कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोकले थलिँदै एचआईभी सक्रमित

रोग, भोक र शोकसँग जुध्न नसकेर कैलालीका एचआईभी संक्रमित चुपचाप मृत्यु पर्खन बाध्य छन् । एक वर्षमा २३ जनाको मृत्यु भइसकेको छ ।
कान्तिपुर संवाददाता

धनगढी — कैलालीको गोदावरी नगरपालिका ११ मा केही महिनाअघि तीन जना एचआईभी संक्रमितको मृत्यु भयो । तीनै जना एकै परिवारका थिए । पत्नी र ११ वर्षीय छोराको मृत्युपछि बाबु जंगबहादुर विक (नाम परिर्वतन) केही दिन रोग, भोक र शोकले थला परे । उनको मृत्यु समाजमा बेखबरझंै बन्यो । नजिकका आफन्तले सामाजिक अवहेलनाको डरले चुपचाप दाहसंस्कार गरे ।

पति मुम्बईमा काम गर्थे । घर फर्केका श्रीमान्बाट जन्मेको छोरा र आफूलाई एचआईभी संक्रमण भएपछि डिप्रेसनमा परेकी पत्नीले आत्महत्या गरेकी थिइन् । श्रीमतीको शोकमा परेका जंगबहादुरले विक्षिप्त भएर आफू र छोरालाई सम्हाल्न सकेनन् । गत वर्षको मंसिरमा उनकी पत्नीको मृत्यु भएको थियो । आमाको मृत्युपछि संक्रमित ११ वर्षे बालक राम्रो स्याहार र पौष्टिक तत्त्वको कमीले थला परे । फागुनमा छोरो र त्यसको २ महिनापछि रोग, भोक र शोकले टेकबहादुरको पनि मृत्यु भयो ।


कैलाली गोदावरी नगरपालिको १०, ११ र १२ नम्बर वडामा पर्ने ओलानी गाउँको यो एक प्रतिनिधि घटना मात्रै हो । यो गाउँका आर्थिक अवस्था निकै कमजोर भएका दलित तथा विपन्न समुदायका अधिकांश परिवार एचआईभी संक्रमित छन् । सरदर महिनामा एक जना संक्रमितको मृत्यु भइरहेको छ ।


गोदावरी प्लसकी उपाध्यक्ष पार्वती विकका अनुसार ओलानी गाउँमा १ सय ६० संक्रमित छन् । जसमध्ये अभिभावक गुमाएका संक्रमित बालबालिकाको संख्या मात्रै २२ छन । सेती अञ्चल अस्पतालको एआरटी सेन्टरका प्रमुख लोकराज पनेरुले गोदावरी नगरपालिकामा सन् २०१८ मा ९ जना संक्रमितहरूको मृत्यु भएको बताए । जिल्लाभरमा २३ जना संक्रमितको मृत्यु भएको छ । पनेरूले २ जना संक्रमितले आत्महत्या गरेको बताए ।


पार्वतीले संक्रमित बिरामीको उपचार र पोषणयुक्त खानाको कमीले उनीहरू एड्ससँग जुध्न नसकेको बताइन । गरिवी नै प्रमुख बाधक भएको बताइन् । ‘गरिबीको कारण मजदुरीका लागि भारत जाने परम्पराजस्तै छ । त्यहाँ असुरक्षित यौनसम्पर्कका कारण एचआईभी सर्‍यो । घरमा आएपछि उनीहरूले पत्नीमा सारे । दुवै जना संक्रमित भएपछि बिरामी परेकाले घरमा पनि उत्पादन गर्न असक्षम हुँदै गए । रोग र भोकसँग जुध्न नसकेर थला पर्दै मृत्युलाई चुपचाप स्विकार्न

बाध्य भए,’ उनले भनिन् । पार्वतीका अनुसार संक्रमितहरूलाई पौष्टिक तत्त्व पाईने खाना खानु अनिवार्य छ तर संक्रमितहरूको पारिवारिक आर्थिक अवस्था निकै कमजोर छ । साँझ–बिहानको छाक कसरी टारूँ भन्ने अवस्थामा छन् । कैलाली जिल्लामा हालसम्म एआरटी सेन्टर सेतीमा दर्ता भएका कुल १ हजार ८ सय १८ जनामध्ये २ सय ४ जनाको मृत्यु भइसकेको छ ।

हाल सेती अस्पतालबाट ७ सय ८० जनाले मात्रै एआरटी औषधि नियमित सेवन गरिरहेको पनेरूले बताए । उनका अनुसार ६७ जना १४ वर्षमुनिका बालबालिका छन् । २ गर्भवतीसहित ३ सय ८७ महिला ३ सय १३ पुरुष रहेका छन् । त्यस्तै कैलालीकै टीकापुर अस्पतालमा ७ सय ६३ जना संक्रमितहरूमध्ये ४ सय ७१ ले मात्रै एआरटी लिइरहेको जिल्ला जनस्वास्थ्यका महेश चन्दले बताए । त्यहाँ ४४ जना बालबालिका संक्रमित छन् ।


प्रकाशित : फाल्गुन ८, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?