कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अव्यवस्थित पार्किङ

कान्तिपुर संवाददाता

दार्चुला — बसपार्क नहुँदा दार्चुला सदरमुकाम खलंगा आउने–जाने सार्वजनिक यातायातका साधनहरू खलंगास्थित वीरेन्द्र वन क्षेत्रमा राखिएका छन् । सदरमुकाम खलंगाको कबर्डहलसँगै रहेको बसपार्क ०७० को बाढीले बगाएपछि अर्को बसपार्क निर्माण नहुँदा बसजिप पार्किङ गर्न असहज भएको हो । 

सदरमुकाम खलंगा आसपास सार्वजनिक स्थानको अभाव छ । खुला ठाउँ नहुँदा सार्वजनिक सवारी साधनहरू कहिल्यै सेनाको ब्यारेक क्षेत्रमा, कहिल्यै सार्वजनिक बाटो र जंगलमा पार्किङ गर्नुपर्ने बाध्यतामा यातायात व्यवसायीहरू छन् ।


यसअघि बाटोमा रोकिने सवारी साधनहरू सेनाको जमिनमा दार्चुला महोत्सव सञचालन भएपछि जंगलमा राख्नुपरेको सवारी धनी लवराज अवस्थीले बताए । सार्वजनिक बसपार्क नहुँदा सेनाको फाइरिङ रेन्जमा सवारी साधन रोक्नुपरेको उनले बताए । सुरुदेखि आफूहरूले यही क्षेत्रमा बसहरू रोक्ने गरेको र अहिले टाढा राख्न नसकिने हुँदा यही आसपास बसपार्क निर्माणका लागि सम्बन्धित निकायमा बारम्बार ध्यानाकर्षण गर्दासमेत निर्माणमा चासो देखाउन सकेको छैन ।


सदरमुकाममा नयाँ बसपार्क निर्माणका लागि पनि सार्वजनिक जमिनको अभाव रहेको छ । महाकाली नगरपालिकाले गत वर्षदेखि बसपार्क निर्माणका लागि जमिन खोजी गरे पनि पाउन सकेको छैन । ‘बजार क्षेत्र नजिक रहेको सेनाको जग्गा बसपार्क निर्माणका लागि पहल गरेको एक वर्ष हँुदासमेत प्राप्त गर्न सकिएको छैन,’ महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं सूचना अधिकारी यज्ञराज लेखकले भने, ‘अन्य निकायसँग समन्वय गर्दा पनि उपयुक्त ठाउँमा जमिन उपलब्ध हुने अवस्था देखिंदैन ।’ सदरमुकाम नजिककै बसपार्क निर्माणका लागि सार्वजनिक जमिन पाउन सक्ने अवस्था नरहेको हुनाले नेपाली सेनासित नै पहल भइरहेको नगरपालिकाले जनाएको छ ।


द्वन्द्वकालदेखि नै वीरेन्द्र वन क्षेत्रमा रहेको खाली जमिनमा नेपाली सेनाले फाइरिङ रेन्ज बनाएर कहिलेकाहीं तालिम गर्दै आएको थियो । उक्त जमिनको नजिककै घरहरू निर्माण र तीनतिर सडक बनेपछि सेनालाई फाइरिङका लागि अप्ठयारो भएपछि तालिम गर्न छोडेको छ । डेढ वर्षअघिसम्म त सेनाले फाइरिङ नै गर्न रोकेपछि नगरपालिकाले पहल थालेको नगरपालिकाले जनाएको छ ।


जिल्ला सुरक्षा समितिको बैठकले उक्त क्षेत्रमा मानिसको आवतजावत बढेकाले कुनै बेला अप्रिय घटना हुन सक्ने भन्दै सेनालाई आग्रह गरेपछि अहिले फाइरिङ रेन्ज हटाएको छ । बसपार्क प्रवेश क्षेत्रमा सेनाको इलाका भनेर साइनबोर्ड लगाएको छ । बाहिरबाट आउने यात्रुहरूले बसपार्क क्षेत्रमै सेनाको इलाका भएकाले अप्ठयारो मान्ने गरेका छन् । ‘सदरमुकाममा नगरपालिका घोषणा भएपछि व्यवस्थित बसपार्क निर्माण गर्न जग्गा उपलब्ध गराउनुपर्ने हो,’ समितिका सर्पराज बडूले भने ।

प्रकाशित : फाल्गुन ८, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?