कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन महिनादेखि प्रसूति सेवा बन्द

मनोज बडू

दार्चुला — वर्षौंदेखि दार्चुला जिल्ला अस्पतालले विशेषज्ञ डाक्टरको अभावका कारण प्रभावकारी उपचार सेवा दिन सकिरहेको छैन । विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल पछिल्लो समय उपचार गर्ने अस्पताल नभई बिरामीलाई अन्यत्र रिफर गर्ने सेन्टर जस्तै बन्दै गएको छ । 

तीन महिनादेखि प्रसूति सेवा बन्द

जिल्ला अस्पतालले ३६ घण्टा बेड भर्ना गरेको बिरामी महाकाली नगरपालिका ९ बेतकी रेपति भट्टलाई शुक्रबार भारततिर रिफर गर्‍यो । रेपतिले अस्पतालबाट रिफर भएको अढाई घण्टामै भारतको धारचुला स्वास्थ्य केन्द्रमा बच्चा जन्माइन् ।


जिल्ला अस्पताल दार्चुलाका स्वास्थ्यकर्मीले भने बच्चाको टाउको सुन्निएको, बच्चाले दिसा खाएको हुनाले जटिल केस भनी अपरेसन गरेर मात्र बच्चा जन्मिने सुझाव दिएपछि रिफर गरेको उनका आफन्त खेमराज भट्टले बताए । अस्पतालले प्रायः प्रसूति केस भारतको पिथौरागढको महिला अस्पताल रिफर गर्दै आएको छ । अस्पतालका डाक्टरले रिफर गरेको उक्त केसलाई धारचुला स्वास्थ्य केन्द्रकी नर्सले अवस्था सामान्य रहेको र पिथौरागढ लैजानुपर्दैन भनेपछि धारचुला पुगेको अढाई घण्टामै बच्चा जन्मिएको खेमराजले बताए ।


अस्पतालमा चार वर्ष अगाडिदेखि सुरु भएको एनएसआई सेवा मंसिरदेखि बन्द भएको छ । विशेषज्ञ डाक्टरले जिल्ला छोडेपछि अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको अस्पतालले जनाएको छ । जिल्लामा अपरेसन गर्ने डाक्टर नहुँदा साउनयता जिल्ला अस्पतालले करिब अढाई सय बिरामीलाई बाहिर रिफर गरेको तथ्यांक छ । यी अस्पतालमा भर्ना भएका बिरामीको संख्या हो । यो बाहेक यहाँ उपचार राम्रो हुँदैन भनेर सिधै जिल्ला बाहिरका अस्पतालमा जाने गरेका बिरामीहरूको संख्या योभन्दा बढी हुन सक्ने स्थानीय बताउँछन् ।


एकजना विशेषज्ञ डाक्टरसहित ४ जना मेडिकल अधिकृत रहेको जिल्ला अस्पतालबाट रिफर हुनेमा अधिकांश गर्भवती महिला, टाउकोमा चोट लागेका, लडेकालगायत रहेको अस्पतालका सिनियर हे.अ. डम्बरदत्त भट्टले जानकारी दिए । डाक्टरहरूले रिस्क मोल्न नचाहने र अस्पतालमा पनि अपरेसनमा प्रयोग गरिने उपकरण अभावले बिरामीहरूलाई बाहिर रिफर गर्नुपरेको अस्पतालका स्वास्थ्यकर्मीहरू बताउँछन् ।


‘महिनौंदेखि प्रसूति सेवा पूर्णरूपले सञ्चालन हुन सकेको छैन,’ जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘दक्ष डाक्टर नहुँदा सबैभन्दा बढी प्रसूति सेवामा असर परेको छ ।’ गर्भवती महिलालाई लिएर प्रसूतिका लागि जिल्ला अस्पताल आउँदा भित्र नपस्दै स्वास्थ्यकर्मी बाहिर लैजान सुझाउँछन् । अस्पतालमा व्यवस्थित प्रसूतिगृह भए पनि डाक्टर नहुँदा गर्भवती महिलालाई प्रसूतिका लागि धनगढी, कोहलपुर र भारतको पिथौरागढ लैजानुपरेको सर्वसाधारणले गुनासो गरेका छन् ।


साउन महिनायता जिल्ला अस्पतालले २५ जनाजति गर्भवती महिलालाई जिल्ला बाहिर रिफर गरेको अस्पतालकी सिनियर स्टार्फ नर्स कल्पना जोशीले बताइन् । जटिल प्रकृतिका केसलाई मात्र रिफर गरिने उनले बताइन् ।


निक साइमन संस्थाले जिल्ला अस्पतालको प्रसूति सेवालाई सहज बनाउन एकजना विशेषज्ञ डाक्टर, मेडिकल अधिकृत र दुईजना स्टाफ नर्सको व्यवस्था गरे पनि अस्पताल प्रशासनले व्यवस्थापन गर्न नसक्दा उक्त सेवा प्रभावकारी हुन नसकेको हो । विशेषज्ञ डाक्टर आफ्नो उपचारका लागि मंसिरदेखि जिल्ला बाहिर गएपछि प्रसूतिगृह बन्द रहेको अस्पतालका कर्मचारी रमेश ओखेडाले बताए । केही दिनअघि मात्र सीएस तालिम प्राप्त डाक्टर पुगेपछि बन्द रहेको प्रसूति सेवा सुचारु हुन सक्ने ओखेडाले बताए ।


अस्पतालमा भिडियो एक्सरेलगायत अन्य उपकरण भए पनि व्यवस्थित रूपमा सञ्चालनमा छैनन् । ‘सामान्य ज्वरो आउँदासमेत यहाँका मानिसहरूले भारतीय क्लिनिकमा महँगो मूल्य तिरेर उपचार गराउनुपरेको छ,’ दुहु गाउँपालिका ४ फाराका उज्ज्वल कुँवरले भने, ‘सरकारी अस्पतालमा डाक्टर छैनन्, निजीमा जाँदा खर्च बढी हुन्छ ।’


प्रदेश सरकारको मातहत आएको जिल्ला अस्पतालमा दरबन्दी र पूर्वाधार अभाव रहेको छ । अस्पताल पनि अध्ययन सकेर सिकाइ अभ्यास गर्न आउने चिकित्सकको भरमा चलेको अस्पतालकै कर्मचारीहरू बताउँछन्  । ‘अस्पतालले विगतदेखि पूर्वाधार र जनशक्ति माग गर्दै सम्बन्धित निकायमा पटक–पटक पत्राचार गरे पनि कहिल्यै सुनुवाइ हुँदैन,’ प्रशासन फाँटका कर्मचारी ओखेडाले भने, ‘करारमा रहेका डाक्टर करार अवधि सकेपछि फर्किने बढी जसो यहाँ आउने गरेका छन् ।’ डाक्टरहरू थोरै समयका लागि मात्र जिल्लामा आउने हुँदा अस्पतालले प्रभावकारी सेवा दिन नसकेको स्थानीयको गुनासो छ ।

प्रकाशित : फाल्गुन १२, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?