कहिले बन्छ एक्सरे ?

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा डेढ महिनादेखि एक्सरे सेवा बन्द भएको छ । यहाँ रहेको एक मात्र मेसिन बिग्रेपछि लामो समयदेखि सेवा बन्द छ ।

कहिले बन्छ एक्सरे ?

डेढ वर्षअघि स्वास्थ्य सेवा विभागबाट आएको ४ सय एमए क्षमताको उच्च क्वालिटीको एक्सरे मेसिन पुस २६ गतेदेखि बिग्रिएको हो ।


वारेन्टी म्यादमै बिग्रिएकाले कम्पनीकै इन्जिनियर ल्याएर मर्मत पनि गरियो । तर, बीचमा एक/दुई दिन मात्रै काम गर्‍यो । फेरि पुरानै अवस्था आएको छ । ‘मर्मत गरेपछि एक दिन राम्रै काम गर्‍यो,’ महाकाली अञ्चल अस्पतालका रेडियोग्राफर दीपेन्द्र झाले भने, ‘दोस्रो दिनदेखि फेरि समस्या आयो र काम नै रोकियो ।’


उनका अनुसार फेरि इन्जिनियर मगाएर मर्मत गरिए पनि मेसिनले काम गरेन । मेसिनभित्र रहेका ५ वटा बोर्डमध्ये ३ वटा फेरिसकिएको छ । कम विद्युत् भोल्टेजका कारण नयाँ एक्सरे मेसिनमा बेलाबेलामा समस्या आउने गरेको थियो ।


उक्त मेसिनका लागि ३ सय ९० देखि ४ सय १० भोल्टेज आवश्यक पर्छ । उक्त भोल्टेज हिउँदमा पनि नपुग्ने र बर्खामा त झनै समस्या हुने गरेको रोडियोग्राफर झाले बताए । ‘भोल्टेज कम बढी भएरै मेसिन बिग्रिने गरेको छ,’ उनले भने, ‘त्यसका लागि अस्पतालले ३ फेजको स्टेप्लाइजर पनि खरिद गरेको छ तर त्यसले काम नगर्दा झन् समस्या भयो ।’


विभागबाट पठाइएको उक्त नयाँ मेसिनबाट रेडिएसनको कम प्रयोग गरी गुणस्तरीय एक्सरे गर्न सकिन्छ । साथै डिजिटल लिंक पनि गर्न सकिन्छ । अन्य मेसिनभन्दा रेडिएसनको प्रभाव पनि कम गर्छ ।


यसअघि अस्पतालमा ४० एमएको पुरानो मेसिन प्रयोग गरिंदै आएको थियो । उक्त मेसिन पनि अहिले काम नलाग्ने भएको छ । एक्सरे मेसिनका लागि फेरि कम्पनीको इन्जिनियरलाई बोलाएको रेडियोग्राफर झाले बताए ।


महाकाली अञ्चल अस्पतालमा ठूला साना गरी दैनिक ५० जना बढीको एक्सरे हुँदै आएको थियो । मेसिन बिग्रेपछि यहाँ आउने बिरामीहरूलाई अन्यत्र फर्काउनुपरेको छ । बिरामीहरूले निजी क्लिनिक तथा सीमावर्ती बजार गएर सामान्य एक्सरेका लागि समेत महँगो खर्च बेहोर्नुपरेको छ ।


‘एक्सरेका लागि वैकिल्पक मेसिन नहुँदा यस्तो समस्या भएको हो,’ रेडियोग्राफर झाले भने, ‘एउटा ठूलो र अर्काे सानो मेसिन भएमा एउटा बिग्रिंदा अर्काेबाट सेवा दिन सकिन्थ्यो ।’ उनका अनुसार एक्सरे शाखामा रहेका ४ जना कर्मचारी मेसिन बिग्रेपछि डेढ महिनादेखि बेकामे भएका छन् ।

एक्सरे मात्रै होइन अस्पतालका बेडहरूसमेत कामै नलाग्ने भएका छन् । अन्य उपकरण पनि पुराना छन् । दुई वर्षअघि आईसीयु सेवाका लागि जडान गरेका उपकरण पनि सेवा सुरु नभएरै जीर्ण भएका छन् ।


विशेषज्ञ डाक्टर र दक्ष जनशक्तिको अभावका कराण आईसीयु सेवा सुरु हुन सकेको छैन । गत आर्थिक वर्षमा महाकाली अञ्चल अस्पतालमा नयाँ बेड फेर्न र उपकरण खरिदका लागि २ करोड २५ लाख बजेट आएको थियो ।


तत्कालीन अस्पताल विकास समिति र अस्पताल प्रशासनबीच टेन्डर दिने विषयमा विवाद हुँदा उक्त बजेट फ्रिज गएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?