कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपन्नलाई स्वास्थ्य शिविर

डीआर पन्त

डडेलधुरा — ‘हामी जस्ता वृद्ध र अपांगका लागि स्वास्थ्य शिविर वरदान साबित हुने गरेका छन्,’ आँखा र बाहु रोगको उपचार गर्न शिविरमा पुगेका भागेश्वर ३ का ७६ वर्षीय लाल लुहारले भने, ‘सुविधा भएका अस्पतालमा गएर उपचार गराउने हाम्रो आर्थिक अवस्था छैन ।’ गाउँमै सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा उपचार गराउन पाउँदा उनी दंग थिए ।

लुहारसँगै नसाको समस्या भएकी ७४ वर्षीया लालमती लुहारले गाउँको स्वास्थ्यचौकी र समय समयमा सञ्चालन हुने यस्ता स्वास्थ्य शिविरबाहेक अरू कुनै अस्पताल देखेकी छैनन् । ‘गत वर्ष पनि गाउँपालिकाले आयोजना गरेको यस्तै स्वास्थ्य शिविरमा उपचार गराएकी हुँ’, लालमतीले भनिन्, ‘गोडा दुख्ने रोग निको भयो । यसपटक आँखाको उपचार गराउन आएकी हुँ ।’


भागेश्वर गाउँपालिकाले आयोजना गरेको शिविरमा उपचार गराउन आएका यी २ वृद्धवृद्धा मात्र होइन, ३ दिने शिविरमा उपचार गराउन आएका ९ सय बढी सर्वसाधारणमध्ये अधिकांशको पीडा एउटै छ । गाउँमा भएका स्वास्थ्य संस्था नाम मात्रका भएकाले गरिबीको रेखामुनि रहेका अधिकांश नागरिकका लागि बेलाबेला सञ्चालन हुने यस्ता शिविर नै उपचार गराउने सहज माध्यम बनेका छन् ।


आर्थिक अभावका कारण उपचार गर्न नसकेका, भौगोलिक विकटताले स्वास्थ्य संस्थामा पहुँच हुन नसकेका र नाम मात्रका स्वास्थ्य संस्था भएका दुर्गम क्षेत्रका सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य उपचारको माध्यम बनेका छन् । ग्रामीण क्षेक्रका वृद्धवृद्धा, अशत्त र महिलाका लागि त झन् शिविरहरू वरदान नै साबित हुने गरेका छन् ।


‘गाउँगाउँमा सिंहदरबार पुर्‍याउने बाचा गरेका नेताहरूले भएका स्वास्थ्य संस्थासमेत सुधार गर्न सकेनन्,’ कालिका माविका प्रधानाध्यापक भुवनराज भट्टले भने, ‘स्वास्थ्य संस्था स्थानीय तहलाई जिम्मा दिएपछि भएका संरचनासमेत भताभुंग भएका कारण सर्वसाधारणका लागि यस्ता स्वास्थ्य शिविर नै अस्पताल भएका हुन् ।’


विगतमा जनस्वास्थ्य कार्यालय मातहत काम गरिरहेका स्वास्थ्य संस्था स्थानीय तहको जिम्मामा आएपछि कुनै सुधार हुन सकेनन् । बरु भएको व्यवस्थाबाट समेत सर्वसाधारणले वञ्चित हुनुपर्ने भएको उनले गुनासो गरे । ‘संविधानले मौलिक हक मानेको स्वास्थ्य उपचारका लागि सर्वसाधारणले ठूलो मूल्य चुकाउन बाध्य हुनुपरेको शिविरमा आएको भीडले पुष्टि गर्छ’, प्रधानाध्यापक भट्ट भन्छन्, ‘गाउँपालिकाहरूले उचित स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निर्माण गर्ने, भएको स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने र दक्ष स्वास्थ्यकर्मीका लागि पहल गर्ने काम गर्न नसकेपछि सर्वसाधारण शिविरकै भरमा उपचार गराउन बाध्य भएका हुन् ।’


भागेश्वर गाउँपालिकाले विभिन्न वडामा आयोजना गरेको स्वास्थ्य शिविरमा सहभागी सर्वसाधारणको ठूलो संख्याले भएका स्वास्थ्य संस्था नाम मात्र छन् भन्ने पुष्टि गरेको छ । ग्रामीण क्षेत्रमा भएका स्वास्थ्य संस्थामा सामान्य उपचार पनि हुन सक्दैन् भागेश्वर ३ बैतडी सिमानाका धर्म टमटाले भने, ‘यस्ता शिविरमा सबैखाले डाक्टर आउने र औषधि पनि निःशुल्क पाइने हुँदा सर्वसाधारणको भीड लाग्ने गरेको हो ।’ गाउँमा भएका वृद्धवृद्धा, अपांग र महिलामा रहेको दीर्घरोगको उपचार गर्न यस्ता शिविरमा उपस्थिति बढी हुने गरेको उनले बताए ।


‘तराईका सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन नसक्नेहरूका लागि घरआँगनमै चिकित्सकबाट उपचार गराउन पाउनु राम्रो काम हो,’ भागेश्वर गाउँपालिका प्रमुख कौशिला भट्टले भनिन्, ‘रोगको पहिचान, प्राथमिक उपचार, आँखा, कान, नाक, घाँटी जस्ता संवेदनशील अंगको चेकजाँच र उपचारका लागि यस्ता शिविर धेरै लाभदायक हुने गरेका छन् ।’


विशेषगरी महिला र बालबालिकासम्बन्धी रोगको पहिचान तथा उपचारका लागि स्वास्थ्य शिविर बढी लाभदायक भएको प्रमुख भट्टले बताइन् । ‘शिविरबाट पत्ता लागेका दीर्घरोगी, आर्थिक अभाव झेलिरहेका, उपचारको समस्या भएकालाई गाउँपालिकाले नै उपचार गराइदिने कामसमेत गरिरहेको प्रमुख भट्टले बताइन् ।


भागेश्वर गाउँपालिका मात्र होइन, पछिल्लो पटक जिल्लाका हरेक स्थानीय तहले समय समयमा यस्ता स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन् । कैलाली कञ्चनपुरसहित राजधानी काठमाडौंबाटसमेत चिकित्सक मगाएर समयसमयमा गरिने यस्ता शिविरका नाममा विभिन्न गाउँपालिकामा आर्थिक अनियमितता भएको आरोपसमेत जनप्रतिनिधिले खेप्नुपरिरहेको छ ।

प्रकाशित : चैत्र १७, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?