कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोर जथाभावी

धनगढी बजार क्षेत्रबाट संकलित फोहोर खोल्सामा फालिन्छ भने भीमदत्त नगरपालिकाले आफ्नै परिसरमा थुपार्छ

धनगढी/कञ्चनपुर — सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा फोहोर व्यवस्थापनको समस्या उपमहानगरलाई ‘ठूलो टाउको दुखाइ’ भएको छ । फोहोर डम्पिङ गर्ने निश्चित स्थाननै छैन । प्रत्येक दिन बेग्लाबेग्लै ठाउँमा फाल्नुपर्ने बाध्यता छ । उपमहानगरले अझै निश्चित ठाउँ यकिन गर्न सकेको छैन । 

फोहोर जथाभावी

ठाउँ अभावले बजार क्षेत्रमा संकलित फोहोर उठाउन नसक्ने अवस्था रहेको उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंकबहादुर बिष्टले बताए । धनगढीबाट मात्रै दैनिक ३० मेट्रिक टनभन्दा बढी फोहोर उठ्छ । ‘यसअघिको फोहोर फाल्ने ठाउँ भरिँदै जाँदा स्थान बदल्दै आएका छौं,’ उनले भने, ‘अहिले बजार क्षेत्रभित्रको फोहोर त्रिनगर माविको खोल्सामा भर्ने गरेका छौं ।’


बजारभित्रै फोहोर फाल्दा दुर्गन्ध फैलिएको नगरवासीको गुनासो छ । ‘ठाउँ नै नपाएर त्रिनगरको खोल्सामा फाल्नुपर्ने बाध्यता आएको हो । त्यहाँ पनि फोहोर भरिँदै गएकाले त्यसपछि कहाँ फाल्ने भन्ने चिन्ता छ,’ बिष्टले भने । नियमित रूपमा बजारको फोहोर संकलन नभएको नगरवासीको गुनासो छ ।


बजारका विभिन्न स्थानमा थुप्रिएको फोहोरको चाङले दुर्गन्ध मात्रै होइन, विभिन्न सरुवा रोगहरू फैलन सक्ने जोखिम रहेको धनगढी ४ का मिनबहादुर मल्लले बताए । उपमहानगरमा सहरी क्षेत्र विस्तार हुँदै गए पनि फोहोर व्यवस्थापनको विकल्प भने तयार गरिएको छैन ।


नगरप्रमुख नृपबहादुर वडले ल्यान्डफिल साइट निर्माणको काम अघि बढ्न नसक्दा फोहोर व्यवस्थापनमा चुनौती देखिएको बताए । एसियाली विकास बैंकको सहयोगमा करिव ७० करोडको लागतमा निर्माण गरिने भनिएको ल्यान्डफिलसाइट निर्माण प्रक्रिया अलपत्र परेको छ ।


नगरप्रमुख वडले वडा नम्बर १ का केही स्थानीयले विरोध गरेका कारण साइट निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले वडा नम्बर २ मा पर्ने मोहना किनारको जग्गा ल्यान्डफिलसाइटका लागि छनौट भई जग्गाधनीले मुआब्जा पाउने बेलामा वडा नम्बर १ का केहिले विरोध गरेपछि काम अघि बढ्न नसकेको जनाए ।


योजना कार्यान्वयन एकाइ क्षेत्रीय सहरी विकास आयोजनाका प्रमुख सुरेश बाग्लेले स्थानीयको अवरोधलाई मत्थर पार्न सके मात्रै निर्माणको प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार साइट निर्माणस्थलको मुआब्जाको बजेटसमेत निकासा भइसकेको बताए । ल्यान्डफिल साइट नजिकको वडा नम्बर १ का बासिन्दाको माग भने ठाउँ अन्यत्र हुनुपर्ने छ ।


नजिकैको अर्को सहर अत्तरियामा पनि तत्काललाई फोहोर व्यवस्थापनको चुनौती रहेको नगरपालिकाका कार्यकारी प्रमुख मोहन मरासिनीले बताए । बजारको मुख्य चोक, बसपार्कलगायत फोहोर बढी संकलन हुने ठाउँमा कन्टेनर राखिएका छन् । कन्टेनर भरिएपछि खाली गरेर फोहोर प्रस्तावित ल्यान्डफिलसाइट क्षेत्रमा फाल्ने गरिएको छ ।


उनका अनुसार गोदावरी नगरपालिकामा पनि एडिबीले ल्यान्डफिलसाइट निर्माणको काम अघि बढाएको छ । बजारबाट पश्चिम चौकीडाँडाको सामुदायिक वनभित्र ल्यान्डफिलसाइट निर्माणको लागि अध्ययन भई काम सुरु भएको उनले जानकारी दिए ।


केही समयपछि फोहोर व्यवस्थापनको समस्या समाधान हुने बताए । तत्काललाई अस्पताल वरिपरिको फोहोर फाल्न जिआईजेड र बजारको फोहोर संकलन गर्न मातृभूमि नामक गैरसरकारी सस्थाले सहयोग गरिरहेको उनको भनाइ छ ।


परिसरमै फोहोरको थुप्रो

कञ्चनपुरको भीमदत्त नगरपालिकाको अवस्था पनि उस्तै छ । बजार क्षेत्रबाट संकलित फोहोर हरेक दिन कार्यालय परिसरमै थुप्रार्ने गरिएको छ । बिहान कार्यालय खुलेपछि सेवाग्राहीसंँगै फोहोर बोकेका गाडी पनि नगरपालिकाभित्र पस्छन् । फोहोर खाली गरेर फेरि संकलनमा फर्किन्छन् । फोहोर व्यवस्थापनको काम ५ वर्षदेखि यसरी नै चलिरहेको छ ।


डम्पिङ साइटको अभावमा नगरपालिकाले फोहोर आफ्नै परिसरमा थुपार्ने गरेको हो । नगरपालिकाले फोहोर थुपार्ने गरेको ठाउँ नजिकै महाकाली अञ्चल अस्पताल र आँखा अस्पताल पनि छन् । गर्मीयाम आउँदै गर्दा महेन्द्रनगरको बीच बजारमा रहेको कार्यालय परिसरमै थुपारिने फोहोरले महामारी तथा विभिन्न किसिमका संक्रमणहरूको जोखिम समेत निम्त्याउने खतरा रहेको स्थानीयले बताए ।


‘डम्पिङ साइट नहुँदा ५ वर्षदेखि नगरपालिकाको कार्यालयमै फोहोर थुपार्ने काम भइरहेको छ,’ भीमदत्त नगरपालिकाको सरसफाइ शाखाका प्रमुख पुष्पराज भट्टले भने, ‘वर्षेनी फोहोरको मात्रा बढ्दै छ तर व्यवस्थापनमा खासै प्रगति हुन सकेको छैन ।’ उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रमा अहिले दैनिक ५ टनभन्दा बढी फोहोर संकलन भइरहेको छ ।


गर्मीयाममा फोहोरको दुर्गन्धले नगरपालिकामा मात्रै होइन टाढाटाढा सम्म दुर्गन्ध आउने गर्छ । मानव स्वास्थ्यमा यसले ठूलो असर पुर्‍याउने भएकाले तत्काल डम्पिङ साइटको व्यवस्था हुनुपर्ने स्थानीय जनक धामीले बताए । उनले जनसंख्या बृद्धि र बसाइँसराइको चापका कारण फोहोर व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै जाने भएकाले तत्काल यसको समाधान गरिनुपर्ने बताए ।


‘कार्यालयभित्रै फोहोर थुपार्दा जोखिम त छ तर हामीले यसलाई समयसमयमा व्यवस्थापन गर्दै लगेका छौं,’ भट्टले भने, ‘विभिन्न क्षेत्रमा खाल्डा भर्न माग भएमा त्यहांँ छोडने गरेका छौं, अहिले खाल्डा भर्न ठूलो माग छ ।’ जैविक फोहोर व्यवस्थापनका लागि नगरपालिका परिसरमै बायो ग्याँस प्लान्ट समेत निर्माण भइरहेको छ ।


१५ लाखको लागतमा निर्माण भइरहेको प्लान्टमा दैनिक डेढ क्विन्टल फोहोर खपत हुनेछ । उक्त प्लान्टबाट दैनिक ७ किलोग्राम ग्यास उत्पादन गर्न सकिन्छ । नगरपालिकाले उपयोगिता हेरेर अन्य क्षेत्रमा पनि बायो ग्यास प्लान्ट निर्माणको योजना बनाएको छ ।

कार्यक्रमनै प्रभावित

भीमदत्त नगरपालिकामा गत वर्षदेखि एसियाली विकास बैंकको क्षेत्रीय सहरी विकास आयोजना पनि लागू भएको छ । उक्त आयोजनाको पहिलो शर्त एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र नै भएकाले यो कार्यक्रम समेत प्रभावित हुने देखिएको छ । ३ अर्वको उक्त आयोजनामा फोहोरमैला व्यवस्थापनमा १ अर्व बजेट छ्ट्युाएको छ ।


‘ठाउँ अभावकै कारण फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुन सकिरहेको छैन, सबै ठाउँमा विरोध मात्रै भइरहेको छ,’ नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले भने, ‘फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसके आयोजना नै प्रभावित हुनेछ ।’ उनले नगरपालिकाका ५/६ ठाउँमा सम्भाव्यता अध्ययन गरि स्थानीयसंँग छलफल भइरहेको बताए ।


वडा नं. ८ तिलाचौर र ९ मटेनामा फोहोरमैला व्यवस्थापन केन्द्रका लागि स्थानीयसंँग पटकपटक छलफल भइसकेको छ । स्थानीयकै विरोधका कारण हालसम्म काम अघि बढ्न सकेको छैन । स्थानीयलाई निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्र र त्यसको प्रविधिबारे जानकारी दिन नसक्दा पनि समस्या भइरहेको ऐरले बताए ।

प्रकाशित : चैत्र ११, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?