामा कम पढाइ हुने हिमाली क्षेत्रका विद्यालयमा हिमपातले सयौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । उत्तरी भेगका ६० भन्दा बढी विद्यालय करिब एक महिनादेखि खुल्न नसकेका हुन् ।

बन्द भए विद्यालय

‘जमेको हिउँ पग्लन पाएको छैन । लगातार हिमपात भइरहेकाले हिउँ थपिएको थपियै छ,’ साइपाल गाउँपालिकाको धुली आधारभूत विद्यालयका प्रधानाध्यापक नवराज जोशीले भने, ‘घरबाट बाहिर निस्कनै गाह्रो भयो । स्कुल खुल्ने त कुरै भएन ।’


उनले जाडो अत्यधिक बढेका कारण साना बालबालिकाहरूलाई समस्या हुने भएकाले विद्यालय खुल्न नसकेको बताए । हिमपातका कारण जिल्लाको उत्तरवर्ती साइपाल, तल्कोट, सुर्मा र मष्टा गाउँपालिकाका सबैजसो विद्यालय बन्द छन् । बित्थड चिर गाउँपालिका, बुंगल र जयपृथ्वी नगरपालिकाका उत्तरी भेगका विद्यालय पनि हिमपातका कारण बन्द भएको स्थानीयले बताए । जिल्लाका उच्च पहाडी र हिमाली क्षेत्रका गरी सयभन्दा बढी विद्यालय करिब एक महिनादेखि बन्द छन् ।


विद्यालय बन्द हुँदा विशेषगरी यार्चागुम्बा संकलन हुने साबिकका गाविस काँडा, सुर्मा, दौलीचौर, दाँतोला मेलबिसौना, दहबगर र जयपृथ्वी नगरपालिकाको सुइल, मयाना, गजौन र बारिल क्षेत्रका विद्यार्थीको पढाइ बढी प्रभावित भएको छ । वैशाखदेखि असारसम्म यार्चा संकलनका लागि बन्द हुने यहाँका विद्यालय दसैं/तिहार बिदा, जाडो बिदा, स्थानीय बिदा कटाएर वर्षमा ३/४ महिना मात्र खुल्ने गर्छन् ।


‘हिउँ परेर बाटाघाटा पनि बन्द भएका छन्,’ साइपाल गाउँपालिकाको धलौन माध्यमिक विद्यालयका एक विद्यार्थी जस्मल बोहराले भने, ‘बाहिरफेर हिंड्डुल गर्न पनि समस्या भइरहेको छ । हिउँ पर्न सुरु भएदेखि बन्द भएका स्कुल खुलेका छैनन् ।’ लामो समयसम्म विद्यालय बन्द हुँदा शैक्षिक गुणस्तर खस्किँदै गएकाले स्थानीय तहहरूले हिउँदे बिदा नदिने निर्णय गरेका थिए । तर हिमपातका कारण उक्त निर्णय लागू हुन नसकेको विद्यार्थीले बताए । ‘यो वर्षदेखि हिउँदे बिदामा पनि स्कुल खुल्छ भनेका थिए,’ साइपाल गाउँपालिकाकै धलौन माध्यमिक विद्यालयमा अध्ययनरत कविता बोहराले भनिन्, ‘फागुन लाग्न थालिसक्यो । हिउँ परेको पर्‍यै छ ।’

वर्षमा तोकिएको दिनभन्दा निकै कम दिन मात्र विद्यालय खुल्ने भएकाले पढाइ पूरा नहुने र आफूहरू परीक्षामा सधैं कमजोर हुने गरेको उनको भनाइ छ ।


वर्षमा कम्तीमा २ सय २० दिन विद्यालय खुल्नुपर्ने र कम्तीमा २ सय १० दिन कक्षा सञ्चालन भएको हुनुपर्ने व्यवस्था शिक्षा नियमावलीमा गरिएको भए पनि बझाङका उच्च पहाडी तथा हिमाली भेगका विद्यार्थीले ६०/७० दिन मात्र कक्षा लिएको भरमा परीक्षा दिनुपर्ने बाध्यता छ । निरन्तर पढाइ नहुने भएका कारण आफूहरूलाई जिल्लाका अन्य क्षेत्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेको यस क्षेत्रका विद्यार्थीको गुनासो छ ।

प्रकाशित : माघ २५, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?