कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घटना सार्वजनिक नहुँदै ‘हत्यारा’ पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — जिल्ला प्रहरी कार्यालयको हटलाइनमा मंगलबार मध्यरात फोनको घण्टी बज्यो । कुनै अपरिचितले एकजना व्यक्ति सदरमुकामका केही घर र पसलहरूमा तोडफोड गर्दै हिँडिरहेको जानकारी गरायो । त्यही सूचनालाई पछ्याउँदै गएको प्रहरीले सदरमुकाम नजिकैको बाहुलीगाड पुलमा एकजना शंकास्पद व्यक्तिलाई भेट्यो ।

घटना सार्वजनिक नहुँदै ‘हत्यारा’ पक्राउ

प्रहरी देखेपछि पुलको छेउबाट हामफालेर भाग्न खोजे पनि ती व्यक्तिलाई राती १२ बजेतिर प्रहरीले पक्राउ गर्‍यो । सुर्मा गाउँपालिका १ दौलीचौरका २५ वर्षीय दर्पन बोहरा पक्राउ परेका थिए । बोहरा मदिराले मात्तिएका थिए । उनले राति कतै घटना गर्न सक्छन् भन्ने आशंकामा प्रहरीले हिरासतमै राखेको थियो । बुधबार बिहानै सदरमुकामकै चौगाउँ टोलमा एक जना युवकको शव भेटियो । बीच सडकमा रक्ताम्मे अवस्थामा भेटिएको उक्त शव सुर्मा १ दौलीचौरकै ३५ वर्षका धर्क बोहराको थियो ।


सदरमुकामको बीच बजारमा भएको हत्याको घटनाले एकाएक सदरमुकाममा सन्त्रास फैलियो । जिल्लाको शान्ति–सुरक्षाप्रति प्रश्न उठाउँदै पीडितका आफन्त र सदरमुकामवासी जिल्ला प्रशासन कार्यालयको गेटमा नाराबाजी गर्न थाले । हत्याको घटनाले चैनपुर अशान्त र त्रसित बन्यो । प्रहरीलाई तत्काल अनुसन्धान गरेर हत्यारा सार्वजनिक गर्नुपर्ने चुनौती थियो ।


घटनास्थलको सर्जमिन मुचुल्का हुँदै गर्दा डीएसपी प्रवीण धिताल हत्यापछि हुन सक्ने सम्भावित विरोध, सदरमुकामको सुरक्षा र सम्भावित अपराधीका बारेमा छलफल गर्दै थिए । एकाएक शंकाको सुई राति पक्राउ परेका दर्पन बोहरातिर पुग्यो । ‘मदिरा सेवन गरी हल्ला गरेको घटनामा एक दिनभन्दा बढी थुन्न नमिल्ने भएकाले हामी उनलाई छोड्ने तयारीमा थियौं । कतै उसैले गरेको हो कि भन्ने शंका लागेर सोधपुछ गर्‍यौं,’ डीएसपी धितालले भने, ‘नभन्दै उसको लुगामा रगतका टाटा देखिए । हत्याको कुरा गर्नेबित्तिकै ऊ आत्तियो । केही बेरमै आफैंले हत्या गरेको स्विकार्‍यो ।’


यसरी घटना सार्वजनिक हुनुपूर्व नै अपराधी हिरासतमा पुगेको देखेर आफू पनि अचम्ममा परेको डीएसपी धितालले बताए । उनले भने, ‘मेरो करिअरमा यस्तो संयोग पहिलो पटक हो । पाप धुरीबाट कराउँछ भने जस्तो भयो ।’ घटना सार्वजनिक भएको २ घण्टाभित्रै अभियुक्त पक्राउ परेको खबर आएपछि जिल्ला प्रशासन कार्यालयमा भइरहेको तनावसमेत साम्य भएको थियो ।


हत्या स्वीकार गरेका दर्पनले यार्साको रकम लेनदेनका विषयमा विवाद भएपछि ढुंगाले हानेर हत्या गरेको स्वीकार गरेका छन् । मृतक र आफूले मंगलबार साँझदेखि सँगै मदिरा सेवन गरेको उनको भनाइ छ । रक्सी सेवन गर्ने क्रममा रकम लेनदेनको कुरा उठेको प्रहरीले जनाएको छ ।


आफूले यार्साको रकम माग्न थालेपछि धर्क त्यहाँबाट भागेको र उसलाई लखेट्दै गएर ढुंगाले हानेपछि ढलेको दर्पनले बताएका छन् । ‘दुवै जनाले अत्यधिक मात्रामा मदिरा सेवन गरेका रहेछन् । मृतक मातेर भाग्नै नसक्ने अवस्था भएका कारण पनि ढुंगाले हानेर हत्या गर्न सजिलो भएको देखिएको छ,’ डीएसपी धितालले भने । हत्या स्वीकार गरेका दर्पनमाथि थप अनुसन्धान भइरहेको र छिटै आवश्यक प्रमाणसहित अदालत पेस गरिने उनले बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?