कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इँटाको छैन बिमा

भवानी भट्ट

कञ्चनपुर — यस पटक हिँउदमा लगातार वर्षा हुँदा इँटा उद्योगमा ठूलो क्षति भयो । वर्षाले एउटै उद्योगमा लाखौं काँचो इँटा नष्ट गरे पनि बिमाको व्यवस्था नहुँदा व्यवसायी मर्कामा छन् । 

काँचो इँटाको बिमा गर्न सकिने व्यवस्था नभए पनि इँटाकै हकमा बिमा सम्बन्धी एउटा अनौठो व्यवस्था भने छ । इँटा उद्योगमा आगलागी बिमा । झट्ट सुन्दा अचम्म लाग्छ । इँटा पकाउन आगो लगाउनुपर्छ त्यसैको आगलागी बिमा । त्यति मात्रै होइन, इँटाको हकमा चोरी बिमा पनि छ ।


‘नोक्सान हुने ठाउँमा बिमा हुँदैन, तर जहाँ नोक्सान हुँदैन त्यहाँ बिमा गर्नैपर्ने हुन्छ,’ नेपाल इँटा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकर चन्दले भने, ‘जहाँ आगो लगाउनुपर्छ त्यहीँ आगलागी बिमा । तर बर्सेनि हिउँदमा वर्षाले काँचो इँटा नष्ट हुँदा ठूलो क्षति भइरहेको छ, त्यसको बिमाको व्यवस्था छैन ।’ महासंघले लामो समयदेखि काँचो इँटाको बिमा हुनुपर्ने माग गर्दै आए पनि त्यो पूरा नभएको उनले बताए ।


सरकारले बिमा समितिमार्फत काँचो इँटाको बिमा गर्ने व्यवस्था लागू गर्न अब ढिलाइ गर्न नहुने उनको भनाइ छ । देशभरि प्रायजसो इँटा उद्योगमा आगो नलगाई इँटा पकाउन सकिँदैन । सबैले बाहिर काँचो इँटा तयार गरी भट्टीमा हाल्छन् । त्यही आगो लगाउनुपर्ने उद्योगमा आगलागी बिमा गर्नुपर्छ । व्यवसायीहरूले त इँटा उद्योगमा आगलागी र चोरी बिमाको व्यवस्था अनौठो भएको बताएका छन् । ‘यो भन्दा काँचो इँटाको बिमासँगै अन्य सेवा–सुविधाको व्यवस्था गरिनुपर्छ,’ चन्दले भने ।


कञ्चनपुरमा ४० इँटा उद्योग छन् । पछिल्लो एक महिनाको अवधिमा पटकपटक भएको वर्षाले १० करोड बढीको काँचो इँटा नष्ट भएको व्यवसायीहरू बताउँछन् । ‘काँचो इँटाको बिमा गर्न पाएको भए त्यो नोक्सानीबाट जोगिन सकिन्थ्यो,’ महाकाली इँटा तथा टायल उद्योग संघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुढाले भने, ‘इँटा उद्योगमा साँच्चै भन्दा चाहिनेभन्दा पनि नचाहिने ठाउँमा बिमाको व्यवस्था गरिएको छ ।’


पटकपटकको वर्षाले एउटै उद्योगमा १०/१५ लाख काँचो इँटा नष्ट भएको छ । प्रतिइँटाको लागत मूल्य दुई/अढाई रुपैयाँ पर्छ । यसरी हेर्दा एउटै उद्योगले ४०/५० लाखसम्म क्षति व्यहोरेका छन् । ठूला उद्योगले यो भन्दा बढी क्षति व्यहोरेका छन् । प्रत्यक्ष रूपमा अहिले यसको भार व्यवसायीमाथि परे पनि अप्रत्यक्ष रूपमा यो भार उपभोक्ताकै टाउकोमा थपिन्छ ।


इँटा उद्योगलाई अहिले पनि राज्यले उद्योगका रूपमा नहेरेको व्यवसायीको गुनासो छ । सरकारबाट प्राप्त हुने सेवासुविधा तथा आवश्यक नीतिनियम नबन्दा व्यवसायीहरू मारमा परेको बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थामा ऋण माग्न जाँदा हामी प्राथमिकतामा पर्दैनौं,’ अध्यक्ष बुढाले भने, ‘देशभरिमा सबैभन्दा बढी रोजगारी सृजना गर्ने उद्योगलाई सरकारले हेर्ने दृष्टिकोण

नै फरक छ ।’


अहिले कञ्चनपुरमा सञ्चालनमा रहेका उद्योगमध्ये सबैभन्दा बढी रोजगारी सृजना गर्ने पनि यही क्षेत्र हो । अध्यक्ष बुढाका अनुसार करिब ६ हजार श्रमिकले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा अझ बढी यो सँग जोडिएका छन् । तर अहिले बर्सेनि काँचो इँटामा हुने नोक्सानी तथा सरकारी सेवा–सुविधा नपाउँदा उद्योगहरू धराशायी हुन लागेको उनले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?