कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारले उखेल्यो दिपायलका सौर्यबत्ती

मोहन शाही

डोटी — सम्झौता अनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले उखेल्न सुरु गरेको छ ।

ठेकेदारले उखेल्यो दिपायलका सौर्यबत्ती

शनिबारबाट सरकारी अनुदानमा जडान भएका सौर्यबत्ती ठेकेदार मनिङ्ग सनले उखेल्न सुरु गरेको छ । पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती झिक्न लागेको ठेकेदार वेदप्रकाश कठायतले बताए । नगरपालिकाले ७ बत्तीको ७ लाख रुपैया पटक-पटक माग गर्दा पनि नदिएपछि झिक्न बाध्य भएको कठायतले बताएका छन् ।


ठेकेदारले बत्ती भिक्न लागेपछि भने स्थानीयले दुखः व्यक्त गरेका छन् । सौर्यबत्तीले बजार उज्यालो भइरहेको भन्दै बत्ती उखेल्नु भन्दा अन्य विकल्प खोजिनु पर्ने व्यापारी राजेन्द्र शाहीले बताए । 'यो कस्तो विकास हो, भएका सौर्यबत्ती झिक्नु त लाजमर्दो कुरा हो,' शाहीले भने, 'केही समस्या भए नगरपालिका र उद्योग बाणिज्य संघले अन्य विकल्प खोज्नुपर्थ्याे ।'


डोटी उद्योग बाणिज्य संघसँग ०७३ फागुन १७ मा नगरपालिकाले सम्झौता गरि सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । उद्योग वाणिज्य संघले उक्त काम ०७३ फागुन ६ गते मनिङ्ग सन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो ।


कम्पनीले काम गरेवाफत दुई पटकको किस्ता गरि २३ लाख रुपैया भुक्तानी पाइसकेपछि अन्य रकम पाएको छैन । बाँकी रकम उद्योग बाणिज्य संघलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए । खड्काले राजनैतिक प्रतिशोध साधेर नगरप्रमुख मञ्जु मलासीले काम भएको देख्दा देख्दै पनि भुक्तानी नगरेको आरोप लगाएका छन् ।


तत्कालीन कार्यालय प्रमुख तुलसीप्रसाद आचार्यले सम्झौता गरेको र त्यतिबेला रकम भुक्तानी नभएको र उनी सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न नसकिने नगरप्रमुख मलासीले बताइन् । उनले समयमै काम सम्पन्न नगरी बिल भरपाई नदिएकाले भुक्तानी गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित : फाल्गुन २५, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?