कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँदे वर्षाले इँटा नोक्सान

मोहन बुढाऐर

धनगढी — हिउँदे वर्षाले यहाँका इँटा व्यवसायीहरूले २० करोड बढीको क्षति व्यहोर्नुपरेको छ । यो हिउँदको वर्षाले व्यवसायीहरूका काँचो इँटा बिग्रिएका हुन् ।

इँटा व्यवसायी संघका अध्यक्ष विनोदकुमार साहले हिउँदे वर्षाले सुदूरपश्चिम प्रदेशमा २० करोडबराबरको काँचो इँटा खराब भएको बताए । कैलालीमा मात्र ४० इँटा उद्योग छन् । उनका अनुसार कैलालीमा मात्रै १० करोडभन्दा बढीको इँटामा क्षति पुगेको छ । हरेक इँटा उद्योगका ३ देखि २० लाख वटा काँचा इँटा बिग्रिएको उनले बताए ।


पश्चिमी वायुका कारण गएको माघ ११, १२, २६, २७ र फागुन २ गते वर्षा भएको थियो । अध्यक्ष साहले काँचो इँटाको बिमा नहुने भएकाले पनि व्यवसायीहरूले नोक्सानी व्यहोर्नुपरेको बताए । ‘सरकारसँग काँचो इँटाको पनि बिमाका लागि पहल गरिदिन आग्रह गर्दै आएका छाैं,’ उनले भने, ‘सरकारले पहल नगर्दा काँचो इँटामा बिमा कम्पनीले बिमा गर्दैन ।’


साहले निर्माणको काम हुने हिउँदे सिजनमा इँटाको उत्पादनसमेत बढी हुने गरेको बताए । अर्का इँटा व्यवसायी गणेश भट्टले वर्षाले काँचो इँटालाई पुग्ने क्षतिले मर्कामा परेको सुनाए । प्रकृतिक प्रकोपबाट व्यवसायमा पर्ने क्षतिबाट बच्न सरकारले बिमाको व्यवस्था गरिदिनुपर्ने उनी बताउँछन् । अध्यक्ष साहका अनुसार काँचो इँटामा व्यवसायीको साढे ३ रुपैयाँ लगानी पर्छ । कम्तीमा एउटा उद्योगले २० देखि २५ लाख इँटा उत्पादन गर्ने गरेको छ । एकपटकको वर्षाले त्यो सबै नोक्सानी पुर्‍याएको उनी बताउँछन् ।


इँटा अभाव

हिउँदे वर्षाले उद्योगमा काँचो इँटामा पुगेको क्षतिले जिल्लामा इँटा अभाव देखिएको छ । व्यवसायी भट्टले हिउँदे उत्पादनका ठूलो परिमाणमा काँचो इँटा बिग्रेकाले अभाव हुन गएको बताए ।


अभावले पूर्वाधार निर्माणको काममा समेत असर परेको छ । उनका अनुसार यो वर्ष कैलालीमा करिब १ करोड इँटाको माग थियो । ‘मागअनुसार उद्योगको भट्टीमा जान तयारी अवस्थाका काँचो इँटालाई हिउँदे वर्षाले पटक–पटक बिगार्ने काम गर्‍यो,’ भट्टले भने, ‘त्यसैले मागअनुसारको इँटाको आपूर्ति गर्न सकिने अवस्था छैन ।’


सुदूरपश्चिम प्रदेशमा चालु आवमा मेडिकल कलेज, ६ लेन सडकको नाली निर्माण, आयुर्वेदिक तथा स्वास्थ्य अस्पताललगायत सरकारी भवनका ठूला योजना सञ्चालित भएका छन् । सञ्चालित योजनाका लागि कैलालीबाट उत्पादित इँटाको माग थियो । इँटाको अभावमा विकास निर्माणमा समेत प्रभाव पर्ने भट्ट बताउँछन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?